काठमाडौं-पोखरा र चितवनमा पर्यटकीय गतिविधि को शुरुवात गरौंः बीरेन्द्र बस्नेत
कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र र त्यसमा पनि एभिएसन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । नेपालको अग्रणी विमान कम्पनीकारुपमा यसको असर बुध्द एयरमा पनि परेको छ । आन्तरिक उडान ठप्प भएको झण्डै २ महिनामा आम्दानी पनि ठप्प भएको छ । १ हजारभन्दा बढी कर्मचारी कार्यरत कम्पनीका महामारीको असर कस्तो परेको छ । र, अब पर्यटन क्षेत्रलाई रिभाइभ गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा कम्पनीका प्रबन्ध निर्देशन बीरेन्द्र बहादुर बस्नेतले सञ्चारकर्मीसँग गरेको कुराकानीको मुख्य अंश ।
मुलुकमा लकडाउन भएको लामो समयसम्म भइसकेको छ । यसबीचमा आर्थिक गतिविधि ठप्प भएको छ । के अब लकडाउन केही खुकुलो पार्ने बेला भएको हो ?
लकडाउन कुनै न कुनै हिसाबले खोल्नुपर्छ । त्यसमा नेपालमा विज्ञहरु बसेर पनि छलफल गरिरहनु भएको छ । लकडाउनका कारणले अहिले आर्थिकरुपमा ठूलो समस्या पार्दैछ । रोजगारी कटौती हुने, विदेशबाट नेपाल फर्कने अवस्थामा गरिबी र त्यसबाट उत्पन्न हुने अराजकता निम्त्याउने खतरा छ । अब त्यस्तो अवस्था नआओस भन्नका लागि हामीले आर्थिक चक्र चल्नैपर्छ ।
पर्यटनको क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । पर्यटन क्षेत्रमा रिभाइभ गर्नका लागि के गर्न सकिन्छ ?
पर्यटन क्षेत्रमा यसले ठूलो असर पारेको छ । पर्यटन क्षेत्रमा पनि २ लाख ७३ हजार प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । तर अप्रत्यक्ष रुपमा फर्निचरको क्षेत्र, पोल्ट्रीको क्षेत्रलगायतका क्षेत्रमा पनि असर पर्छ । अब हामीले पर्यटन क्षेत्रलाई कसरी रिभाइभ गर्ने भन्ने अहिलेको चुनौती हो । यसको ठूलो पाटो के छ भने साहसिक पर्यटनको हकमा अलिक धेरै समय लाग्नसक्छ । त्यसैले पहिलो काम नै आन्तरिक पर्यटनको बढावामा लाग्नुपर्छ ।
आन्तरिक पर्यटनको शुरुवात कसरी गर्ने ?
काठमाडौंबाट पोखरा र चितवनमा जाने हिस्सा ३० प्रतिशत हो । त्यसैले सबैभन्दा शुरुमा हामीले ती क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउनुपर्छ । अब कोरोनापछिको अवस्था न्यू नर्मल अवस्था हो । महामारीलाई रोक्ने एउटा मात्रै उपाय नै प्रतिरक्षा नै हो । हरेक कदममा यो आवश्यक छ । यो पालना भएको वा नभएको अनुगमन पनि गर्नुपर्छ ।
बुध्द एयरले यसका लागि निर्देशिका बनाइसकेको छ भने अब होटल, बोटिङ, सफारीको हकमा पनि लागू गर्नुपर्छ । त्यसबाहेक सेल्फ कन्सियस पनि हुनुपर्छ । हाम्रो निर्देशिकाको पहिलो शर्त नै आफैं सचेत हुनु नै हो । अब तापक्रम मात्रै नाप्ने भन्दा पनि अरु केही लक्षण छ कि छैन भन्ने पनि हेर्नुपर्छ । जब राज्यले लकडाउन खोल्छ त्यसपछि सबैभन्दा पहिले काठमाडौं, चितवन र पोखरालाई सुरक्षित घोषणा गरेर आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।
महामारीपछि विदेशबाट ल्याउने पर्यटकको हकमा के गर्न सकिन्छ ?
सबैभन्दा पहिले हामीले काठमाडौं, पोखरा र चितवनलाई सुरक्षित गन्तव्यका रुपमा घोषणा गर्नुपर्छ । त्यसपछि हामीले अहिले अन्यत्रका देशमा भन्दा पनि सबैभन्दा बढी पर्यटक आउने दुई छिमेकी मुलुक चीन र भारतमा केन्द्रित गर्नुपर्छ । उनीहरुलाई पनि अन्य देशमा जानुको साटो नेपाल आउनका लागि सजिलो हुन्छ ।
हरेक वर्ष चीनबाट १० करोड र भारतबाट ४ करोड मानिसहरु विदेश घुम्नका लागि जान्छन् । यस्तो अवस्थामा हामीले ती पर्यटकलाई नेपालमा ल्याउन सक्नुपर्छ । सोही अनुसार लाग्नु पनि पर्छ । त्यत्ति ठूलो संख्याबाट थोरै संख्यामा मात्रै पनि नेपाल आए भने हामी पहिलेको हाराहारीमा पुग्छौं । यसका लागि नेपालका यी ठाउँलाई कसरी मार्केटिङ गर्ने हो त्यसतर्फ लाग्नुपर्छ ।
अब राज्यले के गर्नुपर्छ ?
