कोरोना बीमाको जोखिम दायित्व कसको भागमा कति हिस्सा ?



काठमाडौं । अब कोरोना बीमाको जोखिमको दायित्व कम्पनीले मात्र बहन गर्नु नपर्ने भएको छ । बीमक संघ र बीमा समिति बीच भएको सम्झौता अनुसार बीमाको दायित्व सरकार र समितिले समेत ब्यहोर्ने भएको छ ।

अर्थमन्त्रायल, बीमा समिति र बीमक संघबीच भएका सम्झौता अनुसार ३ अर्ब ५० करोड रुपैयाँसम्म दावी भुक्तानीको दायित्व बीमा कम्पनी, नेपाल पुर्नबीमा कम्पनी र बीमा समितिलेले ब्यहोर्ने सम्झौता भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले बताए ।

‘१ अर्ब रुपैयाँसम्म पुरानै व्यवस्था अनुसार हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘त्यसपछिको दावीको दायित्व १ अर्ब रुपैयाँ नेपाल पुर्नबीमा, ५० करोड बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती जगेडा कोषबाट र १ अर्ब रुपैयाँ बीमा समितिले आफ्नो पुँजीबाट ब्यहोर्ने सम्झौता भएको छ ।’

बाँकी परेको दावीको दायित्व सरकारले लिने सम्झौता भएको उनले जानकारी दिए । यसरी ३५ हजार जनाको बीमा कम्पनी, पुर्नबीमा कम्पनी र समितिले जोखिमको दायित्व बहन गर्ने छन्, भने सो भन्दा माथिको दायित्व सरकारमा जानेछ ।

‘नयाँ बीमा कम्पनी बाहेकका बीमा कम्पनीहरुको विपत्ती कोषमा करिब ७० करोड रुपैयाँ छ,’ पौड्याल भन्छन् ‘कोरोना भनेको विपत्ती नै हो ।’ विपत्तीको समयमा नै खर्च गर्नको लागि जम्मा गरिएको कोषबाट ५० हजार रुपैयाँ खर्च गर्ने बीमा कम्पनीहरु सक्षम भएको उनको भनाइ छ ।

कोरोनाको संक्रमण बढी भएको क्षेत्रका अधिकांस जनतालाई कोरोना बीमा गराउने कम्पनीलाई समितिले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको समितिका कार्यकारी निर्देशक पौड्यालले बताए ।

समितिले जारी गरको कोरोना बीमाको पूल अन्तर्गत नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशत जोखिम ब्यहोरेर १ वर्षको समयावधिको पोलिसी बिक्री गर्दै आएका थिए ।

अब भने नयाँ व्यवस्था अनुसार कोरोना बीमाको समयावधि घटेको बीमक संघका महासचिब चंखी क्षेत्रीले बताए ।

‘पहिले कोरोना बीमा १ वर्ष समयावधिको लागि गरिएकाे थियो,’ उनले क्लिकमाण्डूसँग भने ‘अब भएको कोरोना बीमाको समय चैत मसान्तमा मात्र तोकिएको छ ।’ समितिले गरेको नयाँ व्यवस्थाले बीमक र बीमित दुवैलाई समिति र सरकारप्रति विस्वास बढेको उनको भनाइ छ ।

कोरोना बीमाको पुरानो व्यवस्था अनुसार बीमा कम्पनीहरूले दायित्व बहन गर्ने नसकेको कारण नयाँ व्यवस्था लागू गर्न बीमक संघले बीमा समितिलाई आग्रह गरेको थियो ।


क्लिकमान्डु