लक्ष्मी पुजाको दिन प्रणालीको पिक डिमाण्ड १०० मेगावाटले घट्यो, किन ?
काठमाडौं । यो वर्षको लक्ष्मी पुजाको दिन १६०२ मेगावाट आन्तरिक पीक डिमाण्ड पुग्यो । प्राधिकरणले पीक आवरमा २५३ मेगावाट बढी भएको बिजुली भारत निर्यात गर्यो । यसरी यो वर्षको लक्ष्मी पुजाको दिन समग्र प्रणालीको पीक डिमाण्ड १८५५ मेगावाट पुगेको छ ।
यो गत वर्षभन्दा १०० मेगावाटले कम हो । गत वर्षको लक्ष्मी पुजाको दिन १९५५ मेगावाट पीक डिमान्ड पुगेको थियो । गत लक्ष्मी पुजाको पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो ।
यो वर्ष किन घट्यो त माग ?
यसका दुईवटा कारण छन् । पहिलो कारण असोज दोस्रो साता आएको बाढीले ४५६ ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो । गत वर्ष ५१७ मेगावाट निर्यात गरेको नेपालले अहिले २५३ मेगावाट मात्रै निर्यात गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टर प्रमुख चन्दन घोषले बाढीले क्षति पुर्याएका कारण भारतमा यो पटक थोरै मात्रै निर्यात गर्न सक्ने यस्तो देखिएको बताए । उनका अनुसार आन्तरिक माग भने बढिरहेको छ ।
अर्कातिर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद भएपछि करिब २०० मेगावाट बिजुली खपत हुने उद्योगको लाइन काटिएको छ ।
प्राधिकरणले गएको अघिल्लो बिहिबार राती ३४ वटा उद्योगको लाइन काट्यो । जसमा १४ वटा उद्योगको भने पहिलो किस्ताको बक्यौता तिर्न थालेपछि लाइन जोडिएको छ ।
विवरण | लक्ष्मीपूजा १५ कात्तिक २०८१ | लक्ष्मीपूजा २६ कात्तिक २०८० |
नेपाल विद्युत् प्राधिकरण (जलाशययुक्त बाहेक) | ३९९ मेगावाट | ४२६ मेगावाट |
विद्युत प्राधिकरणका सहायक कम्पनी | ८९ मेगावाट | ५२२ मेगावाट |
निजी क्षेत्र | १३०४ मेगावाट | ९९७ मेगावाट |
विद्युत प्राधिकरण (जलाशययुक्त) | ६२ मेगावाट | १६ मेगावाट |
निर्यात | २५३ मेगावाट | ५१७ मेगावाट |
राष्ट्रिय प्रणालीको पिक डिमाण्ड (निर्यातबाहेक) | १६०२ मेगावाट | १४३८ मेगावाट |
प्रणालीको पिक डिमाण्ड (निर्यातसहित) | १८५५ मेगावाट | १९५५ मेगावाट |
काठमाडौं उपत्यकाको विद्युत् माग | ३९० मेगावाट | ३६६ मेगावाट |
प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्णरुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् निर्यात भइरहेको छ । विद्युत्को खूद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खूद निर्याकर्ता बनेको छ ।
लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युतगृहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।