सहकारीले सेवा शुल्क लिनु शोषण हो, कर छुट लिएर नाफा केन्द्रित हुन मिल्दैन: पूर्वअर्थमन्त्री डा खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थाले सदस्यसँग सेवा शुल्क लिनु शोषण भएको बताएका छन्। सहकारीले लिने ब्याज आफैंमा सेवा शुल्क भएका कारण सहकारीले थप सेवाशुल्क लिनु शोषण भएको उनले बताए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सहकारी समस्या र समाधान उपाय सम्बन्धी विचार गोष्ठीमा डा खतिवडाले सहकारीलाई नाफा खोज्ने संस्थाको रुपमा विकास नगर्न आग्रह गरे । सदस्यको हितमा काम गर्ने हो भने नाफा कम लिनुपर्ने उनको भनाइ छ ।

सहकारीले कर छुट लिएर व्यवसाय गर्ने अनि नाफा लिने प्रवृत्ति गलत भएको उनले बताए ।

सहकारीमा आएको पैसा सबै शुद्ध नभएको भन्दै उनले सबै पैसा दिन सरकार बाध्य हुनु नपर्ने धारणा राखे । स्रोत नखुलेको बचत राज्यले जफत गर्नु पर्ने उनको भनाइ छ ।

बैंकिङ प्रणालीमा ६० खर्ब पुगेपछि १२ खर्ब जतिको मात्रै बिमा रहेको र त्यसको जिम्मेवार राज्य भएको भन्दै उनले अरु रकममा विश्वास रहेको उल्लेख गरे ।

उनले बैंक तथा वित्तीय संस्थाको लगानी घर जग्गामा हुन थालेपछि आफू योजना आयोगमा हुँदा यस्तो लगानीमा कडा गरेपछि सहकारी खोलेर फाइदा उठाउन थाल्नेहरु बढेको बताए ।

प्लटिङ गर्नेहरु सहकारी खोल्न लाग्दा समस्या भएको उनको भनाइ छ ।

कोरोना पछिको दोस्रो मौद्रिक नीतिमा कडाइ भएपछि सहकारीमा समस्या देखिन थालेको उनले स्मरण गरे । बैंकमा समस्या पर्यो भने राष्ट्र बैंकले विभिन्न विधि अपनाएर रेस्क्यु गर्छ, तर सहकारीको ५ लाख उठेन भने आसपासका धेरै सहकारीमा समस्या हुने उनको भनाइ छ ।

सहकारी ऐन ढिला आउनु, नियमन नहुनु मुख्य समस्या भएको उनको बुझाइ छ ।

बेलैमा सहकारी सुरक्षणकोष भएको थियो भने अहिलेको अवस्था नआउने उनको तर्क छ । यसका लागि छुट्टै संस्था चाहिने उनले बताए ।

अहिले सहकारी सहकारी जस्तो नभएर फाइनान्स जस्तो भएको उनले बताए ।

सहकारीमा संगठित भएर चुनाव जित्न सक्नु राम्रो भएको भन्दै उनले नेतृत्व विकास हुनु राम्रो भएको बताए । कयौं सहकारीमा समस्या आए पनि महिलाले चलाएको सहकारी राम्रोसँग चलेको उनको भनाइ छ।

सहकरीलाई राम्रोसँग चलाउने हो भने छुट्टै नियामक चाहिने र हाल भएको सहकारी विकास बोर्ड खारेज गर्नुपर्ने खतिवडाले बताए ।

मानव बेचबिखन, चेलिबेटी बेचबिखन, हातहतियार, खरखजाना बाहेकमा काममा सहकारी लाग्दा समस्या बढेको उनले उल्लेख गरे । सहकारीका बचतकर्ताको आयस्तर बढाउन घर जग्गामा लगानी गर्न दिँदा अहिले समस्या आएको उनको बुझाइ छ । खतिवडाले अब सहकारीले यो यो काम गर्ने भनेर तोक्ने बेला नभएको बताए ।


क्लिकमान्डु