विचरा कार्यकर्ताः राजनीतिक दलका सदस्यको उपादेयता र उनीहरूको मनोवैज्ञानिक संकट
नेपालमा संगठित पार्टी कार्यकर्ताहरुको संख्या हेर्दा अचम्म लाग्न सक्छ । तीन ठूला राजनीतिक दलका संगठित कार्यकर्ताको संख्या करिब २५ लाख पुगेको ती दलहरुको तथ्यांकले बताउँछ ।
सबैभन्दा ठूलो संख्यामा कार्यकर्ता रहेको दल नेपाली कांग्रेस, दोस्रो ठूलो संख्यामा कार्यकर्ताहरु रहेको दल ने.क.पा. (एमाले) र तेस्रो ठूलो ठूलो संख्यामा कार्यकर्ताहरु रहेको दल ने.क.पा. (माओवादी केन्द्र) हुन् । तथ्यांक अनुसार नेपाली कांग्रेसको सदस्य संख्या ८ लाख ७० हजार(अनलाइन खवर, २०२३), नेकपा (एमाले)को सदस्य संख्या ८ लाख ५५ हजार( गोरखा पत्र, २०२२) र नेकपा (माओवादी केन्द्र)को कूल सक्रिय सदस्य संख्या ७ लाख ५० हजार (गोरखा पत्र, २०२२) रहेको देखिन्छ । यसको पुष्टि सम्बन्धित पार्टीहरुको आधिकारिक तथ्यांकबाट पनि हुने नै छ ।
यसैगरी राष्ट्रिय दलहरु रास्वपा, राप्रपा र मधेश केन्द्रित दललगायत अन्य राजनीतिक दलहरुको समेत सदस्य संख्या जोड्ने हो र यदी त्यो संख्या सही हो भने सक्रिय र संगठित पार्टी सदस्यको संख्या करिब ३० लाख पुग्नेछ । यो संख्याको अर्थराजनीतिक प्रभाव मुलकमा कस्तो पर्न सक्छ ? भन्ने विश्लेषण अब हुनु पर्दछ ।
यस आलेखमा म दुईवटा विषयमा प्रकाश पार्ने छु । पहिलो, गणतन्त्रमा संगठित कार्यकर्ताहरुको उपादेयता र दोस्रो तिनीहरुको मनोवैज्ञानिक संकट ।
डारोन एसिमग्लु र जेम्स रबिन्सनले सन् २०१२ मा एउटा निकै राम्रो पुस्तक लेखेका छन् । जसको नाम हो, राष्ट्र किन असफल हुन्छ (ह्वाइ द नेसन्स फेल)? उक्त पुस्तकमा स्पष्ट शब्दमा एउटा राष्ट्र कसरी असफल हुन्छ ? भन्ने कुरालाई तथ्य परक ढंगले प्रस्तुत गरिएको छ ।
यो परिस्थितिमा एउटा संदेह छ, कतै नेपाल असफल हुने त होइन । एउटा व्याक्ति आफ्नो जीवनमा आर्थिक रुपले असफल हुन पनि सक्छ । पछारिएर फेरि उठ्न सक्छ तर उसको धर्ती कुनै पनि हालतमा असफल हुनु हुँदैन । आफ्नो धर्ती पछारियो भने कोही पनि फेरि उठ्न सकिँदैन भन्ने कुरा प्यालिस्टिनहरुबाट र पछिल्लो समयमा युक्रेन घटनाबाट सिक्नु पर्ने हुन्छ ।
जहाँसम्म राजनीतिक दलहरुका संगठित सदस्यहरुको संख्याबारे प्रश्न छ, यो संख्याको उपादेयतालाई राष्ट्रको सापेक्षतामा हेरिनु पर्दछ । मुलुक विदेशीको कब्जामा छ वा सिमानामा युद्ध चलेको छ वा मुलुकमा तानाशाही शासन विद्यमान छ वा मुलुकमा व्यापक पुर्ननिर्माणका काम चलिरहेका छन् र अझ धेरै वर्षसम्म यसो गर्नु आवश्यक छ या त्यस्तै अन्य विपत्तिहरु आइलागेको छ भने युवा जनशक्ति वा आफ्नो पार्टीको आदेशमा मैदानमा उत्रने लाखौं कार्यकर्ताहरु आवश्यक पर्न सक्छ ।
चीनमा माओले जापान लगायत विश्वका ११ मुलुकले कब्जा गरेको विशाल चीनलाई स्वतन्त्र गराउन लाखौं कार्यकर्ता सहभागी गराएर लंगमार्च अभियान चलाए । भारतमा माहात्मा गान्धीको अगुवाइमा अंग्रेज लखेटने अभियानमा ठूलो पैमानामा यस्तो संगठित संख्या आवश्यक पर्यो ।
