कोरोना कहरमै थपिए डिजिटल बैंकिङका १७ लाख प्रयोगकर्ता, जोखिम पनि बढ्यो



काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ कारोबार बढेको छ । विश्वव्यापी महामारीकारुमा फैलिएको कोरोना भाइरसको असर देखिन थालेपछि डिजिटल कारोबार झनै बढेको तथ्यांकले देखाउँछ ।

नेपालमा गत माघमा पहिलो संक्रमति भेटिए पनि भाइरस खासै फैलिएको थिएन । कोरोनाको संक्रमण फैलिने त्रासले सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्यो ।

लकडाउनपछि डिजिटल बैंकिङ प्रयोगकर्ता ह्वात्तै बढे । किनभने लकडाउन र निषेधाज्ञामा आम सर्वसाधारणलाई घर बाहिर ननिस्कन सरकारले उर्दी जारी गरेको थियो ।

‘चैतयता बैंकिङ क्षेत्रमा डिजिजल बैंकिङ प्रयोगकर्ता उल्लेख्य मात्रामा बढेको छ,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले क्लिकमाण्डूसँग भने ‘यो अवधिमा बैंक, वित्त कम्पनी र भुक्तानी प्रदायक संघ संस्थाहरुलले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गरे ।’

फलस्वरुप फिजिकलभन्दा डिजिटल कारोबार बढी भइरहेको उनले जानकारी दिए । फिजिकल बैंकिङ कारोबारमा कोरोना संक्रमणको जोखिम बढी हुने हुँदा राष्ट्र बैंकले बैंक, वित्त कम्पनी र भुक्तानी प्रदायक संघ संस्थाहरुलाई डिजिटल कारोबारका शुल्क लगायतमा सहुलियत र सहजिकरण गर्न निर्देशन दिएको थियो ।

वाणिज्य बैंकहरुको छाता संगठनले पनि कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइ डिजिटल कारोबार गर्न आह्वान नै गरेको थियो ।

नेपालमा कोरोनाको संक्रमण शुरु भएपछि बैंकका पुराना ग्राहकले पनि डिजिटल कारोबार गर्न थालेका छन् । कतिपय नयाँ ग्राहक त डिजिटल बैंकिङ कारोबार गर्नकै लागि भए पनि नयाँ खाता खोलेको बैंकरहरुको भनाइ छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल कोरोनाको संक्रमण बढेपछि अर्थात् चैतदेखि साउन मसान्तसम्म डिजिटल बैंकिङ प्रयोगकर्ता १६ लाख ८९ हजार ७ सय २९ जना थपिएका छन् ।

फागुन मसान्तसम्म १ करोड ८२ लाख १ हजार ५६९ जना मोबाइल, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ता रहेकामा साउन मसान्त सम्ममा ९.२८ प्रतिशतले बढेर १ करोड ९८ लाख ९१ हजार २९८ पुगेका हुन् ।

यो अवधिमा बैंक तथा वित्त कम्पनीहरुले ४ सय ४४ वटा एटीएम बुथहरु पनि विस्तार गरेका छन् । फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको गरी जम्मा ३ हजार ६ सय ६२ वटा एटीएम बुथहरु रहेकामा साउन मसान्तसम्म यसको संख्या ४ हजार १ सय ६ पुगेको छ ।

कोरोना कहरमा डिजिटल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकको तथ्यांकअनुसार लकडाउनभन्दा अगाडि अर्थात फागुन मसान्तसम्म वाणिज्य बैंकका मोबाइल बैंकिङका प्रयोगकर्ता ८६ लाख ७९ हजार १ सय ३० जना, विकास बैंकका १० लाख ४९ हजार ३ सय ६५ जना र वित्त कम्पनी ७७ हजार ७ सय ४२ जना गरी जम्मा ९८ लाख ६ हजार २ सय ३७ जना रहेका थिए ।

जुन साउन मसान्तसम्म १५ लाख ५ सय ६० जनाले बढेर १ करोड १३ लाख ६ हजार ७ सय ९७ जना पुगेका छन् ।

