बैंकिङमा डराउने होइन, चिन्तन गर्ने अवस्था आएको छः नबिल बैंकका सीइओ अनिल शाह



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋणको माग घटेको छ । असोज मसान्तसम्म आक्रामक कर्जा विस्तार गरेका बैंक तथा वित्तीय संस्थामा कात्तिक लागेसँगै कर्जाको मागमा सुस्तता आएको छ ।

कर्जाको मागमा आएको सुस्तताबारे क्लिकमाण्डूले नविल बैंकका सीईओ अनिल केशरी शाहलाई प्रश्न सोधेका थियौ । उनको जवाफ जस्ताको त्यस्तै ।

अहिले रिटेल क्षेत्रमा कर्जाको माग घटेको छ । यसमा कतिपय सरकार तथा राष्ट्र बैंकको नियमका कारण पनि भएको छ । जस्तै अटोलोनमा ५० प्रतिशत डाउनपेमेन्टको व्यवस्थाले गाडी किन्नेको संख्या घटेको छ । अटोलोनमा अहिले डिमान्ड घटेको अवस्था छ ।

सरकारले व्यवसायीलाई बैंक तथा कर कार्यालयमा एउटै विवरण दिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्यायो । अहिले कुनैपनि कम्पनी तथा फर्मले ऋणका लागि आवेदन गर्दा बैंकले कर कार्यालयबाट करमा बुझाएको विवरण हेर्नुपर्ने र एउटै भए नभएको जानकारी लिएर मात्र ऋण दिनुपर्ने व्यवस्था छ ।

जसले गर्दा केही व्यवसायी ऋण लिनका लागि अनौपचारिक क्षेत्रतर्फ जान थालेका छन् । व्यवसायमा पारदर्शीता नै आवश्यक छ । एकैपटक लागू गर्दा केही व्यवसायीमा यसले अन्यौलता देखाएको हो ।

सरकारले अथक प्रयास गर्दा पनि विकास निर्माणको काममा सुस्तता आएको छ । सिमेन्ट र डण्डी उद्योगमा अहिले सुस्तता छ । प्रदेश र स्थानीय तहले पनि विकास खर्च बढाउन जुन रफ्तारमा काम गर्नुपर्ने थियो त्यो काम नगरेको अवस्था छ ।

अहिले बैंकको ऋण प्रवाहमा कमी आयो भनेर डराउनुपर्ने अवस्था होइन । चिन्तन गर्ने समय छ । सरकारले पनि चिन्तन गरेको छ । प्रधानमन्त्रीले विकास खर्च बढाउन निर्देशन दिनु भएको छ ।

आशा गर्ने ठाउँ बाँकी नै छ । डराउने अवस्था भने आएको होइन ।


क्लिकमान्डु