कोरोना कहरः १९.६६ प्रतिशतले घट्यो बैंकहरुको इपीएस
काठमाडौ । कोरोना कहरमा बैंकहरुको प्रतिसेयर आम्दानी घटेको छ । गव आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आवको तुलनामा १९.६६ प्रतिशतले घटको हो ।
अघिल्लो आव २०७५/७६ मा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (इपीएस) औषतमा २५ रुपैयाँ २६ पैसा थियो । जुन गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा ४ रुपैयाँ ९७ पैसाले घटेर औषतमा २० रुपैयाँ ३ पैसामा सीमित भएको छ ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सो अवधिमा बैंकहरु ५५ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा १२ प्रतिशत अर्थात् ७ अर्ब ६१ करोड रुपैयाँ कम हो ।
अघिल्लो आवमा बैंकहरुले ६३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । जसमा २ वटा बाहेक सबै वाणिज्य बैंकले अर्ब बढी खुद नाफा कमाएका छन् ।
गत आवमा अर्ब बढी कमाउने बैंकहरुको पनि इपीएस घटेको छ । बैंकहरुको व्यवसायी प्रगति खुद नाफासँगै प्रतिसेयर आम्दानीले पनि प्रष्ट पर्छ । बैंकहरुको वास्तविक नाफा प्रतिसेयर आम्दानीले मापन गर्ने हुँदा नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्दा त्यसको व्यवसायीक प्रगति राम्रो मानिँदैन ।
के हो प्रतिसेयर आम्दानी ?
प्रतिसेयर आम्दानीले कम्पनीको वितरण गर्ने लाभांशको अनुमान गर्न सकिन्छ । प्रतिसेयर आम्दानी भनेको कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी हो । कम्पनीको खुद नाफालाई कम्पनीको सेयर संख्याले भाग गर्दा आउने भागफल नै प्रतिसेयर आम्दानी हो ।
जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा २४ वटा वाणिज्य बैंकको इपीएस घटेको छ, भने ३ वटाले मात्र इपीएस बढेको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमा अर्ब बढी नाफा कमाउने बैंकहरुको समेत इपीएस अत्यधिक घटेको छ ।
इपीएस बढाउने बैंकहरु
कोरोनाको कहरमा पनि अघिल्लो आवको तुलनामा गत आवको तुलनामा सेञ्चुरी, सिद्धार्थ र एनसीसी बैंकले इपीएस बढाएका छन् ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले अघिल्लो आवको खुद नाफामा ८.२६ प्रतिशत अर्थात् २७ करोड २८ लाख रुपैयाँले बढाएर ३ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । सो अवधिमा बैंकको इपीएस पनि १४.३० प्रतिशत अर्थात् २ रुपैयाँ ७३ पैसाले बढाएर १० रुपैयाँ ७७ पैसा पुर्याएको छ ।
सेञ्चुरी कमर्सियल बैंक
अघिल्लो आवको तुलनामा सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा गत आवमा ३३.९९ प्रतिशतले घटेर ९० करोड ६३ रुपैयाँमा सीमित भएको छ । तर बैंकले सो अवधिमा एपीएस ३३.९६ प्रतिशतले वृद्धि गरेको छ । बंैकको अघिल्लो आवमा ८ रुपैयाँ ०४ पैसा इपीएस रहेमा बैंकले गत आवमा १० रुपैयाँ ७७ पैसा पुर्याएको छ ।
एनसीसी बैंक
गत आवको असार मसान्तमा एनसीसी बैंकले २.२० प्रतिशतले इपीएसमा वृद्धि गरेको छ । अघिल्लो आवमा ११ रुपैयाँ ८३ पैसा इपीएसलाई बैंकले बढाएर १२ रुपैयाँ ०९ पैसा कामय गरेको हो । सो अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
अर्ब बढी खुद नाफा कमाएर इपीएस घटाउने वाणिज्य बैंकहरु
गत आवको असार मसान्तसम्म २५ वटा वाणिज्य बैंकले अर्ब बढी नाफा कमाएका छन् । तर सोही अवधिमा २४ वटा बैंकको प्रतिसेयर आम्दानी (इपीएस) अघिल्लो आवको तुलनामा घटेको छ ।
ग्लोवल आइएमई बैंक
