दर्ता नखुल्दा नम्बर प्लेटमा कालोबजारी, यसकारण मिटरमा जान मान्दैनन् ट्याक्सी चालक



काठमाडौं । ट्याक्सी खाली हो ? पुतलिसडकमा रोकिराखेको ट्याक्सी चालकलाई मैले सोधे ।

जवाफ आयो, खाली नै छ, कहाँसम्म जाने ? ‘नयाँ बानेश्वर जाने’ मैले भने ।

झण्डै २ किलोमिटरको दूरीमा रहेको नयाँबानेश्वर जान ट्याक्सी चालकले ३०० रुपैयाँ माग्यो ।

मैले मिटरमा जाने, जति हुन्छ तिर्ने तर ३०० रुपैयाँ तोकेरै नजाने अडान लिए ।

अन्तिममा मलाई अस्पताल जाने हतारले ३०० रुपैयाँमै जान बाध्य भए ।

ट्याक्सीमा चढी नयाँ बानेश्वरतर्फ लाग्दै गर्दा मिटरमा नजाने चालकको अडानले उठेको रिस उठिरहेको थियो । त्यही रिस फेर्न ट्याक्सीको सिटमा बस्ने वित्तिकै सोधे ?

‘यसरी अस्पताल जाने मान्छेलाई हतार भएको थाहा पाएर लुट्न खोजेको हो ?’

ट्याक्सी चालक भन्दै थिए, मिटरमा गएर फाइदै छैन दाई । जाने भए ३०० रुपैयाँ हो । जाने–नजाने तपाईको इच्छा ।

सामान्यता राजधानी काठमाडौंमा ट्याक्सी चालक मिटरमा जान मान्दैनन् । जसको हैरानी उपभोक्ताले भोग्नु परिरहेको छ ।

आखिर किन मिटरमा जान मान्दैनन त ट्याक्सी चालक ?

यसका लागि ट्याक्सी चालकले २ वटा कारण बताए ।

१) यातायात व्यवस्था विभागले लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खुलाएको छैन । त्यसकारण नयाँ ट्याक्सी चालकले ट्याक्सी खरिद गर्दा पुरानो नम्बर प्लेट खरिद गर्नुपर्ने हुन्छ । त्यसका लागि उनीहरुले नम्बर प्लेटका लागि मात्रै ७ लाखदेखि १० लाख रुपैयाँसम्म बुझाउनुपर्छ । राजधानीमा मात्रै ९ हजार ट्याक्सी सञ्चालनमा छन् । अहिले तिनै ट्याक्सीहरु खरिदबिक्री हुँदै आएको छ । सरकारले लामो समयदेखि नयाँ मापदण्ड तोकेर ट्याक्सीको दर्ता खोल्ने भने पनि हालसम्म त्यो निर्णय भइसकेको छैन ।

२) दोस्रो कारण हो, समय समयमा हुने तेलको मूल्यमा हुने वृद्धि । लामो समयसम्म पनि भाडादरमा वैज्ञानिक मूल्य कायम नगरिएकाले यस्तो समस्या आएको हो । यदी समय–समयमा मूल्य समायोजन हुने हो भने हामीलाई मिटरमा जान समस्या छैन ।

तर ट्याक्सी चालकहरुले जे जस्तो बाहना बनाए पनि उनीहरु सकेसम्म मिटरमा जानै नपरे हुन्थ्यो भन्ने सोच्छन् । जस्तै, केही समय अगाडि ट्याक्सी चालकहरुले कम्तीमा ३० प्रतिशत मूल्य वृद्धि गर्नुपर्ने माग राखे । तर बाहनाका लागि मात्रै ।

बालाजु शेषमतिबाट केही समय अघि एयरपोर्ट जानका लागि ट्याक्सीले १ हजार रुपैयाँ माग्यो । संवाददाताले भन्यो, मिटरमा जाने हो भने ५ सय पनि उठ्दैन, किन त ठ्याक्कै दोब्बर ?

ट्याक्सी चालकहरुको भनाइ थियो, मूल्य समायोजना नभएकाले । उनीहरुको माग थियो । कम्तीमा ३० प्रतिशत बढ्नुपर्छ ।

संवाददाताले उनीहरुको माग बमोजिम मिटरमा ३० होइन ४० प्रतिशत थप दिन्छु भन्दा पनि मानेनन् ।

ट्याक्सी चालकहरु जसरी हुन्छ, पैसा कमाउने लोभमा मात्रै हुन्छन् । बरुदिनभरी चोकमा घाम तापेर बस्ने, तर छोटो दूरी र मिटरमा कतै नजाने । यस्तो लाग्छ उनीहरुले बिहानै घरबाट निस्कने बेलामा ठगी गर्ने सम खाएर निस्केका हुन् ।