यसैगरी, इन्टरनेट बैंकिङका प्रयोगकर्ता फागुन मसान्तसम्म ९ लाख ६९ हजार ५५ जना थिए । साउन मसान्तसम्म ६२ हजार १ सय ७२ जनाले बढेर १० लाख ३१ हजार २ सय २७ जना पुगेका छन् ।

नेपालमा हालसम्म बैंक तथा वित्त कम्पनीहरुले डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्ने अनुमति राष्ट्र बैंकले दिएको छ । जसमा क्रेडिट कार्ड र प्रिपेड कार्ड भने वाणिज्य बैंकहरुले मात्र जारी गर्न पाउँछन् ।

फागुन मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुको डेविट कार्ड प्रयोगकर्ता ७२ लाख १५ हजार ६ सय ४६ जना थिए । जुन साउन मसान्तसम्म १ लाख १३ हजार ५ सय ५६जनाले बढेर ७३ लाख २९ हजार २ सय २ जना डेविट कार्ड प्रयोगकर्ता पुगेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकका क्रेडिट कार्ड प्रयोृगकर्ता फागुन मसान्तसम्म १ लाख ४६ हजार ८ सय ५६ थिए । साउन मसान्तसम्म १३ हजार ४४१ जनाले बढेर १ लाख ६० हजार २९७ जना पुगेका छन् ।

कोरोना कालमा डिजिटल बैंकिङ कारोबार

विश्वभर कोरोनाको संक्रमण बढेसँगै आम जनमानसमा नगदको कारोबारबाट कोरोना भाइसरको सर्छ भन्ने भय बढेको छ । राष्ट्र बैंकले समेत नगदबाट हुने कारोबारलाई न्यून गर्दै डिजिटल कारोबारलाई बढाउन प्रोत्साहन गरेको छ ।

कोरोनाकालमा विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय कारोबार भने उल्लेख्य बढेको छ । गत चैत ११ गतेबाट साउन ६ गतेसम्मको सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेको थियो ।

त्यसबीच राष्ट्र बैंकले विद्युतिय कारोबारलाई प्रोत्साहन गर्दै यसमार्फत् हुने कारोबारलाई निःशुल्क बनाएको थियो ।  चैत महिनामा विद्युतीय उपकरणमार्फत ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनका कारण र कोरोनाको संक्रमण जोखिममा विद्युतिय कारोबारमा मानिसहरुको आर्कषण बढ्दा बैशाख, जेठ, असार र साउन ४ महिना नै ४ सय ५ खर्ब ७६ अर्ब ५५ करोड ८० रुपैयाँ बराबरको विद्युतिय कारोबार भएकोे राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

जुन बैसाखदेखि साउन मसान्तसम्म एटीएम, मोबाइल/इन्टरनेट र शाखा रहित बैंकिङ, डेविट/क्रेडिट र प्रिपेड कार्ड, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्टआइपीएस, इ-कमर्स, पीओएस, क्यूआरकोड, वालेटबाट कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

सो अवधिमा बैंक तथा वित्त कम्पनीहरुले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई आकर्षण गर्न सेवा शुल्कमा छुट लगायत अन्य प्रोत्साहन दिएका हुँदा कारोबार बढेको देखिन्छ ।

तर लक डाउन समाप्त भएसँगै बैंकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको शुल्क भने बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रदायक संस्थाहरुले लिन थालेका छन् ।

फिजिकल कारोबारबाट कोभिडको जोखिम बढी हुने भएता पनि राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबारको शुल्क निःशुल्क गरेता पनि मोबाइल तथा इन्टरनेट बैंकिङको शुल्क भने हालसम्म महंगो गुनासो सरोकारवालाहरुको छ ।
एटिएमबाट पैसा निकाल्दा कोरोनाको संक्रमण बढ्ने हुँदा ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबारलाई समेत निशुल्क गराउने पर्ने माग गर्दै आएका छन् ।

बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रदायक संस्थाहरुले समेत सुझाव राष्ट्र बैंकमा दिएको हुँदा मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबार शुल्कका विषयमा छलफल भइरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले बताए ।

‘मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबार शुल्क महंगो परेको भनेर धेरै क्षेत्रबाट गुनासो तथा सुझावहरु प्राप्त भएका छन्, त्यसमा के गर्न सकिन्छ अध्ययन गरी केही समयमा निश्कर्ष आउँछ,’ उनले भने ।

डिजिटल कारोबारमा जोखिम

नगद कारोबार गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने र डिजिटल कारोबार सुरक्षित हुने भएपछि आम जनता डिजिटल कारोबारतर्फ आकर्षित हुर्दै गएको देखिन्छ ।

ग्रामिण भेगका मानिसले पनि डिजिटल अर्थात नगदरहित कारोबारतर्फ जागरुकता बढेको पाइन्छ । तर डिजिटल बैंकिङ प्रयोगकर्ता र यसको कारोबार बढेसँगै यससँग सम्बन्धित जोखिम पनि बढेको कँडेलले बताए ।

‘राष्ट्र बैंकले विद्युतिय कारोबारको जोखिम र त्यसको सुरक्षणका धेरै कामका साथै भबिश्यमा आइपर्ने जोखिम न्यूनिकरणका लागि पनि प्रयत्नहरु गरिएका छन्,’ उनले भने, ‘तर जति नै गरेपनि विद्युतिय कारोबारमा जोखिम भने रहिनै रहन्छ ।’

राष्ट्र बैंकको तर्फबाट भने जोखिम नियन्त्रण र न्यूनिकरणको लागि प्रयाप्त प्रयासहरु भएका हुँदा अहिलेसम्म विद्युतिय कारोबार सुरक्षित रहेको उनको भनाइ छ ।

‘यस्ता कारोबार सम्बन्धी कुनै नयाँ कुरा आउनेवित्तिकै हामीले त्यसमा अध्ययन तथा अनुसन्धान गरी समस्याको सावधानतर्फ लाग्ने गरेका छौँ,’ उनले थपे, ‘पछिल्लो समय भाइबर, वाट्स एप, इमेललगायत विभिन्न सामाजिक सञ्जालमार्फत् चिठ्ठाजस्ता लोभलालच देखाएर बैंकको व्यक्तिगत विवरणहरु माग्ने काम भइरहेको छ ।’

प्रविधिको दुरुपयोग गरी बैंकिङ अपराध गरिने हुँदा त्यस प्रकारको लोभलालचमा परी आफ्नो व्यक्तिगत विवरण नदिन उनले आग्रह गरे ।

‘बैंकहरुले समेत आफ्ना ग्राहकलाई व्यक्तिगत विवरण कसैलाई नदिन सुचना नै जारी गर्ने गरिरहेका छन्,’ उनले भने ‘यदी ग्राहकलाई यस प्रकारको व्यक्तिगत विवरण माग भएर त्यसमा दुविधा भएमा सम्बन्धीत संस्था, राष्ट्र बैंक वा बढी संकास्पद भएमा प्रहरीलाई खबर गर्नु होला ।’

यस्ता प्रकारका गतिविध अपराधिक काम भएको हुनाले बैंक तथा वित्त संस्था र राष्ट्रमा आएका गुनासोको अध्ययन गरी प्रसाशनिक कारवाहीको लागि सम्बन्धीत निकायमा सिफारिस गरी पठाइने उनले जानकारी दिए ।

डिजिटल प्रविधिको विकास र प्रयोग बढेसँगै चुनौती पनि थपिएको हुँदा राष्ट्र बैंकले सुरक्षण प्रणाली दरिलो बनाउँदै राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।

