मनमोहन सिंह: उदारीकरणका नायकदेखि भारतीय प्रधानमन्त्रीको यात्रासम्म



एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । यसबारे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीले जानकारी दिएको हो ।

एम्सले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार, बिहीबार साँझ आफ्नो घरमा ‘अचानक बेहोस’ भएपछि गम्भीर अवस्थामा ९२ वर्षीय मनमोहन सिंहलाई एम्सको आपतकालीन विभागमा ल्याइएको थियो ।

मनमोहन सिंह दुई पटक लगातार भारतका प्रधानमन्त्री रहनुका साथै उनको व्यक्तिगत छवि निकै स्वच्छ रहेको मानिन्छ ।

भारतमा आर्थिक सुधारको श्रेय उनलाई दिइन्छ, चाहे त्यो २००४ देखि २०१४ सम्मको उनको प्रधानमन्त्री कार्यकाल होस् वा यसअघि वित्तमन्त्रीको रूपमा उनको काम ।

मनमोहन सिंहको नाममा अर्को ठूलो उपलब्धि पनि छ । उनी जवाहरलाल नेहरूपछि लगातार दुई पटक प्रधानमन्त्री बन्ने पहिलो भारतीय थिए । उनले १९८४ को सिख विरोधी दंगाका लागि संसदमा माफी मागेका थिए । उक्त दंगामा करिब ३,००० सिखको ज्यान गएको थियो ।

प्रधानमन्त्रीको रूपमा मनमोहन सिंहको दोस्रो कार्यकाल निकै चर्चित रह्यो । यस अवधिमा भ्रष्टाचारका थुप्रै मुद्दा बाहिर आएका थिए । धेरैको धारणा छ कि ती घोटालाहरूकै कारण २०१४ को आमचुनावमा कांग्रेसले पराजय भोग्नुपर्‍यो ।

पञ्जाबमा जन्म, क्याब्रिजमा मार्टर्स

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा विभाजित भारतको पञ्जाब प्रान्तमा भएको थियो । यो क्षेत्र अहिले पाकिस्तानमा पर्दछ । पंजाब विश्वविद्यालयबाट अध्ययन पूरा गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र अक्सफोर्डबाट डी.फिल. गरेका थिए ।

उनकी छोरी दमन सिंहले आफ्नो पुस्तकमा क्याम्ब्रिजमा अध्ययनका क्रममा उनलाई आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गरेकी छिन् । दमनले लेखेकी छिन्, ‘उनको ट्युसन र बसोबासको वार्षिक खर्च लगभग ६०० पाउण्ड थियो । पंजाब विश्वविद्यालयको छात्रवृत्तिबाट उनलाई करिब १६० पाउण्ड प्राप्त हुन्थ्यो, बाँकी खर्चका लागि उनी आफ्नो बाबुमा निर्भर हुन्थे । मनमोहन सिंह अत्यन्तै साधारण र मितव्ययी जीवन बिताउँथे ।’

दमन सिंहले आफ्ना बाबुलाई ‘घरका काममा पूर्णतः असहाय’ रहेको बताउँदै, ‘उनी न त अण्डा उमाल्न सक्थे, न त टिभी चलाउन’ सक्थे भनेकी छिन् ।

सहमति जुटाउने नेता

मनमोहन सिंह सन् १९९१ मा भारतका वित्तमन्त्रीको रूपमा उदाएका थिए, जब देशको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो ।

उनको अप्रत्याशित नियुक्तिले उनको लामो र सफल करियरलाई नयाँ उचाइमा पुर्‍यायो । उनले शिक्षक, प्रशासक र सरकारका आर्थिक सल्लाहकारका रूपमा काम गर्नुका साथै भारतीय रिजर्भ बैंकका गभर्नरको जिम्मेवारी पनि सम्हाले ।

वित्तमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा उनले विक्टर ह्युगोलाई उद्धृत गर्दै भनेका थिए, ‘यस संसारमा कुनै पनि शक्ति त्यो विचारलाई रोक्न सक्दैन, जसको समय आइसकेको छ ।’

यो भाषण उनका महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमको सुरुआत थियो । उनले करमा कटौती गरे, भारतीय रुपैयाँको अवमूल्यन गरे, सरकारी कम्पनीहरूको निजीकरण गरे र विदेशी लगानीलाई प्रोत्साहन गरे ।

यसले देशको अर्थतन्त्र सुधार्न मद्दत पुर्‍यायो, उद्योग तीव्र गतिमा बढे, बढ्दो मुद्रास्फीतिमा नियन्त्रण आयो, र १९९० को दशकमा विकास दर लगातार उच्च रह्यो ।

अर्थशास्त्रीको रूपमा उदय

मनमोहन सिंहले भारतको अर्थतन्त्र सुधार्न शिक्षा र अनुसन्धानको महत्त्वलाई पहिचान गरे । उनले भारतीय रिजर्भ बैंकका गभर्नर र आर्थिक सल्लाहकारको भूमिकामा रहेर देशको आर्थिक नीति निर्माणमा उल्लेखनीय योगदान दिए ।

