तलब खुवाउनै समस्या हुने भयो, विशेष नीति चाहिन्छः हानका उपाध्यक्ष विनायक शाह



कोरोना भाइरसको महामारी र यसले विश्व स्तरमा परोको असर त सबैलाई थाहा भएकै विषय हो । अहिले हरेक क्षेत्रमा यसको असर परेको छ । जसका कारण कैयन क्षेत्रहरु ठप्प हुने अवस्था आएको छ ।

कोरोना भाइरसको महामारी चीनबाट फैलिएसँगै सबैभन्दा पहिलो असर हवाई क्षेत्र र होटलमा परेको हो । कोरोना शुरु भए लगत्तै चीनसँग प्रत्यक्ष हवाई उडान भएका विभिन्न कम्पनीहरुले उडान बन्द गरे भने नेपालमा पनि यसको असर देखियो ।

नेपाल भित्रने धेरै पर्यटकमा भारतपछि चीनबाट बढी पर्यटक आउँछन् । त्यसैले चीनमा हुने वित्तिकै यसको असर नेपालमा पनि परेको हो । जसले गर्दा होटल क्षेत्रमा पनि यसको ठूलो असर परेको छ ।

हालसम्मको क्षति हेर्दा १ खर्ब ६० अर्ब रुपैयाँको क्षति भइसकेको छ । नेपालमा पर्यटन क्षेत्रमा कार्यरत १३ लाख जनशक्ति प्रभावित भएका छन् । भने यतिबेला होटलको व्यवसाय नराम्रो अवस्थामा पुगेको छ ।

सन् २००३ देखि २००५ सम्ममा नेपालका होटल क्षेत्रले जुन अवस्था भोगेको थियो । त्यही अवस्था फेरि दोहोरिएको छ । तत्कालिन समयमा होटलहरुको नाफा ५० प्रतिशतमा सीमित भएको थियो । अहिले १० प्रतिशतमा मात्रै सीमित हुने आँकलन गरिएको छ ।

एकातिर नेपाल भ्रमण वर्षका लागि लक्षित गरी लगानी भएका होटलहरु समस्यामा परेका छन् भने अर्कोतर्फ लामो समयदेखि चल्दै आएका होटलहरु बन्द हुने अवस्थामा पो पुग्ने हुन कि भन्ने भइसकेको छ ।

अहिलेको परिस्थितीमा सबैभन्दा मुख्य कुरा मानवीय स्वास्थ्य हो । त्यसलाई जोगाउनु अहिलेको जिम्मेवारी र कर्तव्य हो । त्यसपछि जीवनयापन नै महत्वपूर्ण हो । हामी बाँचेर मात्रै पुग्दैन । कर्मचारी, श्रमिकहरुलाई पनि जीवन जीउनका लागि आवश्यक साधन चाहिन्छ नै ।

हालसम्म सरकारले बैंकको लोन केही समयपछि मात्रै तिर्दा हुने गरी राहत ल्याएको छ । तर यतिले मात्रै पुग्दैन । सरकारले ल्याएको शुरुवाती प्याकेजका रुपमा त्यसलाई स्वागत गरिए पनि यस क्षेत्रलाई उकास्नका लागि विशेष नीति ल्याउनुपर्छ ।

हामीले संघमार्फत नै यस कुरालाई मागका रुपमा अघि सारिसकेका छौं ।

हालसम्म हामीले चैत महिनाको तलब खुवाइसकेका छौं । तर बैशाख महिनाको तलब खुवाउने विषयमा गाह्रो छ ।

लकडाउन कति लामो समयसम्म चल्छ भन्ने अहिले यकिन छैन । हाम्रो देशमा मात्रै भएर हुँदैन । होटल क्षेत्र विदेशी पर्यटकमा पनि आश्रित छ । त्यसैले नेपाल आउने पर्यटक भएका देशमा पनि कोरोना भाइरसको समस्या समाधान हुनुपर्छ । त्यसपछि मात्रै पर्यटक नेपाल आउन थाल्छन् ।

सर्सती हेर्दा नेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसको असर कम्तीमा २ वर्षसम्म देखिन्छ । त्यसैले सरकारले तत्कालीन र दीर्घकालीन राहतका प्याकेज र योजना ल्याउनुपर्छ । होटलको कुल खर्चको ४० प्रतिशत कर्मचारीको पारिश्रमिक मै जान्छ । त्यसो हुँदा बैशाखदेखि कर्मचारीलाई तलब खुवाउन नै नसक्ने अवस्था आउँछ । त्यसो हुँदा होटल क्षेत्रमा नराम्रो असर पर्छ ।

त्यसैले अहिले पारिश्रमिक दिने विषयमा पनि योगदानमा आधारित रहेर पारिश्रमिक दिने कि भन्ने विषयमा पनि छलफल शुरु भएको छ । जसमा सरकारको केही हिस्सा, रोजगारदाताको केही हिस्सा र स्वयम कर्मचारीको पनि योगदान हुने गरी पारिश्रमिक दिने विषयमा छलफल भएको छ ।

केही दिन अघि पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन बढावा दिनका लागि कर्मचारीहरुलाई एक महिना पर्यटन बिदा दिन सकिने बताउनु भएको छ । त्यसो भयो भने पनि आन्तरिक पर्यटनका लागि निकै फाइदा हुन्छ ।

यसका लागि कुन खालको कार्यविधि अनुसार कार्यान्वयन गर्ने हो त्यो सरकारले पक्कै पनि तयारी गरेको हुनुपर्छ ।
साथै सरकारले प्याकेज ल्याउँदा पनि साना होटल तथा ठूला होटलका लागि गरी छुट्टाछुट्टै प्याकेज ल्याउनु पर्छ जस्तो लाग्छ । यसले गर्दा व्यवसायीहरुलाई सहज हुन्छ । अहिले भाडा तिर्नदेखि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा सरकारले विशेष नीति ल्याउनु पर्छ भन्ने अहिले हाम्रो संघले माग अगाडि सारेको छ ।

यद्यपि पहिलो प्राथमिकता कोरोना भाइरस जस्तो अदृश्य शत्रुसँगको लडाइमा विजयी भएर जीवनयापन सहज बनाउँदै आर्थिक प्याकेजमा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

(होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष शाहसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु