के माउथवासले मार्न सक्छ कोरोना भाइरस ? यसो भन्छ अध्ययन



काठमाडौं । समस्याले नै मानिसलाई नयाँ नयाँ खोजका लागि वाध्य पारिदिन्छ । पछिल्लो १ वर्षदेखि संसारभर नै कोरोनाका कहर चलीरहेको छ । यो कहर कति समयसम्म जान्छ भन्ने बारेमा अहल्यिै कोही कसैले बताउन सक्ने अवस्था छैन ।

पछिल्ला दिनका कोरोनाका कारण जनजीवन तवाह भएपछि मानिसहरुले नयाँ नयाँ खोज गरिरहेका छन् । सोही खोजअनुसार नै मुख कुल्ला गर्ने माउथवासले पनि कोरोना भाइसलाई मार्न सहयोग पुगेको तथ्य सार्वजनिक भएको छ ।

बिबिसीका अनुसार कम्तीमा पनि ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड भएका माउथवासहरूले एउटा प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गर्ने खालका संकेत मिलेको थियो ।

अनुसन्धानमा संलग्न वैत्रानिकहरुका अनुसार मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्न सक्ने देखिएको छ । प्रयोगशालामा गरिएको एउटा अध्ययनले त्यस्तो देखाएको बिबिसीले आफनो विवरणमा समावेश गरेको छ ।

बिबिसीका अनुसार कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने आशाजनक संकेत देखा परेको छ ।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड १९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको जनाइएको छ । परिक्षणमा सहभागी भएका डा निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा माउथवासलाई एउटा महत्त्वपूर्ण हिस्सा हुन सक्ने बताउँछन्।

अध्ययनले मानिसको नाक तथम मुखमा रहेको र्‍यालमा अडिएका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि संकेत भने पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।

डा क्लेडनका अनुसार यदि यी सकारात्मक परिणामहरू देखिएका हुन् भने हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्यका साथसाथै माउथवासहरू पनि अहिले र भविष्यमा मानिसको दैनिकीका थप महत्त्वपूर्ण हिस्सा बन्न सक्नेछन्।

विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन्। उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै रहेको छ।

यसले हालैको अर्को अध्ययनलाई थप बल पुर्‍याउँछ। त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पुर्‍याउने देखाएको थियो। दाँतमा किरा लाग्ने रोगसँग लड्न बनाइएका माउथवासहरूले कोरोनाभाइरसलाई पनि निष्क्रिय गर्न सक्ने देखाएको बिबिसीले जनाएको छ ।

कार्डिफको अस्पतालमा हुने एउटा परीक्षणमा माउथवासले कोरोनाभाइरस सङ्क्रमितको र्‍यालमा भाइरसको सङ्ख्या घटाउँछ कि घटाउँदैन भन्ने हेरिनेछ। त्यसको नतिजा आगामी वर्षको सुरुमा आउने अपेक्षा गरिएको छ।

उक्त विश्वविद्यालयका प्राध्यापक डेभिड थोमस प्रारम्भिक नतिजा उत्साहजनक देखिएको तर यसले बिरामीबीच भाइरस सर्नलाई कसरी रोक्छ भन्ने प्रमाण नदिने बताउँछन्।

उनले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको तर बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण शूरुवाती चरणको हुने  बताउँछन्। बिबिसी


पुष्प दुलाल