कारण जे जस्तो भएपनि मारमा भने उपभोक्ता नै पर्ने गरेका छन् । ट्याक्सी चालक किन मिटरमा जान चाहँदैनन् भन्ने विषयमा खोज्दै जाँदा एउटा तथ्य फेला परेको छ ।

त्यो के हो भने पुरानो नम्बर किनबेचमा मोटो रकमको चलखेल हुने गरेको छ । त्यसलाई सरकारी निकायले पनि थाहा नपाएको जस्तै गरेर बसेको छ । यातायात व्यवस्था विभाग तथा गुणस्तर तथा नापतौल विभागले पनि ट्याक्सी चालकको मनपरी थाहा पाएर पनि थाहा नपाए झै बसेको छ ।

ट्याक्सी चालकहरुका अनुसार हाल पुरानो ट्याक्सीको नम्बर न्यूनतम ७ देखि १० लाख रुपैयाँसम्ममा किनबेच हुँदै आएको छ । जसले बढी पैसा दियो, यसैलाई पूरानो न्म्बर बेच्ने र बीच–बीचमा दलाली समेत हुँदै आएको छ ।

यो विषयमा सरकारी निकाय राम्ररी जानकार छ । तर कारवाही भएको कहिल्यै सुनिदैन । ट्राफिक प्रहरीले मिटरमा जान नचाहने ट्याक्सीको बारेमा जानकारी दिन आग्रह गर्दै आएको छ । हतारको समयमा कसले ट्राफिक प्रहरीलाई जानकारी दिएर बस्ला । ट्राफिकले १०३ नम्बरमा फोन गरेर जानकारी दिन भनेको छ । तर कारवाही भने एकाधलाई मात्रै भएको सार्वजनिक जानकारीमा आउने गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४३० वटा ट्याक्सीको नम्बर सट्टा गरिएको जनाएको छ । आर्थिक चलखेल हुने भनेकै नम्बर सट्टा पट्टा गर्दा हो ।

विभागले दिएको जानकारी अनुसार गत साउन यता मात्रै १७५ वटा ट्याक्सीको नम्बर प्लेट सट्टा पट्टा भएको छ ।

विभागलाई पनि थाहा छ, नम्बर सट्टा पट्टा गर्दा आर्थिक चलखेल हुन्छ । तर यस बारेमा आफूहरुलाई थाहा नभएको भनेर विभाग पन्छने गरेको छ ।

जसका कारण सरकारी राजश्व समेत प्राप्त भएको छैन । आधिकारिक रुपमा कोही कसैले पनि केही नबताउने भएकाले सरकारी राजश्व प्राप्त हुने कुरै भएन । जानकारहरुका अनुसार साउनयताको मात्रै हिसाब गर्ने हो भने १० करोड बराबरको कारोबार भएको छ । तर सरकारी राजश्व भने एक रुपैयाँ पनि प्राप्त भएको छैन ।

ट्याक्सी धनीका बीचमा हुने किनबेचको बारेमा विभागले कडाई नगर्दा यस्तो समस्या देखिएको हो । सामान्यता नयाँ ट्याक्सी खरिदका लागि २० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

त्यसमा ट्याक्सीको नम्बर मिलाउँदा थप १० लासम्म खर्च हुन जान्छ । त्यस आधारमा हेर्दा एउटा ट्याक्सीको मूल्य मात्रै ३० लाख रुपैयाँको हाराहारीमा पुग्छ । लगानी नै बढी भएपछि कोही पनि ट्याक्सी चालक मिटरमा जान मान्दैनन् ।

काठमाडौँ उपत्यका भित्र २०५७ सालपछि नयाँ ट्याक्सी दर्ता भएको छैन । तत्कालीन वाग्मती अञ्चल कार्यालयमा बढी सवारी भएको भन्दै सरकारले ट्याक्सी दर्ता गर्न रोक लगाएको थियो ।

पछिल्लोपटक भूकम्प पीडितलाई भने १ हजार ८०० ट्याक्सी नयाँ दर्ता गर्न दिइयो । यद्यपि ट्याक्सीको ठगी भने कायमै छ । उनीहरु आफूहरुले तिरेको बढी रकम यात्रुबाट उठाउँदै आएका छन् । राजश्व पनि नउठने, सधै यात्रु मात्रै मारमा पर्ने प्रवृत्तिलाई रोक्ने तर्फ सरकारले कुनै पनि पहल गरेको छैन ।

गुणस्तर तथा नापतौल विभागले ट्याक्सीको मिटर हेर्ने गरेको छ । मिटरको आवश्यक काम कारवाही गर्दा विभागका कर्मचारीले समेत घुस नदिई काम नगर्ने ट्याक्सी चालक बताउँछन् । त्यसो त राजधानीमा सञ्चालनमा रहेका केही ट्याक्सीले भने यात्रुलाई बिल नै प्रिन्ट गरेर दिने गरेका छन् ।


क्लिकमान्डु