नेपालमा पछिल्ला केही बर्षयता बैंकिङ क्षेत्रमा डिजिटलमाध्यमबाटै ह्याकिङका घटनाहरु घटिरहेका छन् । स्वीफ्ट ह्याक, एटीएम ह्याकलगायत बैंकका ग्राहकले डिजिटल बैंकिङमा प्रयोग गर्ने व्यक्तिगत विवरणहरु ह्याक गरी डिजिटल कारोबारमा ह्याकरहरूले सजिलै आक्रमण गर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) सञ्जिव शुब्बाले बताए ।

‘नेप्सको सिस्टम ह्याक गरी भएका घटनाले पनि बैंकिङ प्रविधिको प्रयोग सुरक्षणलाई थप दरिलो बनाउन थप सजक बनाएको छ,’ सुब्बाले क्लिकमाण्डूसँग भने, ‘नेप्सले पनि पहिलो प्राथमिकतामा जोखिम न्युनिकरण र सुरक्षणलाई नै राखेर काम गरिरहेको छ ।’

अहिले सबै बैंकहरु डिजिटल बैंकिङ प्रयोगमा गइसकेको हुँदा उनीहरुले प्रविधिको प्रयोगमा त्यसको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा र वितरणको काम गर्नुपर्ने उनले बताए ।

‘कोरोना संक्रमण पूर्वभन्दा अहिले डिजिटल बैंकिङ प्रयोगकर्ता बढेका छन् तर यसको प्रयोग र सुरक्षणको विषयमा भने जनचेतना फैलाउन भने अझै बाँकी नै छ,’ सीइओ सुब्बाले भने, ‘चेतनाको अभावमा अज्ञात व्यक्तिले बैंकिङ सम्बन्धी व्यक्तिगत विवरण ग्राहकलाई विभिन्न लोभलालच देखाएर आज पनि मागिरहेका हुन्छन् ।’

ग्राहकबाटै बैंकको विवरण लिएर प्रविधिको दुरुपयोग गरी अपराधिक कार्य हुने उनले बताए ।

‘यस्ता विकृति सम्बन्धी बैंकर्स संघ, भुक्तानी प्रदायक संस्था, बैंक तथा वित्त कम्पनी र केन्द्रीय बैंक सबै मिलेर जनचेतना मुलक कार्यक्रमहरु गरी ग्राकहलाई जागरुक बनाउनु पर्छ,’ उनले थपे, ‘प्रविधि प्रयोगमा हामीले जति नै सुरक्षाका उपया अपनाएपनि ह्याकरहरुले त्यसको कमजोरी पत्ता लगाउँछन् ।’

ह्याकरहरुको गु्रपको काम नै २४औं घण्टा सिस्टमको ‘लुप होल’ पत्ता लगाउने काम भएको हुँदा जति नै सुरक्षाका उपाय अपनाए पनि कतिपय अवस्थामा ह्याकरले सिस्टम ह्याक गर्न सफल हुने उनले बताए ।

बैंक वित्त कम्पनी तथा भुक्तानी प्रदायक संस्थाहरु सिस्टमको सुरक्षादेखि बाहेक अन्य विविद् काम पनि गर्नु पर्ने हुँदा ह्याकरस्तरको भन्दा माथिको सुरक्षणमा लगानी गर्ने क्षमता नै प्रश्न रहेको उनको भनाइ छ ।

‘हामीले प्रविधिमा लगानी गर्ने क्षमता र इच्छा शक्ति बढाउनु पर्छ र प्रविधि बुझने मान्छे निर्णयक तहमा पुग्नु पर्छ,’ सीइओ सुब्बाले थपे, ‘प्रयोग भएका प्रविधिको सेक्युरिटी फिचर्स के छ ? कारोबार बढ्दा हुनसक्ने जोखिम न्यूनिकरणको लागि के गर्ने ? जस्ता विषयमा अहिले नै विचार गरी काम गर्नु पर्छ ।’

बैंक वित्त कम्पनी तथा भुक्तानी प्रदायक संस्थाहरु आफले प्रयोगमा ल्याएको प्रविधिकोे क्षमता र सुरक्षणमा विषेश ध्यान दिएर सिस्टम अपग्रेड गराइरहनु पर्ने उनको सुझाव छ ।


पुष्प दुलाल