‘एकै दिनमा युद्ध रोक्ने’ घोषणा गरेका ट्रम्पले कहिले गराउलान् रुस-युक्रेन शान्ति वार्ता ?
उत्तर कोरियाका शासक किमसँग पहिलो पटक हात मिलाएका ट्रम्पले अफगानिस्तानबाट पनि अमेरिकी सेना फिर्ता गरेका थिए । यसपटकको चुनावअघि बारम्बार भनिरहेका थिए, ‘युक्रेन युद्ध एक दिनमै रोक्नसक्छु’ । तर उनले भने झैं सजिलो छ त युद्ध रोक्न ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रतिष्पर्धा गरिरहेका पटक पटक एउटा विषयमा बोलिरहेका थिए । त्यसबेला रुस र युक्रेनका दुबै नेतासँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दै आफूले एकै दिनमा युक्रेन युद्ध रोक्नसक्ने उनको जिकिर थियो ।
चुनावअघि ट्रम्पले युक्रेनका नेता भोलोदोमिर जेलेन्सकीसँग भेटवार्ता पनि गरेका थिए । तर युक्रेन युद्ध कसरी अन्त्य गर्ने भनेर विस्तृत योजना भने उनले दिएका थिएनन् ।
तैपनि एउटा तहमा धारणा के थियो भने ट्रम्पले युद्ध रोक्नसक्छन् । यस्तो धारणा कसरी पनि विकास भइरहेको थियो भने, डेमोक्रेट्स पार्टी र पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रुसलाई रोक्न युक्रेनलाई अर्बौं डलर खर्च गरिरहेका बेला ट्रम्पले त्यसको विरोध गरिरहेका थिए ।
तर अब समय आएको छ, के ट्रम्पले युक्रेन युद्ध साँच्चिकै रोक्नेछन् ? राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले यसबारे केही प्रतिक्रिया भने दिएका छैनन् । जवकि उनका निकटस्थ अधिकारी र सहयोगीहरुले भने युक्रेन युद्ध रोक्ने विषयमा टिप्पणी गर्न थालेका छन् ।
ट्रम्पका एक पूर्ववरिष्ठ सल्लाहकार ब्रायन लन्जाले हालै बीबीसीसँगको अन्तर्वार्तामा युक्रेनबारे दिएको प्रतिक्रियाले तरंग पैदा गरेको छ । ब्रायनले युक्रेनको गुमेको भूमि फिर्ता ल्याउनुको सट्टा शान्ति स्थापना गर्न आफूहरुको ध्यान केन्द्रित हुने बताएका थिए । ब्रायन तिनै व्यक्ति हुन् जसले राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको चुनावी रणनीति बनाएका थिए ।
ब्रायनले भनेका छन्,’यदि युक्रेनले क्राइमिया भूमिलाई फिर्ता लिने अडान राखिरहन्छ भने त्यो सम्भव छैन । उसले शान्ति स्थापनाका लागि क्राइमियालाई माया मार्नु पर्ने हुन्छ । यदि युक्रेनले क्राइमिया फिर्ता लिने अडान राखिरहन्छ भने यसको अर्थ उ गम्भीर छैन भन्ने बुझिन्छ ।’
यस्तै ट्रम्प प्रशासनले युक्रेनका राष्ट्रपति जेलेन्सकीलाई व्यवहारिक शान्तिको विकल्पबारे सोध्नसक्ने पनि ब्रायनले भनेका छन् । ब्रायनको यस्तो प्रतिक्रियालाई ट्रम्पका एक प्रवक्ताले खारेज गर्दै भनेका छन्,’लन्जालाई नवनिर्वाचित राष्ट्रपतिको तर्फबाट कुरा गर्ने अनुमति छैन ।’
ट्रम्पका दुई निकट व्यक्तिहरुको यो विरोधाभाषपूर्ण टिप्पणीलाई लिएर आम चर्चाको विषय बनिरहेको छ । जवकि युक्रेनको भूमि क्राइमियालाई रुसले २०१४ मा नै कब्जा गरेको थियो । त्यसको ८ वर्षपछि २०२२ को फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध विशेष अभियान सुरु गर्दै युद्ध युद्ध छेड्यो । यसबीचमा रुसले युक्रेनको धेरै भूभाग कब्जा गरिसकेको छ । हाल युक्रेनले वार्ताका लागि १० वर्षअघि कब्जा भएको क्राइमिया भूमि पनि फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।
अब अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यही चुनौती छ । के उनले भने झैं एकै दिनमा युद्ध समाप्त हुन सक्छ त ? जवकि युक्रेन युद्धको विषयमा ट्रम्पका सल्लाहकारहरुबीच नै साझा धारणा छैन । ट्रम्पले भने युक्रेन युद्धको नाममा अमेरिकाले धेरै खर्च गरिसकेको र यसले अमेरिकालाई पनि युरोपको तुलनामा धेरै नोक्सान भइसकेको बताउँदै आएका थिए । सैन्य सहायतासहित अर्बौं रकम खर्च गरिरहेको अमेरिकाले अब त्यो नोक्सान बेहोर्न नहुने ट्रम्पको भनाइ रहँदै आएको थियो ।
