असारसम्म एयरपोर्ट बन्द गर्ने योजना, तोकिएको समयमा विमानस्थल विस्तार सम्पन्न नहुने
५ महिना भित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोध क्षेत्रमा काम सम्पन्न गर्न १० घण्टा विमानस्थल बन्द गरे पनि पूर्वनिर्धारित समयमा काम सम्पन्न नहुने भएपछि आगामी असारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुने भएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तोकिएको समयमा सम्पन्न नहुने भएको छ । नेपाल नागरिक उडयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार विमानस्थलभित्र भइरहेको एयरसाइड स्तरोन्नतिको काम समयमै सम्पन्न नहुने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका एक अधिकारीका अनुसार समानान्तर ट्याक्सी वेबाट धावनमार्ग जोड्ने तथा एप्रोनबाट धावनमार्ग आउने ट्याक्सी वे जोड्ने र एप्रोन ह्याङ्गरलाई धावनमार्गसँग जोड्ने काम आगामी चैत २३ गतेसम्म सम्पन्न नहुने भएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले जारी गरेको एनेक्स १४ मा विमानस्थलको धावनमार्गको मध्य बिन्दुबाट ७५ मिटरसम्मको दूरीमा अवरोधरहित क्षेत्र हुनु पर्ने व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरिएको छ ।
‘अवरोधरहित क्षेत्रमा नै काम सम्पन्न गर्न समय लाग्ने भएको छ । जसले गर्दा प्राधिकरणले वायु सेवा कम्पनीलाई आगामी अप्रिलदेखि पनि रातिको समयमा टिकट बिक्री नगर्न मौखिक जानकारी गराएको छ,’ स्रोतले भन्यो, ‘प्राधिकरणले आगामी माघ १५ गतेदेखि राति ११ बजेदेखि र बिहान ७ बजेसम्म विमानस्थल बन्द गर्ने र उक्त अवधि असारसम्म पुर्याउने तयारी गरेको छ ।’
गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो । तर, ५ महिनासम्ममा धावनमार्गबाट ७५ मिटरको दूरीमा सबै काम सम्पन्न नहुने भएपछि प्राधिकरणले विमानस्थल बन्द हुने अवधि बढाउने लागेको हो।
हाल ३ वटा निर्माण व्यवसायीले ७५ मिटरभित्रको अवरोध क्षेत्रमा काम गरिरहेका छन् । धावन मार्गमा विमान छिर्न र बाहिरिन प्रयोग हुने एक्जिट ट्याक्सी वेको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएको हो ।
‘केही दिनअघि प्राधिकरणबाट विमानस्थल बन्द हुने अवधि घटाउन लागिएको समाचार सम्प्रेषण गरिएएको थियो । हालसम्मको कामको प्रगतीको आधारमा चैतसम्ममा काम सम्पन्न नहुने भएपछि हाल १० बजे बन्द हुने विमानस्थल ११ बजेसम्म सञ्चालन गर्ने र बिहान ८ बजेदेखि खुल्ने विमानस्थल ७ बजेदेखि चलाउने तयारी गरिएको हो,’ स्रोतले भन्यो, ‘तर, नेपालमा धेरै पर्यटक आउने अप्रिल र जुनमा यो वर्ष ८ घण्टा विमानस्थल बन्द नै हुन्छ ।’
विमानस्थल लामोसमय बन्द हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उच्च अधिकारीलाई उडान तालिका व्यवस्थापन कसरी गर्ने भन्ने तनाब भएको छ ।
‘गत वर्ष प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले ५ महिनामा अवरोध क्षेत्रमा काम सम्पन्न गर्ने जानकारी गराएको थियो,’ स्रोतले भन्यो, ‘तर, धावनमार्ग र समानान्तर ट्याक्सी वे जोड्ने गरी इन र एक्जिट ट्याक्सी वे बन्न समय लाग्ने भएकाले आगामी माघदेखि असारसम्म ८ घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको हो ।’
सन् २०२० मा करिब करिब ७ अर्ब रुपैयाँमा एप्रोन निर्माणको ठेक्का लागे पनि कोरोना महामारी लगायतका कारणले समयमा काम नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ३ वर्षमा निर्माण सम्पन्न हुने गरी लागेको ठेक्काको पछिल्लो म्याद २०२५ जुलाइमा समाप्त हुँदैछ । तर, त्यस अवधिसम्म एप्रोन निर्माण नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
२०१२ मा विमानस्थलको स्तरोन्नति परियोजना ठेक्का स्पेनी कम्पनी कन्ट्रकटोरा सानजोसे पाए पनि निर्माण व्यवसायीसँगको विवादका कारण काम रोकिएको थियो । सन् २०२० मा सिंगापुरस्थित सिंगापुर इन्टरनेसनल आर्बिटेसन सेन्टर(एसआईएसी)ले नेपालको पक्षमा निर्णय गरे पछि मात्रै नयाँ ठेक्का लागेको थियो ।
यस्तै, केडिएन र सिसिइसीले ह्याङ्गर एप्रोन निर्माण गरिरहेको छ । ४ अर्ब रुपैयाँमा उक्त ठेक्का २०२१ मा लागेको थियो । तर, यो काम पनि समयमै सम्पन्न नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
समानान्तर ट्याक्सी वे तथा इन र एक्जिट ट्याक्सी वे ग्रान्सु इन्जिनियरिङले निर्माण गरिरहेको छ । ४ अर्ब रूपैयाँ लागतको यो ठेक्का सन् २०२१ मा लागेको थियो । यो काम पनि निर्धारित अवधिमा सम्पन्न नहुने निश्चित छ । प्राधिकरणका अनुसार हाल भइरहेका सबै कामहरू २०२६ सेप्टेम्बर अक्टोबरसम्म सम्पन्न हुने सम्भावना छ ।
‘अहिले अवरोध क्षेत्रमा काम गर्न विमानस्थलको सञ्चालन अवधि घटाउनु परेको हो । अवरोध क्षेत्रको काम सम्पन्न भएपछि क्रमश विमानस्थल विस्तारको काम हुँदै जान्छ,’ प्राधिकरणका अधिकारीले भने।