लकडाउनपछि चर्चामा आएको नेपालको ‘बाहुबली’ झरना, जो कोहीलाई लोभ्याउँछ



काठमाडौं । ‘बाहुबली’ झरनाको नामले परिचित काभ्रेपलान्चोक तीनधारे झरना अहिले चर्चामा छ ।

काठमाडौंबाट तीन घण्टामै पुग्न सकिने यो रमणीय झरनाले आन्तरिक पर्यटकहरुलाई तानिरहेको छ । अरु दिनमा १०० जनासम्म पुग्ने यो झरनामा बिदाका दिन आन्तरिक पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजधानीबाट युवायुवती ठूलो संख्यामा यो झरनामा रमाउन पुग्छन् ।

यो झरना काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-२ काफलडाँडा नजिकै पर्छ ।  ‘तीनधारे झरनामा पुग्न काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरी पार गर्नुपर्छ ।  काफल डाडाँसम्म गाडी र मोटरसाइकलबाट पुग्छ सकिन्छ । त्यहाँबाट आधा घण्टा हिँडेपछि झर्नासम्म पुग्न सकिन्छ । यो झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खलामा रहेको छ ।

यात्रा केहि कच्ची सडक र हिँडाइका कारणले हुने थकान एकैपटक झरनाको मनमोहक दृश्यले मेटाउँछ । ३०० मिटरमाथिबाट झर्ने आकर्षक झरनाको दृश्यले मोहित बनाउँछ । यो झरनाले जो कोहीलाई लोभ्याउन सक्छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कोरोना भाइरसका कारण लक डाउन (बन्दाबन्दी) थियो । सोही बेला स्थानीयले सामाजिक सञ्जालमा यो झरनाको फोटो र भिडियोहरु हालेका थिए । त्यसपछि भाइरल भयो । लकडाउन खुलेपछि धेरै आन्तरिक पर्यटकहरु यो झरनामा पुगे ।

उनीहरुले फोटो र भिडियोहरु सामाजिक सञ्जालमा सेयर गरे । त्यसपछि देशब्यापी रुपमा यो झरना भाइरल बनेको थियो । यो भारतीय सुपरहिट चलचित्र बाहुबलीमा देखाए जस्तै झरनाको दृश्य भएका कारण यसलाई नेपालको बाहुबली झरना भनेर नाम दिइएको हो । झरना भने विस २०२८ सालमा नै पहिचान भएको थियो ।

तीनधारे ‘बाहुबली’ झरना अहिले आन्तरिक पर्यटकहरुको आकर्षणमा परेको छ । आन्तरिक पर्यटकको संख्या बढेसँगै रोशी गाउँपालिकाले यो झरनामा पुग्ने पूर्वाधारको निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पछिल्लो समय आन्तरिक पर्यटकहरु बढिरहेको बताए ।

‘रोशी गाउँपालिकाको एउटा नारा छ, रोशीको दृष्टी पर्यटन र कृषि । पर्यटनलाई प्रवर्धन गरेर गाउँपालिका बासीको आम्दानी बढाउन सकिन्छ भनेर बढेका छौं ,’ उनले भने, ‘गाउँपालिकाभित्रका सम्भावित पर्यटकीय स्थलहरु पहिचान गरेर तीनमा पूर्वाधारको विकास गर्ने योजनाका साथ काम गरिरहेको छौं । तीनधारे झरना गाउँपालिकामा पहिचान भएको एउटा प्रमुख पर्यटकीय स्थल हो ।’

‍गाउँपालिकाले झरना हेर्न आउनेको संख्या बाक्लिन थालेपछि झरनासम्म पुग्ने बाटोको रेलिङ बनाएको छ । ‘सकेसम्म गाउँपालिकाले यहाँसम्म आइपुग्ने बाटो बाह्रै महिना चल्ने कसरी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौं । पानी परेपछि अवरुद्ध भयो भने पनि तत्कालै बाटो खुलाउने गरेका छौं, उनले भने, ‘ गाउँपालिकाको आपतकालीनको कोषको पैसा प्रयोग गरेर बाटो खुलाउने गरेका छौं । ताकी कोही झरनामा आउन खोज्नेहरु बाटैबाट फर्कन नपरोस् ।’

झरनासम्म पुग्नेहरुका लागि बस्ने अहिले होम स्टेहरु बनिसकेका छन् । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न होम स्टे तालिम नै सञ्चालन गरेको थियो ।  ‘४/५ वटा होम स्टे सञ्चालनमा छन् । हामीले झरनासम्म पुग्ने सिढी बनाउन लागेका छौं । विश्रामस्थल र शौचालय निर्माण गरिरहेका छौं । नुहाउनेहरुका लागि कपडा चेन्ज गर्न चेन्जिङ रुम बनाएका छौं,’ उनले भने, ‘ हामीले नुहाउने र पानीमा रमाउनेहरुका लागि झरना नजिकै पोखरी निर्माण गर्न लागेका छौं ।’ १२ महिना नै पर्यटकहरु आउन सक्ने बनाउन लागेको बताए ।

यो झरनामा हिउँदमा भने पानी घट्छ । कृत्रिम रुपमा पानीको बहाव नघट्ने विषयमा समेत गाउँपालिकाले अध्ययन गरिरहेको छ । तर यो महँगो हुने भएकाले तत्कालै जान सक्ने अवस्था छैन् । ‘हिउँदमा पानी घट्छ । हिउँदमा पानी धेरे सानो हुदैन । हेर्न  लायक र नुहाउने मिल्ने हुन्छ ,’ उनले भने, ‘मानिसहरु यस्ता दृश्यहरु हेर्न टाढा टाढा मानिसहरु जाने गरेका छन् । तर यो त नजिकै छ । हामीले यसलाई थप व्यवस्थित गरेर प्रवर्द्धन गर्नुपर्छ।’

गाउँपालिकाले झरनासम्म पुग्ने गेट निर्माण गर्न लागेको छ । बाटो व्यवस्थित बनाउन लागेको छ । झरनालाई आकर्षक गन्तव्यको रुपमा विकास गरेपछि मात्रै शुल्क लिने व्यवस्था गर्ने तयारीमा गाउँपालिका छ । ‘अहिले निशुल्क छ । व्यवस्थित भएपछि मर्मतका लागि हुने गरी थोरै मात्र शुल्क लिने योजना छ । शुल्क लिदा विवाद हुने अवस्था छ ।’

प्रसिद्ध धार्मिक स्थल नमोबुद्ध यो झरना जाने बाटोमा पर्छ । तीनधारे झरनाभन्दा माथि  स्थानीय रुपमा  प्रसिद्ध तारा खसे लेक छ । २५०० मिटरमा रहेको यो लेकमा जनै पूर्णिमा मेला लाग्छ ।  गाउँपालिकाले पर्यटकीय स्थल महाभारत पदमार्ग निर्माण गरिरहेको  छ ।

बाहुबली झरनाका कारण स्थानीयले रोजगारी पाएका छन् । स्थानीय उत्पादनले बजार पाएको छ । स्थानीय रुपमा उत्पादन हुने फापर,हरियो मकै, काक्रोले बजारमा पाउन थालेको हो । झरनामा रमाएर फर्कनेहरुले लैजाने गरेका छन् ।


दिनेश खड्का