सरकारलाई अर्थशास्त्री प्याकुरेल र क्षेत्रीको सुझावः अर्थतन्त्र उकास्न अब यसो गरौं



काठमाडौं । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र यतिबेला संकटमा फसेको छ । जसको प्रत्यक्ष वा परोक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ । जसका केही संकेतहरु देखिन थालिसकेका छन् ।

आईएमएफले पनि विश्व अर्थतन्त्रमा मन्दी छाएको बताइसकेको छ भने विश्व बैंकले पनि १ करोडभन्दा बढी रोजगारी गुम्ने प्रक्षेपण गरिसकेको छ ।

कोरोना भाइरसका कारण परेको आर्थिक संकटमा सरकारले समयमै ध्यान दिनुपर्ने अर्थशास्त्रीहरुको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार यो अवस्थामा सरकारले तत्कालीन र दीर्घकालीन योजना ल्याएर काम गर्न सुझाव दिन्छन् ।

तत्कालका लागि सरकारले आफ्ना नागरिकको सुरक्षा, उनीहरुको सहजै गासबासको व्यवस्था मिलाउन आवश्यक उनले बताए । यसका लागि स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यो बेलामा स्थानीय निकाय, प्रदेश सरकारलाई घचघच्याउन आवश्यक भएको बताए । अहिले सबैले आपूर्तीमा ध्यान दिन आवश्यक रहेको क्षेत्रीको भनाइ छ ।

‘यो भनेको गाँउगाँउमा बाली लगाउने समय हो, यो समयमा गाँउमा बारीमा मकै छर्छन्, जसमा स्थानीय निकायले सक्रियता देखाएर काम गर्न अवाश्यक छ, त्यसका लागि आवश्यक साधन र स्रोतको विषयमा पनि ध्यान जान आवश्यक छ,’ उनले भने ।

सरकारले अहिलेको अवस्थमा दीर्घकालीन समयमा पनि अर्थ व्यवस्थालाई सहज बनाउने हो भने छिटो उत्पादन हुने क्षेत्रमा लगानी गर्न आवश्यक भएको उनको भनाइ छ । जसले उत्पादन पनि वृद्धि गरोस् ।

‘३÷४ महिनामा नै उत्पादन हुने कृषिका क्षेत्रमा तरकारी उत्पादन लगायतमा ध्यान दिनु आवश्यक छ । यो अवस्थामा आयात गर्न सम्भव छैन, आयात गर्न नसक्ने भएपनि त्यसलाई धान्ने गरी उत्पादनमा जोड दिनुपर्छ,’ क्षेत्रीले भने ।

अब सरकारको ध्यान भनेको छोटो समयमा धेरै उत्पादन गर्नेतर्फ जान आवश्यक रहेको भन्दै त्यसको लागि गाउँ पस्न आवश्यक रहेको उनको भनाइ छ ।

अब सहरका मात्रै केन्द्रित भएको जनशक्तिलाई गाँउमा नै अवसर सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बेला आएको उनको भनाइ छ ।

अहिले आपूर्तीमा समस्या देखिएको खण्डमा सहकारी संस्थाको प्रयोग गर्न सकिने उनको तर्क छ ।

सहकारी संस्थाहरु पैसा जम्मा गर्नमात्रै नखुलेको भन्दै अब सरकारीहरु उत्पादन, बजारीकणमा पनि लाग्नुपर्ने भएकाले ती सहकारी संस्थाहरुलाई परिचालन गर्न आवश्यक रहेको उनले बताए ।

अब सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा झापामा २८ लताको टावर बनाउने भन्दा पनि तत्कालै पूरा हुने योजनामा बजेट दिनुपर्ने बताए ।

‘आगामी आवको बजेटमा तत्काल उत्पादन हुने क्षेत्रमा लगानी बढाउने खालको हुनुपर्छ, अब झापामा २८ तलाको टावर बनाउने बजेट काम छैन, बरु सरकारले तामाकोशी जस्ता आयोजनामा लगानी थपेर समयमा नै काम सकेपनि हुन्छ,’ क्षेत्रीले भने ।

