विदेशीलाई भन्दा कम सुविधा दिएको भन्दै निगमका २५ पाइलटले दिए सामूहिक राजीनामा



काठमाडौं । निजी वायु सेवा प्रदायक कम्पनीहरु एकपछि अर्को गर्दै सफलताको शिखरमा चढिरहेको बेला सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम भने चर्को आन्तरिक द्वन्द्वमा फसेको छ ।

ठूला विमान ल्याएर राम्रै नाफा कमाउने र सेवा विस्तार गर्ने लक्ष्य राखेको निगममा कार्यकारी अध्यक्ष र महाप्रबन्धकको विवाद थाँती लागेपछि पुनः अर्को विवाद देखिएको छ । त्यो हो ठूला र साना विमान चलाउने पाइलटको सामूहिक राजीनामा ।

विदेशी पाइलटलाई बढी सुविधा दिइ आन्तरिक पाइलटलाई पेलेको, अन्य सेवा सुविधामा समेत विभेद गरेको तथा काम गर्ने वातावरण नभएको भन्दै निगममा कार्यरत ४० जनामध्ये २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

एयरवस ३३०/२०० सिरिजका वाइड वडी विमान चलाउनेदेखि न्यारो बडी विमान चलाउने पाइलटले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सम्बोधन गरी राजीनामा बुझाएका हुन् ।

राजीनामान दिएका मध्ये १५ जना क्यापटेन हुन भने बाँकी १० जना को–पाइलट हुन् ।

काम गर्न नसकेपछि निगमका कार्यकारी अध्यक्ष मदन खरेल यही माघ १२ गतेदेखि लागू हुने गरी राजीनामा दिएर अष्ट्रेलिया उडेका छन् ।

उचित र आकर्षक गन्तव्य नपाउँदा निगमका विमान उडे पनि नियमित घाटामा छन् । भने निगमले लामो समयदेखि विमान खरिद गर्दा लिएको ऋण पनि तिर्न सकेको छैन ।

आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ वाइ १२ र एमए ६० विमान समेत करिब करिब ग्राउन्डेड नै छन् । यात्रु निगमको विमानको टिकट खोज्दै जाँदा नपाउने अवस्थामा छ ।

व्यापार सिद्दान्तले के भन्छ भने, सामान्तयाः घाटाको व्यापार गरिँदैन । त्यसमा प्रतिफल खोजिन्छ । तर निगमले भने अधिकांश समय घाटाको व्यापार गरिरहेको छ । निगमले हाल २ वटा न्यारो बडी र २ वटा वाइड बडी विमानमार्फत विभिन्न ९ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

पाइलटहरुको सामूहिक राजीनामापछि ती गन्तव्यमा उडान भर्न समेत निगमलाई ठप जटिलता पैदा हुनेछ । सामूहिक राजीनामा दिएका पाइलटहरुको एउटै गुनासो छ । कमिसनको लोभमा विदेशी पाइलटलाई बढी सुविधा दिएर हामीलाई हेला गरियो ।

निगम उच्च स्रोतका अनुसार मासिक ५० घण्टा उडान गर्ने विदेशी पाइलटले २३ लाख रुपैयाँ तलब भत्ता र सुविधा पाउँछन् । तर नेपाली पाइलटले भने मासिक रुपमा ७५ घण्टा उडान गर्दा मात्रै २ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

यसरी तलब सुविधामा विभेद गरिएको राजीनामा बुझाउने पाइलट र को–पाइलटको गुनासो छ । समानताको सिद्दान्त विपरीत आफूहरुलाई विभेदमा पारिएको उनीहरुको आरोप छ ।

निगमका उच्च स्रोतका अनुसार अरबिन्द पहाडी, श्रवण रिजाल, सुभास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्य शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्यज पौडेल, मुकेशकुमार गुप्ता, सुनिल श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचु, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका हुन् । उनीहरु सबै पाइलट हुन् ।

निगमलाई प्रभावकारी व्यवसायिक र समयक्रम अनुसार चलाउने सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पटक–पटकको सार्वजनिक अभिव्यक्ति समेत व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको सुधारका लागि निगमद्वारा माग गरिएको २० अर्ब रुपैयाँमध्ये १ रुपैयाँ पनि दिन नसक्ने बताएका थिए । निगमका तत्कालिन अध्यक्ष मदन खरेलले ऋण तिर्नका लागि सरकारले जसरी भए पनि २० अर्ब रुपैयाँ दिनुपर्ने बताउँदै आएका बेलामा प्रधानमन्त्री ओलीले निगमको वार्षिकोत्सवमै सुधार गर्न नसक्ने निगमको व्यवस्थापनलाई १ रुपैयाँ पनि दिन नसक्ने स्पष्ट पारेका थिए ।

काम गर्ला भनेर आफैले ल्याएका खरेलले सोचे अनुरुप निगमको सुधार गर्नु त परै जाओस उल्टै आफ्नो जिम्मेवारीबाट भागेर जग हसाउने काम गरे ।

नेपाली समाजमा एउटा उखान चर्चित छ, मन परेको केटो जेठाजु पर्यो । निगमका लागि खरेल त्यस्तै सावित भएका छन् ।


क्लिकमान्डु