चीनलाई सन्तुलनमा राख्दै भारतसँग बलियो आर्थिक सम्बन्ध बनाउँदैछ अस्ट्रेलिया
६४ खर्ब ५२ अर्ब ६ करोड ४० लाख रुपैयाँको दुईपक्षीय व्यापारका बीच भारतले अस्ट्रेलियामा व्यापार कार्यालय खोल्दैछ
एजेन्सी। विश्व अर्थतन्त्रमा बलियो प्रभाव जमाउन थालेको भारतले अस्ट्रेलियामा व्यापार कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ । हालै भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले अस्ट्रेलियाको सिड्नीमा व्यापार कार्यालय खोल्ने घोषणा गरेका छन् ।
यो कदमले भारत र अस्ट्रेलियाबीच बढ्दो आर्थिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । उद्योगमन्त्री गोयलको अस्ट्रेलिया भ्रमणको क्रममा यस्तो कदम चालिएको हो । जहाँ उद्योगमन्त्री गोयलले अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डन फेरेलसहित केही नेताहरुसँग भेटवार्ता गरेका थिए ।
फेरलसँग भेटवार्तापछि संयुक्त प्रेस सम्मेलनमा नयाँ ट्रेड कार्यालय घोषणा गरिएको हो । सिड्नीमा खुल्ने यो कार्यालयले भारतीय र अस्ट्रेलियाका व्यवसायीहरुबीच व्यापार, लगानी र पर्यटनलाई बढाउने पुलको रुपमा काम गर्ने पनि अपेक्षा गरिएको छ ।
कार्यक्रममा इनभेस्ट इन्डिया अर्थात् लगानी भारत, नेशनल इन्डस्ट्रीयल कोरिडोर डेभलपमेन्ट कर्पोरेसन (एनआईसीडीसी), एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कर्पोरेसन (ईसीजीसी) र भारतीय उद्योग परिसंघ (सीआईआई)का प्रतिनिधि पनि सहभागी थिए । कार्यक्रममा व्यापार कार्यालयले लगानी साथै पर्यटन र प्रविधिको सहयोगलाई पनि बढाउने विषयमा छलफल भएको थियो ।
पियुष गोयलले भनेका छन्, ‘हामी व्यापार, लगानी, पर्यटन र प्राऔधोगिक क्षेत्रमा आफ्नो साझेदारीलाई तीब्र रुपमा बढाइरहेका छौं । र यसका लागि सिड्नीमा एक व्यापार कार्यालय खोल्ने घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’
भारत-अस्ट्रेलिया व्यापार सम्बन्धमा तीब्रता
भारत र अस्ट्रेलियाले पछिल्लो केही वर्षयता आफ्नो आर्थिक सम्बन्धलाई बलियो बनाइरहेका छन् । २०२२ को नोभेम्बरमा भएको आर्थिक सहयोग र व्यापार सम्बझौताबाट दुई देशबीच व्यापारमा लगातार वृद्धि भएको छ ।
गोयलका अनुसार हाल भारत र अस्ट्रेलियाबीच ४८ अर्ब अमेरिकी डलर (६४ खर्ब ५२ अर्ब ६ करोड ४० लाख रुपैयाँ)को दुईपक्षीय व्यापार रहेको छ । आगामी ५ वर्षमा यसको लगभग १०० अर्ब डलरसम्म पुग्ने सम्भावना रहेको छ ।
साथै दुई देशबीचको आर्थिक सहयोग तथा व्यापार सम्झौतालाई व्यापक आर्थिक सहयोगमा रुपान्तरण गर्ने विषयमा पनि काम भइरहेको बताइएको छ । जसले दुबै देशले एकअर्कालाई बजारमा पहुँच दिने अपेक्षा गरिएको छ।
