व्यवसाय विस्तारको लागि बीमा कम्पनीले शाखा खोल्नु नपर्ने, दायरा बढाउन सजिलो



काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो शाखा नभएको ग्रामिण क्षेत्रमा पनि घुम्ती सेवा मार्फत बीमा व्यवसाय गर्न पाउने भएका छन् । बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी गर्दै बीमा व्यवसायका सञ्चालनका लागी शाखा बिस्तारै नै गर्नु पर्ने वाध्यतालाई हटाएको हो ।

बीमा समितिले ग्रामिण क्षेत्रमा कृषि तथा पशुपन्छी बीमाको दायरा विस्तार गर्ने उदेश्यले निर्जीवन बीमा कम्पनीहरुलाई क्षेत्र नै तोकेर शाखा विस्तार गर्न यसअघि नै निर्देशन दिइसकेको थियो । जस अनुसार केही निर्जीवन बीमा कम्पनीले तोकिएको क्षेत्रमा शाखा पुर्याएका भएपछि धेरै जसो कम्पनीले शाखा बिस्तार गर्न सकेका थिएनन् ।

समितिले जारी गरेको नयाँ निर्देशिकाले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शाखा बिस्तारको बाध्यता हटेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले क्लिकमाण्डूलाई बताए । ‘निर्देशिकाले व्यवस्था गरेको बीमा कभर गर्न बीमा कम्पनीका २÷३ जना कर्मचारी घरघरैमा गएर वा भेला गराएर बीमा कार्यक्रम सञ्चालन गर्न सक्छन्,’ उनले भने ‘कृषि तथा पशुपन्छीका लागि शाखा खोल्न निर्देशन दिएको क्षेत्रमा पनि अब बीमा कम्पनीहरुले घुम्ती बीमा सेवा मार्फत सेवा दिन सक्छन् ।’ शाखा विस्तार गरेर नै बीमा व्यवसाय गर्नु पर्छ भन्ने अब नरहेको उनको भनाई छ । समितिले शाखा बिस्तार गर्न तोकिएको क्षेत्रमा भने अनिवार्य रुपमा नै शाखा रहित घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिएको छ ।

समितिले जारी गरेको शाखा रहित घुम्ती बीमा सेवा निर्देशिका अनुसार बीमा कम्पनीहरुले बीमा समितिबाट स्वीकृत भएको बीमा लेख मात्र बिक्री गर्न पाउनेछन् । जस अन्तरर्गत सावधिक जीवन बीमा, म्यादी बीमा, लघु बीमा, कृषि बीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउनेछन् ।

उक्त शाखा रहित घुम्ती कार्यक्रम बीमा कम्पनीहरुले गाँउपालिकामा मात्र सञ्चालन गर्न पाउने भएता पनि जीवन बीमा कम्पनीहरुले भने महानगरपालिका वा उपमहानगरपालिका भित्रका रहका सीमावर्ती क्षेत्रमा भने घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने व्यवस्था रहेका छ ।

उक्त व्यवस्थाका कारण अब सीमावर्ती क्षेत्रमा विदेशी बीमा कम्पनीको कारोबार र प्रभाव न्यूनिकरणमा सहयोग पुग्ने समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ । ‘सीमावर्ती वडाहरुमा नेपाली बीमा कम्पनीले सेवा दिन नसकेर विदेशी बीमा कम्पनी हावि नै भएका छन्,’ उनले भने ‘अब घुम्ती बीमा सेवाले विदेशी बीमा कम्पनीलाई विस्तापित गर्न सहयोग गर्छ ।’सीमावर्ती क्षेत्रमा भारतीय बीमा कम्पनीहरुले गैर– कानुनी रुपमा त्य क्षेत्रमा बीमा ब्यवसाय सञ्चालन गरिरहेको उनले जानकारी गराए ।

बीमा क्षेत्रको विकास र बीमाको पहुँज विस्तारका लागि समितिले जारी गरेको नायाँ निर्देशिकाले ठूलो सहयोग गर्ने अजोड इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले क्लिकमाण्डूलाई बताए । ‘शाखा विस्तार नभएका क्षेत्रमा पनि तोकिएको बीमा लेख बीमा लेख बिक्री गदाँ शाखाको नयाँ शाखा विस्तारको र त्यसमा हुने खर्च घट्छ,’ उनी भन्छन् ‘बीमा कम्पनी शाखा बिना नै ग्रामिण भेगमा जादाँ बीमाको पहँज विस्ता अब २ गुनाले बढ्छ ।’ दुर्गम क्षेत्रमा बीमा बारे चेतना जगाउन शाखा रहित घुम्ती बीमा सेवाको महत्वपूर्ण भुमिका रहने उनको भनाई छ ।

हाल बीमा क्षेत्रमा जीवन र निर्जीवन बीमा कम्पनी गरेर ६ लाख २५ सय अभिकर्ताहरु कार्यरत छन् । अब बीमा कम्पनीहरुले अभिकर्ताको मार्फत नै समितिले गरिदिएको नयाँ व्यवस्थामा रहेर व्यवसाय गर्न सक्ने महालक्ष्मी लाईफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । ‘जीवन बीमा कम्पनीले पहिले देखि १ क्षेत्रको शाखा मार्फत धेरै क्षेत्रमा घुम्ती बीमा सेवा दिईरहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने ‘अब शाखा बिना नै निर्जीवन बीमा कम्पनीले ग्रामिण भेगमा गएर व्यवसाय बिस्तार गर्न सक्ने भए । शाखा रहित घुम्ती बीमा सेवाले जीवनमा भन्दा धेरै निर्जीवन बीमा कम्पनीलाई फाइदा पुगेको उनको भनाई छ ।

उक्त निर्देशिकामा रहेर बीमा कम्पनीहरुले ५ लाखभन्दा बढीको बीमा गराउन नपाउनुका साथ घुम्ती बीमा सेवामार्फत वैदेशिक रोजगारी म्यादी जीवन बीमा पनि गराउन नपाइने निर्देशिकामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु