पाउरोटी उद्योग संकटमा, भाडा तिर्न नसक्दा बन्द हुँदै



काठमाडौं । सरकार बिहीबारदेखि लागू हुने गरी राजधानीमा निषेधाज्ञा खुकुलो बनाएको छ । तर व्यवसाय भने सामान्यरुपमा सञ्चालन हुने अवस्था अझै छैन ।

५ महिना लामो लकडाउन र निषेधाज्ञामा अन्य क्षेत्रमा जस्तै पाउरोटी उत्पादन गर्ने उद्योगमा पनि उत्तिकै असर परेको छ । हरेक दिन बिहान र दिउँसो खाजाको परिकार पाउरोटी बनाउने उद्योगहरु यतिबेला बाँचिराख्न संघर्षरत छ ।

कतिपय उद्योगीहरु भाडा समेत तिर्न नसकेर बन्द गरेका छन् भने कतिपय पाउरोटी उद्योगले थोरै मात्र उत्पादन र बिक्री गरी जेनतेन व्यापारको जीवन धानिरहेका छन् ।

लामो समयदेखि पाउरोटी उत्पादन गर्दै आएको चन्द्रमा पाउरोटी उद्योगले लकडाउनको समयमा कर्मचारी अभावका कारण कुनै पनि सामान उत्पादन नगरेको सञ्चालक निशानी तामाङले बताइन् ।

उनका अनुसार लकडाउनको समयमा सबै कर्मचारी आफ्नो घर गएकाले हालसम्म पूर्णरूपमा बन्द अवस्थामा रहेको जानकारी दिइन् ।

लकडाउनको अवधिमा उद्योग बन्द भएसँगै घरभाडा तिर्न मुश्किल भएको उनले बताइन् ।

‘एकातिर उद्योग बन्द भयो । अर्कोतिर घरबेटीले कुनै पनि भाडामा छुट दिएनन्,’ उनले भनिन्, ‘उद्योग चलाउन नसकेपछि उद्योगका सबै सामान एउटा कोठा लिएर थन्काएर राखेको छु ।’

‘लकडाउन कहिले खुल्ने अत्तोपत्तो छैन् । मासिक एक लाख ५० हजार भाडा तिर्नुपर्ने अवस्था थियो । यस्तो संकटमा कसरी भाडा तिर्नु ?’ उनले प्रश्न गरिन् ।

हाल लकडाउन र निषेधाज्ञाले गर्दा निकै आर्थिक संकट परेको र व्यवसाय चलाउन निकै कठिन भएको उनले बताइन् ।

त्यसैगरी, भक्तपुरस्थित शक्ति बेकरी (पाउरोटी उद्योग) ले निषेधाज्ञा र लकडाउनको समयमा ५० प्रतिशतले मात्रै उत्पादन गर्न पाएको उद्योगका सञ्चालक निरोज मानन्धरले जानकारी दिए ।

उनले भक्तपुरमा मात्रै निर्यात गर्दै आएकोमा लकडाउनको समयमा दुई हप्ता मात्र बन्द गरेको बताए । साथै, हाल निषेधाज्ञाको समयमा समुदायमा कोरोना फैलिएकाले बन्द अवस्थामा रहेको उनले बताए ।

‘विगतको दिनमा दैनिक ४५ हजारभन्दा बढीको बेकरीको सामान उत्पादन हुन्थ्यो भने अहिले कोरोनाको समयमा १५ देखि २० हजारको मात्रै उत्पादन भइरहेको छ,’ उनले भने ।

‘हाल उद्योगमा नै कर्मचारी बसोबास गरेर उत्पादन गरिरहेको हुनाले कुनै पनि समस्या उत्पन्न भएको छैन्,’ उनले क्लिकमान्डूसँग भने, ‘केही महिना यसरी नै लकडाउन लम्बिएमा कर्मचारी र उद्योग चलाउन कठिन परिस्थिति आउन सक्छन् ।’

त्यसैगरी, लामो समयदेखि बेकरीको प्रकार उत्पादन गर्दै आएका कृष्ण पाउरोटीको उत्पादन तथा खपत ७० प्रतिशतले घटेको उद्योगमा कार्यरत कर्मचारी सुनिता न्यौपानेले जानकारी दिइन ।

हाल पसल खुल्न नदिएकाले लकडाउन र निषेधाज्ञाको समयमा अनलाइनमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको बताइन् ।

‘अहिले कम्पनीमा नै कार्यरत ५/६ जना कर्मचारीको सहयोगमा उत्पादन गरिरहेको छ,’ उनले भनिन्, ‘पहिलो लकडाउनमा नै १४/१५ जना कर्मचारी घर गएकाले सिमित कर्मचारी मात्रै कार्यरत छन् ।’

३० प्रतिशत मात्रै उत्पादन
लकडाउन र निषेधाज्ञाको समयमा ३० प्रतिशतले मात्रै पाउरोटी उत्पादन भइरहेको नेपाल पाउरोटी उद्योग संघले जनाएको छ । यस अवधिमा ७० प्रतिशत खपत भएको संघका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पाउरोटी पनि खाद्य वस्तुअन्तर्गत पर्ने भएकाले लकडाउनको समयमा पनि धेरथोर उत्पादन तथा खपत भएको बताए । तर, कर्मचारीहरू उपत्यका बाहिर गएकाले धेरै उत्पादन गर्न नसकेको उनले जानकारी दिए ।

साथै, उपत्यकामा मानिस धेरै नभएको र दिनमा एक, दुई घण्टा मात्र खोल्न पाउने भएकाले खपत पनि राम्रो हुन नसकेको उनको भनाइ छ ।

‘लकडाउनको समयमा पूर्ण क्षमता अनुसार कुनै पनि कम्पनीले उत्पादन गर्न पाएको छैन । कतिपय उद्योगहरूले शुरूमा कर्मचारी अभावको कारणले एक, डेढ महिना उद्योग नै बन्द गरे ।

पछि विस्तारै थोरैथोरै उत्पादन गर्न शुरु भयो,’ उनले भने, ‘बजारमा काम पनि नभएको र बजार जान पनि नपाउने भएका धेरै समस्या भइरहेको छ ।’

अधिकांश उद्योग घाटामा
कोरोनाको समयमा पाउरोटी उत्पादन गरिरहेको उद्योगले घाटा खाएर उत्पादन गरिरहको महासंघले जनाएको छ । विगतको दिनमा एक सयभन्दा बढी पाउरोटी उत्पादन गर्ने उद्योगले अहिले ३०/४० पिस बनाउँदा धेरै घाटा व्यहोर्नु परेको अध्यक्ष अधिकारीको भनाइ छ ।

नेपालमा हाल २ सयभन्दा बढी ठूला उद्योग छन् । तर, अहिले सरकारको नीति अनुसार वडा स्तरमा नै दर्ता गरेर उत्पादन गरी चलाउने भएकाले अहिले यस क्षेत्रमा अनिगिन्ती उद्योग रहेको उनले बताए ।

उपत्यकामा २८ वटा ठूलो उद्योग छन् भने २/३ सय जति साना उद्योग रहेको उनले जानकारी दिए । तर, महासंघसँग दैनिक कति खपत हुन भन्ने यकिन तथ्याङ्क नभएको महासंघले जनाएको छ ।


क्लिकमान्डु