भारत हाम्रो संवेदनशिलतामा गम्भिरता भएन, हामीले नक्सा सार्वजनिक गर्यौः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मन्त्री पद्मा कुमारी अर्यालले भारतले वार्ता गर्न नचाहेको कारण सरकारले नक्सामा छुटेको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको बताएकी छिन् ।

राष्ट्रिय सभाको बैठकमा मन्त्री अर्यालले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले युगिन महत्वको काम सकेको बताएकी हुन् ।

यो समस्याको समाधान वार्ताबाट नै गर्न खोजेको भएपनि त्यो भावना भारतले नबुझेको उनको तर्क छ । ‘वार्ता एक्लै हुँदैन, दुई पक्ष नै चाहिन्छ । हाम्रो संवेदनशिलतामा गम्भिरता नदेखिए पछि छुटेको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेका हौ ।’ अन्य कुरा सरकारले दुई पक्षबीचमा छलफलको माध्यमबाट सक्ने बताइन् ।

मन्त्री अर्यालले नेपालको नक्सामा छुटेको राजनीतिक र प्रशासनिक नक्सा समेटेर सार्वजनिक गरेसँगै यसले नेपालीको स्वाभिमान उच्च भएको बताइन् ।

प्रकृतिले एउटा अनुपम उपहारका रुपमा विश्वको सर्वाेच्च शिखर सगरमाथा दिएको भन्दै उनले यसको उचाइ मापन अरु मुलुकहरुले धेरैपटक गरेपनि नेपालले इतिहासमै पहिलोपटक आफ्नै स्रोतसाधन र सीपबाट सगरमाथाको उचाइ मापनको कार्य सम्पन्न गरेको जानकारी गराइन । अब सगरमाथाको वास्तविक उचाइको हिसाब निकट भविष्यमै घोषणा गर्ने गरी सरकार तयारीमा रहेको उनको भनाइ छ ।

मन्त्री अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नक्सा नाप गर्ने सिस्टमको विकास गरिएको बताइन् । उनले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको उल्लेख गरिन् ।

विगतको त्रुटीपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले धेरै खालका गुनासाहरु आउने गरेको भन्दै मन्त्री अर्यालले ती कुरालाई मध्यनजर गर्दै नापनक्साको काम फिताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको बताइन् ।

‘विगतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो । त्यसैले अब यन्त्रबाट नापनक्साको काम गरिनेछ भनेर त्यो काममा हामी अगाडि बढेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘देशभर आधुनिक तरिकाबाट डिजिटल प्रणालीबाट पुनः नापजाँच गर्ने कार्य भइरहेको छ । यो सबै ठाउँमा गर्न जुरुरी पनि छ र त्यो कामको थालनी पनि भएको छ ।’

नापनक्सा क्षेत्रको अत्याधुनिक प्रविधि ‘लाइडर प्रविधि’ यसै आर्थिक वर्षदेखि नेपालको सुदुरपश्चिम प्रदेशबाट शुरु भएको भन्दै उनले त्यसले पृथ्वीको धरातलीय स्वरुपको नापजाँच गर्ने कार्य भइरहेको बताइन । सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको उनको भनाइ थियो ।

समाजवादमा पुग्नका निम्ती सहकारी कार्यक्रम वैज्ञानिक र प्रभावकारी हुने भन्दै मन्त्री अर्यालले सहकारीको भावना, तागत, स्रोतसाधन जोडेर अगाडि बढ्न सकेमा राष्ट्र र समाजलाई यसले बदल्न सक्ने दाबी गरिन् । त्यसकारण सहकारीलाई सुशासन, मर्यादित र अनुशासित बनाउने कुरालाई सरकारले महत्वका साथ हेरेको भन्दै उनले सहकारी क्षेत्रसँग जोडिएर आएका गुनासाहरु, त्यहाँ मौलाउदै गरेका विकृतिहरुको पनि हेक्का राखेको बताइन् ।

‘सहकारीको अनुगमन गर्ने, सुशासन कायम गर्ने, पूँजी वृद्धी गर्ने, त्यसको परिचालन गर्ने, सहकारीका मार्फत गरिबी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ हामी अगाडी बढेका छौ’, मन्त्री अर्यालले भनिन् ।


क्लिकमान्डु