उदारीकरणका नायक

सन् १९९१ मा, भारत आर्थिक संकटमा परेको बेला पीवी नरसिम्हा रावको सरकारले उनलाई वित्तमन्त्री नियुक्त गर्‍यो । यो कदम अप्रत्याशित थियो, तर निर्णायक। सिंहले उदारीकरणका माध्यमबाट आर्थिक सुधारको मार्ग खोलिदिए । उनले कर कटौती, रुपियाँको अवमूल्यन, निजीकरण, र विदेशी लगानीको प्रोत्साहनमार्फत भारतीय अर्थतन्त्रलाई पुनर्जीवित गरे । उनको दृष्टिकोणले भारतलाई आत्मनिर्भर अर्थतन्त्रको दिशा दिएर विश्वव्यापी अर्थतन्त्रमा स्थापित गर्‍यो ।

एक्सीडेन्टल पीएम

मनमोहन सिंहलाई राम्ररी थाहा थियो कि उनको राजनीतिक आधार बलियो थिएन ।

उनले भनेका थिए, ‘राजनीतिज्ञ बन्नु राम्रो कुरा हो । तर प्रजातन्त्रमा राजनीतिज्ञ बन्नका लागि तपाईंले पहिले चुनाव जित्नुपर्छ ।’

तर १९९९ मा लोकसभा चुनाव जित्ने प्रयास गर्दा उनी असफल भए । तर कांग्रेसले उनलाई राज्यसभामा पठायो ।

२००४ मा पनि उस्तै अवस्था रह्यो । कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बने ।

त्यतिबेला सोनिया गान्धीको विदेशी मूलको विषयलाई लिएर प्रश्न उठाइएको थियो ।

तर आलोचकहरूले भनेका थिए कि यद्यपि मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइएको थियो, तर वास्तविक शक्ति सोनिया गान्धीको हातमा थियो ।

प्रधानमन्त्रीका रूपमा उनको सबैभन्दा ठूलो उपलब्धि पहिलो कार्यकालमा अमेरिकासँग परमाणु सम्झौता गर्नु थियो ।

यो सम्झौताले भारतलाई अमेरिकाको परमाणु प्रविधिसम्मको पहुँच बनायो ।

तर यस सम्झौताका कारण मनमोहन सिंह सरकारलाई वामपन्थी दलहरूको समर्थन गुमाउनुपर्‍यो ।

कांग्रेसले बहुमत जुटाउन संघर्ष गर्नुपर्‍यो । यस अवधिमा कांग्रेसले सांसदहरूको समर्थन किन्न पैसा खर्च गरेको आरोप लगाइएको थियो ।

मनमोहन सिंह सहमति कायम गर्नमा विश्वास गर्थे । उनले गठबन्धन सरकार चलाएका थिए, जहाँ सहकर्मी दलहरूलाई मनाउन कठिन काम हुन्थ्यो ।

यद्यपि, उनलाई उनको विश्वसनीयता र बुद्धिमत्ताका कारण पर्याप्त सम्मान प्राप्त भयो ।

उनलाई नरम व्यक्तित्वको मानिन्थ्यो र भनिन्थ्यो कि उनी निर्णय लिन सक्षम छैनन् । केही आलोचकहरूको भनाइमा, प्रधानमन्त्रीका रूपमा उनले आर्थिक सुधारको गति अघि बढाउन सकेनन् ।

मनमोहन सिंहले २००९ मा कांग्रेसलाई निर्णायक चुनावी जीत दिलाए ।

तर यो जीतको चमक छिट्टै हरायो । दोस्रो कार्यकाल भ्रष्टाचारका थुप्रै घटनाहरूका कारण विवादमा रह्यो ।

बीजेपी नेता लालकृष्ण आडवाणीले उनलाई ‘भारतका सबैभन्दा कमजोर प्रधानमन्त्री’ भने ।

यसको जवाफमा मनमोहन सिंहले आफ्नो सरकारले ‘देश र जनताको कल्याणका लागि पूर्ण प्रतिबद्धता र समर्पण’का साथ काम गरेको बताए ।

प्रधानमन्त्रीको रूपमा कार्यकाल पूरा गरेपछि पनि उनी विपक्षी राजनीतिमा सक्रिय रहे ।

२०२० मा, उनले कोरोना महामारीले अर्थतन्त्रमा पुर्‍याएको क्षतिलाई सम्बोधन गर्न तत्काल तीन कदम चाल्नुपर्ने सल्लाह दिएका थिए ।

इतिहासले उनलाई भारतलाई आर्थिक र परमाणु अलगावबाट बाहिर निकाल्ने व्यक्तिका रूपमा सम्झिनेछ ।

उनका परिवारमा श्रीमती र तीन छोरी छन् ।


क्लिकमान्डु