३३ करोड कोरोना बीमा प्रिमियम संकलन हुँदा ५५ लाखको दाबी, कुन कम्पनीको कति ?



काठमाडौं । गत बैशाखबाट निर्जीवन बीमा कम्पनीले शुरु गरेको कोरोना बीमामा हालसम्म ६ लाख १ सय ६७ जना सहभागी भइसकेका छन् । जसवापत कम्पनीहरुले हालसम्म ३३ करोड ६९ लाख ७२ हजार ४२२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

नेपालमा कोरोना संक्रमित १९ हजार ५ जना बढी भइसकेका छन् । संक्रमितको संख्या बढेसंगै कोरोना बीमितको दाबी पनि बीमा कम्पनीमा बढ्दो छ । हालसम्म ५५ जना कोरोना संक्रमित बीमितको दाबी कम्पनीहरुमा परेको नेपाल बीमक संघका महासचिव चंखी क्षेत्रीले बताए ।

कम्पनीहरुले ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी २ वटा कोरोना बीमा पोलिसी बिक्री गरिरहेका छन् । जसमा सबैभन्दा धेरै दाबी १ लाख रुपैयाँको आएको महासचिव क्षेत्रीले बताए ।

‘कोरोना बीमा दाबीमा प्रायजसो १ लाख रुपैयाँकै आएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘हाल कोरोना दाबी बीमा पुल अन्तर्गत रहेर भइरहेको छ ।’

कोरोना संक्रमित बढेपनि अहिले कोरोना बीमातर्फ भने मानिसको आकर्षण पहिलेको तुलनामा घटेको क्षेत्रीको भनाइ छ ।

‘संक्रमण बढेपनि बीमा गराउनेको संख्या पहिलेको तुलनामा केही कम छ,’ उनले भने, ‘मानिसमा कोरोनाको भय कम भएकाले पनि बीमा गराउने कम हुँदै गएको हुन सक्छ ।’

एक महिना अघिसम्म तीव्ररुपमा बढेको कोरोना बीमितको संख्या वृद्धिमा अहिले सुस्तता आएको उनले बताए । सरकारले सर्वसाधारणको कोरोना बीमा शूल्कमा ५० प्रतिशत र सरकारी कर्मचारीको शतप्रतिशत अनुदानको कार्यक्रम लागू भएमा पुन बीमितको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

बीमक संघबाट प्राप्त तथ्यांकअनुसार कम्पनीहरुमा परेको दाबीमध्ये १७ वटा दावी वापत १६ लाख ५० हजार रुपैयाँ भुक्तानी भएसकेको छ । भने ३८ वटा कोरोना बीमा दाबीवापत ३८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

हालसम्म सबैभन्दा बढी कोरोना बीमा दाबी लुम्बिनी जनरलमा २७ वटा र शिखर र युनाइटेड इन्स्योरेन्समा ११/११ वटा परेका छन् ।

सरकारले बजेटमा घोषणा गरेको कोरोना बीमा कार्यक्रम लागू गर्नका लागि बीमा समितिले कार्यविधि निर्माण गरी अर्थमन्त्रालय पठाइसकेको छ । मन्त्रालयबाट आवश्यक अध्ययन र छलफल गरी पास भएपछि १ लाख रुपैयाँको कोराना बीमामा सर्वसाधारणलाई सरकारले ५० हजार रुपैयाँ अनुदान दिनेछ । साथै सरकारी कर्मचारीको शतप्रतिशत बीमा शूल्क ब्यहोर्ने छ ।

कोरोना दाबीको दायित्व
शुरुवातमा बीमा पुलअन्तर्गत रहेर दाबीको दायित्व बहन गर्ने सम्झौता गरी कोरोना बीमा सञ्चालनमा ल्याइएको थियो । जसमा २० प्रतिशत पुनरबीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४/४ प्रतिशत गरेर दाबी भुक्तानी गर्नुपर्ने थियो । तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरियो ।

हाल कोरोना बीमाको दायित्व सरकार, बीमा समिति, नेपाल पुनरबीमा कम्पनी र बीमा कम्पनीहरुले बहन गर्ने सम्झौता भएको छ ।

अर्थमन्त्रालय, बीमा समिति र बीमक संघबीच भएका सम्झौताअनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूलअन्तर्गत दाबी भुक्तानी गर्नेछन् । त्यसपछि १ अर्ब रुपैयाँ पुनरबीमा कम्पनीले, त्यसपछिको ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नेछन् ।

यसैगरी २ अर्ब ५ करोड रुपैयाँमाथिको १ अर्ब रुपैयाँ बीमा समितिले दायित्व लिनेछ । भने सोभन्दामाथि परेको दाबीको दायित्व सरकारले बहन गर्नेछ । दायित्व बहनको आधारमा सरकारले घोषणा गरेको कोरोना बीमा कार्यक्रमको कार्यविधि बनाइएको बीमा समितिले जानकारी दिएको छ ।

कुन बीमा कम्पनीको कति कोरोना बीमा दाबी भुक्तानी

बैशाखबाट शुरु भएको कोरोना बीमाको दाबी भने जेठ अन्तिम साताबाट कम्पनीहरुमा पर्न थालेको हो । हालसम्म ५५ वटा कोरोना दाबी कम्पनीमा परिसकेको छ, भने १७ वटा दाबीवापत १६ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । जसमा एउटा दाबी ५० हजार रुपैयाँको र १६ लाख रुपैयाँ १ लाख रुपैयाँको हो ।

जसमा अजोड इन्स्योरेन्सले १ वटा ५० हजारको र ४ वटा १ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो । यसैगरी, आइएमईले १ जनालाई १ लाख रुपैयाँ, लुम्बिनीले ३ जनालाई ३ लाख रुपैयाँ, नेकोले १ जनाको १ लाख रुपैयाँ कोरोना दाबी भुक्तानी दिएका छन् ।

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीले ३ जनालाई ३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले हालसम्म ४ जनाको बीमितको ४ लाख रुपैयाँ कोरोना बीमा दाबी भुक्तानी दिएको छ ।

बीमा कम्पनीहरुमा साउन १५ गतेसम्म परेको परेको कोरोना दाबी भुक्तानीमा ३८ जना बीमितको दाबी भुक्तानी हुन बाँकी छ । दाबी भुक्तानी हुन बाँकी सबैभन्दा बढी लुम्बिनी इन्स्योरेन्सको २१ वटा, युनाइटेडको ११ वटा छन् ।

कोरोना बीमामा हालसम्म कुन कम्पनीले कति प्रिमियम संकलन गरे 

कम्पनीहरुले हालसम्म ३३ करोड ६९ लाख ७२ हजार ४२२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जसमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ६ करोड ३३ लाख बढी र सबैभन्दा थोरै नेशनल इन्स्योरेन्सले ४९ लाख  ६६ हजार प्रिमियम संकलन गरेका हुन्  ।

 


क्लिकमान्डु