त्यसले आत्मविश्वास बढाउने र समयमा नै आयोजना सकेको खण्डमा उत्पादनमा बृद्धि आउने उनको तर्क छ । त्यो गरेको खण्डमा अर्थतन्त्रलाई पनि फाइदा हुने र जनताको मनोविज्ञानमा पनि राम्रो प्रभाव पर्ने छ ।

आगामी आवको बजेट गफ लगाउने खालको भन्दा पनि कोरोनाले समस्यामा परेको अर्थतन्त्र जोगाउने खालको बजेट आवश्यक भएको उनको तर्क छ ।

यता अर्थशास्त्री विश्वम्भर प्याकुरेलले अहिले उत्पादनको क्षेत्र पूर्णरुपमा बन्द भएको, ११ वटा जलविद्युत आयोजना पनि बन्द भएको, पर्यटन, होटल व्यवसायमा पनि कोरोनाको धेरै असर रहेको उनको तर्क छ ।

अहिलेको अवस्थामा आइपुग्दा नेपालको अर्थतन्त्रमा कति असर पर्यो भनेर अध्ययन आवश्यक रहेको उनले बताए ।

‘आगामी ३ देखि ६ महिना स्थिति यस्तै हुने हो भने त्यसले लागत कति बढाउने हो त्यसमा पनि अनुमान गर्न आवश्यक छ,’ उनले भने ।

कानूनी, सरकारको चाहनाको कारण सामान्य पुँजीगत खर्चपनि हुन नसक्ने अवस्थामा देशको अर्थतन्त्रले नसोचेको लागत व्यहोर्ने अवस्था रहेको बताए ।

‘अहिले सरकारको राजस्व संकलन पनि घटेको छ । राजस्व संकलन हुने क्षेत्रहरु सबै बन्द छन्, यसअघि सरकारले भएको पैसा विकास निर्माणमा लगाएको भए अहिलेको अवस्थामा केही सहज हुने थियो । आगामी १, २ वर्षसम्म कुनै समस्या हुने थिएन । पैसा भएको समयमा पनि पुँजिगतको लागि छुट्याएको बजेट पुँजीगत तर्फ खर्च हुन सकेन,’ उनले भने ।

राज्यले चोहेको भए हाम्रो पनि पहिला नै विकासका संयन्त्र बन्ने भएपनि नबन्नु र अहिले कोरोनाको कारण लागत बढनुले समस्या देखिने बताए ।

उनले एक महिना समस्या भयो भन्दै समग्र देशको अर्थ व्यवस्थामा समस्या हुन्छ भन्न नमिल्ने समेत बताए ।

यहि अवस्था रहेमा हाम्रो कुल ग्राहस्थ उत्पादनमा ०.०४ प्रतिशत संकुचन आउने, मोडरेड भयो भने ०.०६ प्रतिशत संकुचन आउने, अझ विकाराल भयो भने ०.१३ प्रतिशत संकुचन आउने देखिएको छ ।

‘हचुवाको भरमा नेपालको आर्थिक वृद्धि यति प्रतिशतले घट्छ भन्ने हुँदैन । बरु अवाश्यक परेको खण्डमा अध्यादेशबाट भएपनि बजेट ल्याउने समय पर सार्नुपर्छ,’ उनले भने ।

उनको अनुसार यो बजेट अन्य सामान्य अवस्थाको जस्तो बजेट नहुने, कोरोनाले पारेको प्रभावमा लाग्ने लागत हेरेर बजेट बन्न आवश्यक रहेको बताए ।

आगामी आवको बजेटले गरिबलाई राहत दिने, बेरोजगारलाई विशेष रोजगारी दिने, वैदेशिक रोजगारीका विकल्प हुनेगरी, विदेशमा भएका नागरिकले स्वदेशमा नै रोजगारी पाउने खालको बजेट आवश्यक भएको बताए ।

कुल ग्राहस्थ उत्पादनमा २२ देखि २४ प्रतिशत योगदान दिने कृषि, साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।


पुष्प दुलाल