नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र



काठमाडौं । सरकारले गैरकानूनी रुपमा पिरामिड शैलीमा गरिने कारोबारमा संलग्नलाई कारवाही गर्ने प्रक्रिया थालेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ ।

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो ।

विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र ५० भन्दा व्यक्तिलाई पक्राउ गर्न विभागले गत मंगलबार नाम र सम्पर्क नम्बरसहित सिआइबीमा पत्र पठाएको छ ।

केही नेपाली एवं विदेशी कम्पनी तथा व्यक्तिले गैरकानूनी रुपमा नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीसमेतलाई आबद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो/उजूरी विभागमा प्राप्त भएपछि विज्ञसहितको समूहले थप अध्ययन गरेको थियो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभागमा आएका गुनासाका आधारमा केही व्यक्ति तथा कम्पनीलाई अनुसन्धान, जाँचबुझ तथा छानबिनसमेत भइरहेको छ ।

संलग्न व्यक्ति तथा कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर विभागमा उपस्थित गराउन विभागले सिआइबीसँग सहयोगको माग गरेको हो ।

विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्र पठाउँदै २५ कम्पनीका सञ्चालकको नामावली पठाउन पत्र पठाएको छ ।

सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबाट आउने गरेको विभागअन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाइले जानकारी दिए ।

‘हामीलाई आएको गुनासोअनुसार हामीले प्रारम्भिक अध्ययन एवं अनुसन्धान गरेका थियौँ, अनुसन्धानबाट व्यवसाय सञ्चालन भएको पाएपछि व्यक्तिको नामावलीसहित सिआइबीमा पक्राउ गर्न अनुरोध गरिएको हो’, उनले भने ।

वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ को दफा ३ मा इजाजतपत्र प्राप्त नगरी वस्तुको बिक्री वा वितरणसम्बन्धी कार्य गर्न नहुने तथा दफा ११ दफामा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाउने प्रावधान छ ।


पुष्प दुलाल