यस्तै अस्ट्रेलियाका व्यापार मन्त्री डन फेरेलले भनेका छन्, ‘भारतको अर्थव्यवस्था विश्वका देशहरुमा सबैभन्दा तीब्र रुपमा बढेको छ । र भारत आफ्नो आर्थिक सम्बन्धलाई थप बलियो बनाउन उत्सुक देखिएको छ । हाम्रो व्यापार सम्झौता दुबै देशका लागि नयाँ रोजगार हो । व्यापारिक अवसरहरु तथा उपभोक्ताहरुका लागि कम खर्चको लाभ दिइरहेको छ ।’
दुबै देशले सेवाहरु, प्रधौगिकी र लगानीको क्षेत्रमा पनि सहयोग बढाइरहेका छन् । गोयलका अनुसार भारत र अस्ट्रेलिया आफ्नो मौजुदा सम्झौतालाई व्यापक आर्थिक सहयोग सम्झौताो रुपमा विकसित गरिरहेका छन् । जसले व्यापारिक अवरोधहरुलाई थप खुकुलो बनाउनुका साथै बजारको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
‘मेक इन इन्डिया’ र ‘मेक इन अस्ट्रेलिया’
गोयलले मेक इन इन्डिया र मेक इन अस्ट्रेलिया कार्यक्रमहरुका बीच सम्भावित साझेदारीमाथि पनि छलफल गरेका थिए । उनले दुबै देशले आफ्नो घरेलु निर्माण क्षमतालाई थप बढाउन ध्यान केन्द्रित गरेको पनि गोयलले बताएका थिए । साथै एक अर्का मिलेर प्रविधि आदान प्रदान र व्यापारिक अवसरहरुलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको गोयलले बताए ।
चीनसँग सम्बन्ध सन्तुलित गर्ने प्रयास
अस्ट्रेलियाले भारतसँग व्यापारिक सम्बन्ध बलियो बनाइरहँदा चीनसँगको सम्बन्ध पनि सन्तुलित गरिराखेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जिम चामर्स यसै साता चीनको यात्रामा जाँदै छन् । र उनको चीन भ्रमणलाई पनि दुई देशबीच सम्बन्धलाई सन्तुलित बनाउने प्रयासको रुपमा अर्थ्याइएको छ ।
त्यसो त पछिल्लो ७ वर्षको अवधिमा अस्ट्रेलियन मन्त्री चीन भ्रमणमा गएको यो पहिलो अवसर हो । र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शान जिएसँग अस्ट्रेलिया-चीन रणनीतिक आर्थिक वार्ताको सहअध्यक्षता गराउने चामर्सको उद्देश्य हो ।
चामर्सले ब्रिसबेनमा पत्रकारहरुसँग भनेका थिए, ‘यो हाम्रो आर्थिक साझेदारीलाई स्थिर गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।’ यद्यपि २०२० मा चीन र अस्ट्रेलियाबीच सम्बन्ध बिग्रिएको थियो । जतिबेला अस्ट्रेलियाले कोरोना महामारीको उत्पत्तिबारे परीक्षण गर्नुपर्ने माग गरेको थियो । तर २०२२ मा एन्थोनी अल्बानिजी अस्ट्रेलियाको प्रधानमन्त्री बनेपछि दुई देशबीच सम्बन्ध सुधार भयो।
यस वर्ष चीनका प्रधानमन्त्रीले अस्ट्रेलिया भ्रमण गरे । चामर्सको यो भ्रमणलाई पनि सम्बन्ध सन्तुलित गर्ने दिशामा एक कदम अगाडि रहेको बताइन्छ ।
चीन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध सुधार गर्नका लागि पछिल्लो ७ वर्षमा पहिलो पटक वार्ता आयोजना हुन लागेको पनि हो । अस्ट्रेलियाको यो प्रयास यस्तो समयमा हुँदैछ जतिबेला उ भारतसँग पनि आफ्नो आर्थिक सम्बन्ध तीब्र रुपमा अगाडि बढाइरहेको छ ।