गत आवमा सबैभन्दा बढी ग्लोवल आइएमई बैंकको इपीएस ३९.२७ प्रतिशतले घटेर १६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैंकको इपीएस २६ रुपैयाँ ७९ पैसा थियो । बैंकले गत आवमा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल एसबीआई बैंक
गत आवमा नेपाल एसबीआई बैंकले ३७.०१ प्रतिशतले इपीएस घटाएको छ । अघिल्लो आवमा २७ रुपैयाँ १३ पैसा इपीएस रहेकामा गत आवमा १७ रुपैयाँ ०९ प्रतिशतमा सीमित भएको छ । बैंकले गत आवमा १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रभु बैंक
प्रभु बैंकको अघिल्लो आवमा २१ रुपैयाँ ०३ पैसा इपीएस थियो । गत आवको असार मसान्तसम्ममा ३३.७६ प्रतिशत अर्थात् ७ रुपैयाँ १० पैसाले घटेर १३ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । बै.कले सो अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक अघिल्लो आवमा नेपाल इन्भेष्टमेन्ट बैंकको २६ रुपैयाँ ४३ पैसा इपीएस थियो । बैंकले गत आवको सोही अवधिमा ३१.६३ प्रतिशत अर्थात् ८ रुपैयाँ ३६ पैसाले इपीएस घटाएर १८ रुपैयाँ ०७ पैसामा सीमित गरेको छ । सो अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सानिमा बैंक
सानिमा बैंकको इपीएस गत आर्थिक वर्षमा ३१.४३ प्रतिशत अर्थात् ८ रुपैयाँ ८७ पैसा घटेको छ । अघिल्लो आवमा २८ रुपैयाँ २२ पैसा इपीएस घटेर १९ रुपैयाँ ३५ पैसामा सीमित भएको हो । सो अवधिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
प्राइम कर्मसियल बैंक
गत आवको २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको प्राइम बैंकको इपीएस भने ३०.५५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २३ रुपैयाँ ६ पैसा इपीएस गत आवको असार मसान्तमा ७ रुपैयाँ २१ पैसाले घटेर १६ रुपैयाँ ३९ पैसामा सीमित भएको छ ।
बैंक अफ काठमाण्डू
गत आवमा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंक अफ काठमाण्डूको इपीएस २६.६५ प्रतिशतले घटको छ । बैंकको अघिल्लो आवमा २३ रुपैयाँ ५३ पैसा इपीएस थियो । जसमा ६ रुपैयाँ २७ पैसाले घटेर गत आवमा १७ रुपैयाँ २६ पैसामा सीमित भएको छ ।
नबिल बैंक
नबिल बैंकको अघिल्लो आवमा ५० रुपैयाँ ५७ पैसा इपीएस थियो । गत आवको असार मसान्तसम्म आइपुग्दा २६.३६ प्रतिशत अर्थात् १३ रुपैयाँ ३३ पैसाले घटेर ३७ पैसा २४ रुपैयाँमा सीमित भएको छ । बैंकले सो अवधिमा ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको इपीएस १२ रुपैयाँ ९२ पैसा छ । जुन अघिल्लो आवको तुलनामा २६.१३ प्रतिशत अर्थात् ५ रुपैयाँ २६ पैसा कम हो ।
सिटिजन्स बैंक
अघिल्लो आवमा १७ रुपैयाँ ४९ पैसा इपीएस रहेको सिटिजन्स बैंकको गत आवमा २६.१३ प्रतिशतले घटेको छ । अघिल्लो आवको इपीएसमा ४ रुपैयाँ ५७ पैसाले घटेर १७ रुपैयाँ ४९ पेसामा सीमित भएको हो । सो अवधिमा बैंकले १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सनराइज बैंक
अघिल्लो आवमा सनराइज बैंकको इपीएस २० रुपैयाँ ९४ पैसा थियो । जसमा गत आवको असार मसान्तसम्म २५.८४ प्रतिशत अर्थात् ५ रुपैयाँले घटेर १५ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । बैंकले सो अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको इपीएस अघिल्लो आवको तुलनामा २३.५४ प्रतिशत अर्थात ४ रुपैयाँ ६२ पैसाले घटेर १९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । बैंकले सो अवधिमा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कृषि विकास बैंक
गत आवमा ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको कृषि विकास बैंकको इपीएस १८.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा इपीएस गत आवको असार मसान्तमा ७ रुपैयाँ ५७ पैसाले घटेर ३२ रुपैयाँ ८८ पैसामा सीमित भएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
गत आर्थिक वर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको इपीएस भने १८.५३ प्रतिशतले घटेर २४ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैंकको इपीएस ३० रुपैयाँ ३९ पैसा थियो ।
एभरेष्ट बैंक
एभरेट बैंकको एपीएस अघिल्लो आवको तुलनामा गत आवमा १८.१३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३८ रुपैयाँ ०५ पैसा इपीएस गत आवमा ६ रुपैयाँ ९० पैसाले घट्दा ३१ रुपैयाँ १५ पैसामा सीमित भएको छ । सो अवधिमा बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
हिमालयन बैंक
अघिल्लो आवमा हिमालयन बैंकको इपीएस ३२ रुपैयाँ ४४ पैसा थियो । गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको इपीएस १६.३७ प्रतिशत अर्थात्ले ५ रुपैयाँ ३१ पैसाले घटेर २७ रुपैयाँ १३ पैसामा झरेको छ । सो अवधिमा बैंकले २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल बैंक
नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सो अवधिमा इपीएस २२ रुपैयाँ ६६ पैसा छ । जुन अघिल्लो आवको तुलनामा १६.०४ प्रतिशत अर्थात् ४ रुपैयाँ ३३ पैसा कम हो ।
लक्ष्मी बैंक
अघिल्लो आवमा १७ रुपैयाँ ८२ पैसा इपीएसमा लक्ष्मी बैंकले गत आवमा १५.१० प्रतिशतले घटाएर १५ रुपैयाँ १३ पैसामा झारेको छ । सो अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आवमा ४ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सो अवधिमा इपीएस ४९ रुपैयाँ ४५ पैसा छ । जुन अघिल्लो आवको तुलनामा ११.७६ प्रतिशत अर्थात ६ रुपैयाँ ५९ पैसा घटेको हो ।
एनएमबि बैंक
गत आवमा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको एनएबि बैंकको इपीएस १६ रुपैयाँ ७३ पैसा छ । अघिल्लो आवमा बैंकको इपीएस १८ रुपैयाँ ७९ पैसा थियो । जुन गत आवको तुलनामा १०.९६ प्रतिशत धेरै हो ।
कुमारी बैंक
कुमारी बैंकले गत आवमा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको इपीएस भने अधिल्लो आवको तुलनामा ९.८८ प्रतिशत अर्थात् १ रुपैयाँ १७ पैसाले घटेर १२ रुपैया ७७ पैसामा सीमित भएको छ ।
मेगा बैंक
मेगा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको इपीएस १४ रुपैयाँ ५२ पैसा छ । जुन अघिल्लो आवको तुलनामा ७.४६ प्रतिशत अर्थात २ रुपैयाँ १० पैसाले घटेको हो ।
एनआइसी एशिया बैंक
अघिल्लो आवमा एनआइसी एशिया बैंकको इपीएस ३४ रुपैयाँ २२ पैसा थियो । गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको इपीएस ६.१४ प्रतिशत अर्थात्ले २ रुपैयाँ १० पैसाले घटेर ३२ रुपैयाँ १२ पैसामा झरेको छ । सो अवधिमा बैंकले ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सिभिल बैंक
अघिल्लो आवमा ८ रुपैयाँ ८४ पैसा इपीएसमा सिभिल बैंकले ३५. ४१ प्रतिशत अर्थात् ३ रुपैयाँ १३ पैसाले घटाएर ५ रुपैयाँ ७१ पैसामा सीमित गरेको छ । बैंकले गत आवमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । हालसम्म सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकमध्ये बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा कम हो ।