तर उनकै प्रवक्ताले भने यसबारे प्रष्ट छैनन् । अर्कोतर्फ २०१६ र २०२४ को चुनावी अभियानमा ट्रम्पका वरिष्ठ राजनीतिक सल्लाहकार बनिसकेका ब्रायन लन्जाले युक्रेनको अडान रोक्न सुझाव दिँदै शान्ति वार्ताका लागि दबाब दिने संकेत गरेका छन् । यतिसम्म कि उनले युक्रेनको गुमेको भूमि फिर्ता गर्नु अमेरिकाको लक्ष्य नरहेको पनि बताएका छन् ।
‘जेलेन्सकीले जब क्राइमिया फिर्ता पाएपछि मात्रै हामी युद्ध रोक्नेछौं भनेर भन्छन् भने त जेलेन्सकीका लागि हाम्रो लागि एउटा खबर छ-क्राइमिया हातबाट फुत्किसकेको छ,’ ब्रायनले बीबीसी विश्व सेवासँगको अन्तर्वार्तामा भनेका थिए । यदि युक्रेनले क्राइमियालाई लिएर युद्ध गरिरहने हो भने उसले अमेरिकाको सहयोग नपाउने र उसले एक्लै युद्ध लडिरहनुपर्ने पनि ब्रायनको चेतावनी थियो ।
तर अमेरिकी सैनिकहरु युक्रेनमा युद्ध लडिरहेका भने छैनन् । न त युक्रेनले अमेरिकी सैनिकलाई युद्ध लड्न बोलाएको नै छ । यद्यपि अमेरिकासँग युक्रेनले हतियारसहितका सैन्य सम्बन्धी सहयोग मागिरहेको छ । र अमेरिकाले पनि युक्रेनलाई सहयोग गरिरहेको छ ।
ब्रायनले युद्धमा जितका लागि देखाउने नभएर शान्तिका लागि देखाउनु पर्ने पनि सुझाव दिएका थिए । यसका लागि उनले एक इमानदार वार्ताको लागि पनि आह्वान गरेका थिए । ब्रायनको यस्तो टिप्पणी आइरहँदा ट्रम्पले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
न त यो प्रतिक्रिया ट्रम्पको आधिकारिक धारणा नै हो । यसका बावजुद ट्रम्पका निकट सल्लाहकार र रिपब्लिकन पार्टीका चुनावी रणनीतिकारको रुपमा चिनिएका ब्रायनको प्रतिक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
युक्रेनको प्रतिक्रिया
यसैगरी जेलेन्सकीका सल्लाहकार दिमित्री लिटभिनले लन्जाको टिप्पणीबारे बताएका छन् । उनले शान्तिका लागि युक्रेनमाथि दबाब दिइएको भन्दै ब्रायनको प्रतिक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूहरुले युद्ध चाहेको नभएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नै युद्ध चाहेको उनको प्रतिक्रिया छ ।
झडपमा सबैभन्दा धेरै रुसका मानिसहरुले ज्यान गुमाएको र यसबाट रुसले नै युद्ध चाहिरहेको बुझिने लिटभिनको दाबी छ । उनले शान्ति प्रस्ताव आफूहरुले गरिरहेको तर रुसले नै स्विकार नगरेको पनि उनको दाबी थियो । साथै शान्ति आवश्यक रहेको र दीगो हुनुपर्ने पनि उनले बताएका छन् ।
रुसले के भन्यो ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकाबाट आएको नयाँ संकेतलाई सकारात्मक भन्दै प्रशंसा गरेका छन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पले शान्ति वार्ता गराउनसक्ने प्रतिक्रिया दिएका छन् । नयाँ राष्ट्रपतिले कम्तीमा शान्ति वार्ताको कुरा गरिरहेको भन्दै पुटिनका प्रवक्ताले ट्रम्पप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
त्यसो त ट्रम्पको विजयसँगै युक्रेन सशंकित देखिएको छ भने रुसका अधिकारीहरुले खुसी व्यक्त गरिरहेका छन् । यसका लागि ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा रुस वा युक्रेनको विरुद्ध प्रतिक्रिया नदिएर युद्ध रोक्ने बताइरहेका थिए । ट्रम्पको यही व्यवहारबाट रुसी नेता प्रभावित देखिन्छन् । ट्रम्पको जितप्रति रुस यसर्थ पनि खुसी छ कि अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहयोग अब ट्रम्पले रोक्नेछन् ।
ट्रम्प तिनै नेता हुन् जसले अमेरिकी इतिहासमै पहिलो पटक उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए । पहिलो कार्यकालमा ट्रम्पले किमसँग दुई पटक भेटेर संक्षिप्त कुराकानी गरेका थिए ।
यसबाहेक ट्रम्पले पहिलो कार्यकालमा अफगानिस्तान युद्ध रोक्दै अमेरिकी सेना फिर्ता गरेका थिए । फलस्वरुप यतिबेला पनि अफगानिस्तानको तालिबान सरकारले ट्रम्पको विजयप्रति खुसी व्यक्त गर्दै दुई देशबीच सम्बन्ध सुध्रने अपेक्षा गरेको छ । यस्ता व्यवहारले ट्रम्पलाई युद्ध रोक्नतर्फ अग्रसर बनाउने अपेक्षा गर्न सकिन्छ । तर उनका लागि चुनाव अगाडि गरेका घोषणा पालना गर्नुपर्ने समय अब आइसकेको छ ।