नेपाल टेलिकमको नाफा १ अर्ब ७३ करोड, प्रतिसेयर आम्दानी घट्यो
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (साउन–असोज) सम्ममा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । यो आम्दानी गत आव २०८०/८१ को सोही अवधिमा यो वर्ष ५८ करोड ५० लाख ५७ लाखले टेलिकमको आम्दानी घटेको छ।
गत आवको पहिलो त्रैमासमा टेलिकमले १० अर्ब ६४ करोड ८७ लाख ९२ रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी चालू आवमा ५.४९ प्रतिशतले घटेको पनि देखिएको छ ।
टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको खुद नाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजारको तुलनामा २८ करोड ७८ लाख ४१ हजार (१४.२० प्रतिशत) ले कमी घटेको छ ।
टेलिकमको चालु आवको कर अघिको मुनाफा तीन अब ५५ करोड ३६ लाख ९३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कर अघिको मुनाफा ३ अर्व ३३ करोड ९३ लाख ४३ हजारको तुलनामा २१ करोड ४३ लाख ५० हजार (अर्थात् ६.४२ प्रतिशत) ले बढी भएको टेलिकमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
टेलिकमको प्रति शेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको छ । गत आवको तुलनामा यस आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा ओभर टी टप (ओटीटी)सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवा आयमा करिब १९ करोड ४२ लाख ४४ हजारले कमी रुपैयाँले कमी आएको छ ।
समग्र भ्वाइस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको, राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेकोसहितको कारण भएको टेलिकमले उल्लेख गरेको छ ।
टेलिकमका सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन हुँदा राजस्वमा प्रतिकुल असर परेको, सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ विगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको टेलिकमको भनाइ छ
जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसक्दा टेलिकमको आम्दानी घटेको पनि उल्लेख छ । टेलिकमले मुद्दती निक्षेपमा भएको रकमलाई परिपक्व अवधि भन्दा अगाडि फुकुवा गरेर भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५७ करोड ९८ लाखले कमी आएको पनि टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले गत आवदेखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत डिफाइण्ड बेनफिट अब्लिगेसनको लागि राखिएको डिफाइण्ड बेनिफिट एसेट्समा चालु आवमा ९ अर्ब १ करोड रकम छुट्टाएर राखेको छ । नेपाल लेखामान १९ कर्मचारीको हित अनुसार एक्यिरयल भ्यालुएसन गराई खर्च लेखांकन गराएको छ ।