२७ मध्ये १८ वटा बैंकको नाफा घट्यो, मर्जरको फाइदा उठाउँदै ग्लोवल आईएमई नाफामा फस्ट



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ वटा बैंकको नाफा मात्रै बढेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर बैंकहरुको नाफामा परेको हो । कोरोनाका कारण बैंकहरुको व्यवसाय विस्तारमा असर पर्नुका साथै कर्जा नउठ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ ।

कोरोनाका कारण बैंकहरुले अहिले लगानी गर्न पनि पाएका छैनन् भने लगानी भएको ठाँउबाट ब्याज आउने क्रम पनि केही मात्रामा रोकिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिना अर्थात् साउन, भदौ र असोजमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४.२८ प्रतिशतले कमी हो ।

गत आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा १५ अर्ब २५ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा नेपाल बंगलादेश, एनआईसी एसिया, मेगा एनएमबी, प्रभु, ग्लोबल आईएमई, कुमारी, प्राइम र सिटिजन्स बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ ।

यो अवधिमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकमा ४ वटा बैंक मात्रै छन् । जसमा एनआईसी एसिया, नबिल, ग्लोवल आईएमई, प्राइम कमर्शियल बैंक छन् ।

नाफा बढी कमाउने बैंकमा ग्लोवल आईएमई बैंक छन् । बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमइले मर्जरको फाइदा उठाउँदै पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार मर्जरमा नजाने वाणिज्य बैंकले स्प्रेड दर ४.५ प्रतिशतभन्दा कम कायम गर्नुपर्ने छ भने मर्जरमा जाने वाणिज्य बैंकका लागि ०७८ असार मसान्तमा मात्रै स्प्रेड दर ४.५ प्रतिशतभन्दा कम कायम गर्नुपर्ने छ ।

०७७ असोज मसान्तमा ग्लोबल आइएमइको स्प्रेड दर ५.०३ प्रतिशत छ । स्प्रेड दर बढी कायम गर्न पाएकाले बैंकले बढी ब्याज आम्दानी गरेको छ । जसकारण नाफामा नम्बर वान भएको हो ।

‘मर्जरमा जाने संस्थाका लागि राष्ट्र बैंकले स्प्रेड दरमा सहुलियत दिएका कारण चालु आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंक पहिलो बन्न सफल भएको छ,’ बैंकका डेपुटी सीइओ महेश ढकालले क्लिकमाण्डूसँग भने ।

बैंकको प्रोभिजनिङ बढे पनि ब्याज आम्दानी निकै धेरै भएकाले त्यसको ठूलो असर नाफामा देखिएन । ०७७ को साउन, भदौ र असोज महिनामा बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यो अवधिमा सबैभन्दा थोरै नाफा कमाउने बैंकमा सिभिल बैंक रहेको छ । बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको पहिलो त्रैमासको भन्दा ३९.१७ प्रतिशतले कमी हो ।

तीन महिनामा हिमालयन बैंकको ४७.२९, सेन्चुरी बैंकको ४०.६०, नेपाल एसबीआई बैंकको ५४.१४, एभरेष्ट बैंकको ५१.५४, सानिमा बैंकको ३७.१२, बैंक अफ काठमाण्डूको ३७.०९ प्रतिशतले नाफा घटेको छ ।


पुष्प दुलाल