वायुसेवा निगमको घट्दो आम्दानी बढ्दो खर्च: प्रतियात्रु आम्दानी २४ हजार मात्रै !



सरकारी वायुसेवा कम्पनीको आम्दानी र यात्रु उडान गत वर्षभन्दा यो वर्ष खस्किएको छ । निगमसँग भएको दुईवटा वाइडबडी जहाजमध्ये पालैपालो दुबै ग्राउण्डेड भइरहेको कारण यो वर्षको साउन र भदौमा निगमको क्षमता कमजोर हुन पुगेको हो । गत वर्षको तुलनामा निगमको आम्दानी उल्लेख्य रुपमा घटेको छ भने खर्च बढीरहेका कारण जति धेरै जहाज ग्राउन्डेड हुन्छ निगमलाई त्यति नै धेरै आर्थिक व्यवस्थापन मिलाउन सकस पर्ने भएको छ ।

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानबाट प्रतियात्रु औषतमा २४ हजार आम्दानी गरिरहेको छ । निगमले सार्वजनिक गरेको एक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा निगमले अन्तर्राष्ट्रिय उडानमा ६७ हजार ६३५ यात्रुलाई सेवा दिएको छ । यात्रुबाट निगमले १ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।

वायुसेवा निगमले पछिल्लो दुई महिनामा अन्तर्राष्ट्रिय उडानबाट गरेको यस्तो आम्दानीमध्ये साउनमा ९० करोड २ लाख ३८ हजार रुपैयाँ टिकेटबाट संकलन गरेको छ । यसका लागि निगमले साउन महिनामा अन्तर्राष्ट्रिय उडानमा ३९ हजार १५ यात्रुलाई सेवा दिएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि भदौमा यात्रुबाट संकलन गरेको आम्दानी ६८ करोड ९७ लाख रुपैयाँ थियो । निगमले भदौमा अन्तर्राष्ट्रिय उडानमार्फत २९ हजार ९७१ यात्रुलाई सेवा दिएको थियो ।

वायुसेवा निगमले गत साउन र भदौमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट गरेको अम्दानी भने १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। यो आम्दानीका लागि निगमले पछिल्लो दुई महिनामा ७६ हजार अन्तर्राष्ट्रिय यात्रु, ११ सय आन्तरिक उडानका यात्रु तथा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा दिएको कार्गो सेवाबाट गरेको आम्दानी भएको उल्लेख छ ।

निगमले पछिल्लो दुई महिनामा गरेको आम्दानीको महत्वपूर्ण स्रोत अन्तर्राष्ट्रिय उडानका यात्रुको टिकेट नै हो । यसमा ग्राउण्ड ह्याण्डेलिङको आम्दानी जोडिएको छैन । निगमले नेपालमा सेवा दिइरहेको इण्डियन एयरलाइन्स बाहेक सबै विदेशी वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङको सेवा दिइरहेको छ । निगमको ग्राउण्ड ह्याण्डलिङमार्फतको आम्दानी वार्षिक करिब ५ अर्बको हाराहारीमा पुग्ने निगमकै अनुमान छ ।

निगमको आम्दानी ५५ करोडले घट्यो
नेपाल वायुसेवा निगमको चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा उल्लेख्य रुपमा घटेको छ । निगमको आम्दानी यो वर्ष ५५ करोड रुपैयाँले घटेको छ ।

गत वर्ष निगमले साउन र भदौमा २ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको थियो भने यो वर्षको सोही अवधिमा जम्मा २ अर्ब ६४ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । निगमले यात्रुको टिकेटिङ तथा कार्गो उडानबाट गरेको यस्तो आम्दानीसँगै यात्रु उडानको संख्या पनि घटेको छ ।

निगमले गत वर्षको साउन र भदौमा ९४ हजार यात्रुलाई सेवा दिएको थियो भने यो वर्ष जम्मा ६८ हजारलाई मात्रै उडाएको तथ्यांकमा उल्लेख छ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान कमजोर रहेको, अन्तर्राष्ट्रिय उडानका जहाज एकैपटक दुइ वटा बिग्रिएर मर्मतमा पठाएको र निगमसँग जहाजको संख्या नै कम भएको कारण यात्रु उडानको क्षमता तथा आम्दानी बढाउन नसकेकको पनि नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमसँग भएको दुईवटा वाइडबडी जहजामध्ये दुबै जहाज मर्मतका क्रममा इटली गएकोले साउन र भदौमा यसले उडानै गर्न नपाएको वायुसेवा निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले बताए । उनले भने ‘कमाउने र यात्रु बढी बोक्ने दुबै जहाज मर्मतमा जाँदा न्यारोबडीको मात्रै भर पर्नुपरेकोले पनि साउन र भदौमा यात्रु क्षमतासँगै आम्दानी घटेको हो ।’

निगमको एन एएलवाई कलसाइनको ए३३० अन्नपूर्ण नामको एउटा वाइडबडी असार ८ मा सिचेकका लागि इटली गएको थियो । उक्त जहाज २ महिनापछि मात्रै काठमाडौं आएको थियो । निगमको एउटा वाइडबडी नआइपुदै अर्को वाइडबडी १२ भदौमा सिचेककै लागि इटली गएको छ । उक्त जहाज एक महिनामा आइपुग्ने भनेपनि अहिलेसम्म काठमाडौं फर्कने समय तय नभएको वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमका अनुसार एकैपटक दुईवटै वाइडबडी नभएको र न्यारोबडीले यो वर्षको सुरुवातदेखि नै धान्नुपरेको कारण साउन र भदौमा गत वर्षभन्दा कम यात्रुले सेवा पाएको पनि निगमका प्रवक्ता रमेश पौडेलले बताए । निगमको भदौ २९ मा मात्रै काठमाडौं आएको एक वाइडबडी जहाज तीन थन्किएर आइतबारबाट मात्रै उडान गन थालेको पौडेलले बताए ।

ए३३० अन्नपूर्ण नामक उक्त जहाजले अधिक इन्जिन खपत गर्न थालेका कारण मर्मतमा रहेको थियो । यो वर्ष असार ८ पछाडि २ वटा वाइडबी एकैपटक उड्न नपाएको र एउटा उड्दा अर्को मर्मतमा रहेकोले पनि यसको असर यात्रु उडान र आम्दानीमै पर्ने पनि पौडेलेको बुझाइ छ ।

निगमसँग रहेको ४ वटा जहाजमध्ये दुईवटा न्यारोबडी जहाज नियमिति उडानमा छन भने अर्को एक वाइडबी सिचेकको क्रममा इटलीमै भएको हुँदा यो जहाज आउन जति ढिलो हुन्छ निगमको आम्दानीमा त्यति नै असर पर्ने भएको छ।

वायुसेवा निगमको क्षमता कमजोर हुनुमा नेतृत्व कमजोर भएको आरोप पनि लागिरहेको छ । निगमको नेतृत्व गरिरहेको युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको छ । अधिकारीलाई सरकारले यस अघि नै हटाइसकेको भएपनि अदालतको आदेशका कारण उनको पद थमौती भइरहेको छ ।

निगमले उडान सुरक्षामा कमजोरी गरेको भन्दै नियामक निकाय समेत असन्तुष्ट छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई हवाई उडानसम्बन्धित कुनै निर्णय गर्न नपाउने गरी कारवाही स्वरुप एकाउन्टेबल म्यानेजरबाट हटाएको छ । तर अधिकारीले नियमित कार्यसम्पदान भने गर्दै आएका छन् ।


क्लिकमान्डु