अब राज्यमा आशाको विन्दुहरु चाहिन्छ । बेरोजगारीलाई कसरी सामना गर्ने हो भन्ने चाहिन्छ । पर्यटनको हकमा आन्तरिक पर्यटकलाई प्रोत्साहन गरेर विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । हामीले चिनियाँ र भारतीय पर्यटक आकर्षित गर्नका लागि शुरुमा आन्तरिक पर्यटक सुरक्षित छन् भन्ने सन्देश नै दिने हो । विश्वासको वातावरण सिर्जना गर्नुपर्छ ।
त्यसैगरी जहाँ कोरोनाको संक्रमण बढी देखिएको छ त्यस्ता ठाउँमा परीक्षणको दर बढाउनु पर्छ । त्यसपछि मात्रै विश्वासको वातावरण बन्न सक्छ । अहिले त्यस्ता ठाउँमा कैयनमा लक्षण नै देखिएको छैन । ती ठाउँमा विश्वस्त हुने गरी परीक्षणको दायरा बढाउनु पर्छ ।
सरकारको तर्फबाट एभिएसन क्षेत्रमा के कस्तो अपेक्षा राख्नु भएको छ ?
अब फ्युलको मूल्य ग्लोवल मार्केटको बराबरीमा आउनुपर्छ । फ्युलमा सरचार्ज गरेर कोरोना शुल्क लगाएका छन् । एटीएफको हकमा भने इन्धनको शुल्क घटाउनु पर्छ । चीनमा पनि अनुदान दिएको छ । हामीले ७५ रुपैयाँ तिरिरहेका छौं । एटीएफ पर्यटनसँग जोडिएको छ । हाम्रो एक मात्रै माग के हो भने संसारमा २० डलरमा ब्यारेलमा झरेको छ भने हाम्रोमा पनि पक्कै पनि मूल्य घट्नुपर्छ ।
आजका दिनमा फ्युलको खर्च ४० प्रतिशत हो । फ्युलको मूल्य घट्ने वित्तिकै भाडा दर पनि घट्छ । त्यसपछि हामीले मध्यवर्ग नेपालीका लागि टिकट बिक्री गर्न सक्छौं । अब अर्को २ वर्षसम्म इन्धनको मूल्य बढ्ने अवस्था छैन । अब अन्तर्राष्ट्रिय विमान कम्पनीको हकमा जे सुकै गरोस तर आन्तरिक उडान गर्ने कम्पनीलाई दिँदा भाडा पक्कै हट्छ । तर अन्तर्राष्ट्रियको हकमा घट्ने त होइन । लकडाउन खुल्ने वित्तिकै आन्तरिक उडान त शुरु हुन्छ । त्यसमा मूल्य घटाइदिएको हकमा भाडा त घट्छ ।
कोभिडको महामारीको असरका कारण निजी कम्पनीहरुले कर्मचारी कटौती गर्ने भनेका छन्, यस्तो अवस्थामा बुध्द एयरको अवस्था के छ ?
आजका दिनमा बुध्द एयरले कुनै पनि कर्मचारी कटौती गर्दैन । शुरुदेखि नै कम्पनी सञ्चालन गर्ने सिद्दान्त नै सबैको साझा थलो हो र कर्मचारीको चासो पहिलो नम्बरमा आउँछ । हामीले सबै कर्मचारीको कलेक्टिभ ओनरसिप नै स्थापित गरेका छौं । हामीले एउटा कर्मचारी पनि कटौती गर्दैनौं ।
मैले देखेको हाम्रो समस्या सेप्टेम्बर महिनासम्म हो । लकडाउन अझै एकम महिनासम्म जान सक्छ । तर त्यसपछि भने मोबिलिटी हुन्छ । अहिले अमेरिका र बेलायतमा पनि खोल्ने कुरा आइसकेको छ । अर्थतन्त्रको चक्र नै लामो समयसम्म ठप्प भयो भने समस्या निम्तिन्छ ।
बुध्द एयरको २०/२५ प्रतिशत आम्दानी नै डलरबाट हुन्छ । यस्तो अवस्थामा डलरमा लिइएको ऋण तिर्नका लागि कति असहज हुन्छ ?
त्यसमा पनि हामीले मोराटोरियम पाइसकेका छौं । हामीले डलर प्रिन्सिपल २०२१ अक्टोबरसम्म मागेका थियौं । त्यसमा नपाउने कुनै कारण थिएन । ब्याज हामीले तिरिरहेका छौं । त्यसमा पनि डलर नै तिरिरहेका छौं । डलर सञ्चिती पनि छ । नेपाली रुपैयाँको हकमा हामीले अहिले साँवा र ब्याज नै तिरिरहेका छौं । अब हाम्रो आँकलन सन् २०२१ को अक्टोबरसम्मका लागि चाहिन्छ भन्ने हो ।
त्यसबेलासम्म भ्याक्सिन पनि आइसक्ला भन्ने हाम्रो अनुमान छ । त्यसमा अहिले समस्या छैन । २३ वर्षसम्मको जुन विश्वास छ, त्यसले पनि काम गरेको हो । कुनै पनि व्यवसायिक संस्थाको लामो समयसम्मको विश्वासका आधारमा काम गरेको आधारमा यस्तो अवस्थामा सहयोग पनि हुन्छ भन्ने हो । ऋण दिनेले पनि वित्तीय अवस्था के छ भन्ने पनि हेर्छन् । र, यस्ता संकट पार लगाउन सक्छन कि सक्दैनन भन्ने पनि हो । त्यसै आधारमा हामीले पनि मोरोटोरियम पाएका हौं । त्यसैले हामीले पनि वित्तीय अनुशासन पनि कार्यान्वयन गरेका छौं ।