चीनमा बढ्दै सम्बन्ध बिच्छेद, फस्टाउँदैछ डिभोर्स अर्थतन्त्र



एजेन्सी । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षहरुमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत घट्दो क्रममा रहेको छ । सरकारी तथ्यांकले के देखाउँछ भने वार्षिक रुपमा २०१३ मा विवाह गर्नेको संख्या लगभग १ करोड ३० लाख रहेकोमा २०२२ मा आइपुग्दा ७० लाखभन्दा कममा झरेको छ ।

चीनको तथ्यांक विभागले सार्वजनिक गरेको यो तथ्यांकले १९८५ पछिकै सबैभन्दा थोरै विवाह भएको देखाउँछ । गत वर्ष भने यो तथ्यांकमा केही मात्रामा वृद्धि देखिएको थियो । अर्थात २०२३ मा विवाहको संख्या ८० लाख पुगेको थियो । तैपनि पछिल्ला वर्षहरुमा देखिँदै गरेको आम प्रवृत्तिलाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच, सम्बन्ध विच्छेदको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । २०१९ मा डिभोर्स गर्नेको संख्या ४७ लाख थियो । जुन तथ्यांक दुई दशकअघिको तुलनामा दुई गुणा बढी हो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको सरकारले भने यो अवस्थालाई सुधार्न विभिन्न प्रयास गरिरहेको छ । विशेषगरी जोडीहरुलाई डिभोर्स गर्नुअघि विभिन्न मापदण्ड पूरा गर्नुपर्ने जस्ता प्रावधान पनि चिनियाँ सरकारले ल्याउन थालेको छ ।

२०२१ मा सरकारले नयाँ कानुन ल्याउँदै डिभोर्स गर्नुअघि उक्त जोडी ३० दिनको ‘कुलिङ अफ’ अवधिमा जानु पर्ने प्रावधान बनाएको छ । यस्तो प्रावधानले छोटो समयका लागि अस्थायी रुपमा डिभोर्समा केही गिरावट देखाए पनि २०२३ मा फेरि २५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

विशेषगरी आम चिनियाँहरुको जीवनमा देखिएका यी दुई परिवर्तनले समग्र चीनमा जनसांख्यिक संकट निम्त्याइरहेको बताइन्छ । जहाँ सुस्त अर्थतन्त्र, तीब्र रुपमा बढिरहेको बुढ्यौली जनसंख्या र दशकौंदेखिको एक सन्तान नीतिपछि सन्तान जन्माउने महिलाहरुको संख्यामा पनि कमी देखिएको छ ।

‘डिभोर्स इकोनोमी’

यसरी डिभोर्सको प्रवृत्तिसँगै चीनमा पछिल्लो समय युवाहरुमा विवाहप्रतिको अवधारणामा परिवर्तन आउन थालेको छ । अर्थात् विवाह गर्न र परिवार बनाउन नचाहने युवाहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको विभिन्न तथ्यांकले देखाएका छन् ।

जवकि चिनियाँ समाजमा डिभोर्स गर्नुलाई कलंक मानिन्थ्यो । र अब भने जसले विवाह गर्छ उसका लागि छुटिन पनि पहिले झैं मुस्किल हुने छैन । यसरी सांस्कृतिक रुपमा देखिएको यस्तो परिवर्तनसँगै चीनमा डिभोर्सलाई लिएर विभिन्न व्यवसायहरु पनिसञ्चालन हुन थालेका छन् ।

जस्तो कि सरकारी कार्यालयहरु अगाडि छुटिने जोडीहरुलाई खुसीसाथ सँगै राखेर अन्तिम फोटो खिचिदिने तथा डिभोर्सीहरुका तनाब झगडा जस्ता भावहरुलाई समेटेर तस्बिर खिच्ने पनि प्रचलन बढेको छ । आर्थिक आम्दानीको यस्तो तरिकालाई पनि पेशा बनाउन थालिएको छ ।

कतिपयले त सम्बन्धबिच्छेद गरेको प्रमाणपत्रमा हस्ताक्षर गरिरहेको तस्बिर वा डिभोर्स सर्टिफिकेटलाई सामाजिक सञ्जालमा सेयर गर्दै आफू स्वतन्त्र भएको प्रमाण सार्वजनिक गर्ने गरेका हुन्छन् । सरकारी कार्यालयहरु अगाडि यस्ता गतिविधिलाई कतिपय मानिसहरुले तस्बिर खिचिदिएर व्यवसाय नै चलाउने गरेका छन् । र यो क्रमश व्यवसायको रुपमा अगाडि आइरहेको बताइन्छ ।

चिनियाँ सामाजिक सञ्जालमा कतिपय व्यक्तिहरुले त सम्बन्धविच्छेदलाई उत्साहको रुपमा मनाउँदै तस्बिर सार्वजनिक गर्ने पनि देखिन्छ । यस्तोमा ती सम्बन्धविच्छेद गर्ने जोडीहरुका पुरानो विवाहको स्मृति चिन्ह वा विवाह झल्काउने तस्बिरहरुलाई औपचारिक रुपमा हटाउन कम्पनीहरु नै खुलेका छन् ।

त्यस्ता कम्पनीहरुले सम्बन्धबिच्छेदको क्रममा पुराना विवाहका प्रमाण वा चिन्हहरुलाई हटाउने काम गर्छन् ।

सीएनएनमा प्रकाशित समाचार अनुसार राजधानी बेइजिङभन्दा ६० माइल टाढा डिभोर्स फ्याक्ट्रीको रुपमा एउटा कम्पनी छ। जसले विवाह सम्बन्धी गोप्य तथा साझा चिन्हहरु हटाउने गर्छ । भावुक बनाउनसक्ने चिह्न वा विवाहका प्रमाणहरु नष्ट गर्ने काम गर्छ ।

यसरी सेवा दिए वापत उक्त कम्पनीले ८ देखि २८ अमेरिकी डलरसम्म चार्ज लिने गरेको छ । २०२१ मा एउटा समूहले खोलेको यो कम्पनीको हाल व्यवसाय अत्यधिक रुपमा व्यवसाय फस्टाएको छ । कम्पनी यति फस्टाएको छ कि कम्पनी खोलेदेखि हालसम्म २ हजार ५ सय जोडीहरुको विवाहका तस्बिर नष्ट गरिसकेको उक्त कम्पनीले जनाएको छ ।

यसरी सम्बन्धबिच्छेदका घटना बढ्नु र यसलाई उल्लासकै रुपमा मनाउनुलाई कतिपय विज्ञहरुले निजी स्वतन्त्रता र आफ्नो करिअर डेभलपमेन्टसँग जोडेर पनि हेर्न थालिएको छ ।


क्लिकमान्डु