नेपालमा पनि २००७ साल, २०४६ साल र २०५२ देखि २०६३ सालसम्म राजनीतिक अभियानमा(शान्तिपूर्ण वा सशस्त्र) संगठित सदस्य परिचालनबाटै सुरु गरिएको थियो । २०७२ को भुकम्प वा त्यस पछिका प्राकृतिक प्रकोपमा सुरक्षा फौज र संगठित कार्यकर्ताबाट राहत तथा पुर्ननिर्माण अभियान अगाडि बढाइयो । यस प्रकार राष्ट्रको सापेक्षतामा संगठित सदस्य वा संगठित युवा आवश्यक पर्दछ ।
जब राष्ट्र एउटा स्वभाविक गतिमा अगाडि बढी रहेको हुन्छ, सम्पूर्ण नागरिक आर्थिक गतिविधीमा लाग्नु पर्ने हुन्छ । यस्तो समयमा गैर उत्पादनमूलक गतिविधिमा वा निष्क्रिय रुपमा यति ठूलो संगठित शक्ति राखिराख्दा त्यो शक्ति विध्वंशमा लाग्न पनि सक्छ । जनशक्ति (इनर्जी) त परिवर्तन र रुपान्तरणको साधन हो तर इनर्जीको कुनै विवेक हुँदैन । विवेकशील नेतृत्वले सो ऊर्जालाई सही ठाउँमा लगायो भने त्यसले निर्माण गर्दछ अन्यथा ध्वंस तिर लाग्न पनि सक्छ ।
आगो, पानी, वायु जस्ता प्राकृतिक शक्तिहरुमा विवेक हुन्छ ? यी शक्तिहरुले गरिबलाई केही नगर्ने अत्याचारीलाई मात्र नाश गर्ने भन्ने हुँदैन ।
हतियारले आफैं मानिसहरुलाई छानिछानि गोली हान्दैन । हतियार चलाउनेको विवेकमा बन्दुकको उपादेयता देखा पर्दछ । तर हतियारको सही व्यवस्थापन आवश्यक पर्दछ । जसरी हतियारवालाको हतियार हुनुको उन्माद कुनै बेला पोखिएर सर्वनाश निम्त्याउँछ त्यसै गरी यो जनशक्तिको उन्मादले राष्ट्रमा विनाश पनि ल्याउन सक्छ ।
हुटु र तुत्सी जातिको आपसी द्धन्दका कारण रुवाण्डाले महासंकट बेहोरी राखेको हामीलाई हेक्का छँदैछ । एउटै भाषा, धर्म र परम्परामा हुर्केर पनि त्यहाँ महावितण्डा चलिराखेको छ ।
जहाँसम्म नेपाली राजनीतिक दलहरुको कुरा छ, उनीहरुले पालेका संगठित शक्तिले विस्तारै राष्ट्रमा मुठभेड निम्त्याउने काम गर्न सक्नेतर्फ विवेकी नेतृत्व चलाख हुनु पर्दछ । हिटलरले गरेको यही हो । एउटा व्यक्तिको सनकले विश्वले कति ठूलो मूल्य चुकाउनु पर्यो । यो शक्तिको आडमा राजनीतिक दलहरु पनि तनाशाह बन्दै जान सक्छन् ।
निर्वाचन प्रकृयाबाट आएपनि अत्यधिक शक्तिको उन्मादबाट शेख हसिना जस्तो अटेरी शासक बन्ने मार्ग तय हुन पनि सक्छ । यस्ता संगठित सदस्यबाट विवेक प्रयोग नहुने कारण प्रजातन्त्र वा गणतन्त्रमाथि पनि खतरा हुन सक्छ । यसबाट देश गृह युद्धमा होमिन सक्छ । देशमा आर्थिक गतिविधीको वातावरण विधोलिन पुग्दछ ।
सम्बन्धित दलहरु भित्र शक्ति आर्जन गर्न समेत यो शक्ति दुरुपयोग हुँदै आएको हामी देखिराखेका छौं । दलका नेताहरु काबिला नेता वा युद्ध सरदार बनाउने काममा पनि यो शक्तिको दुरुपयोग हुँदै आएको छ । गणतन्त्र वा प्रजातन्त्र एउटा देखाउने नारा जस्तो बनाउने पनि यो शक्ति नै हो ।
अतः पार्टीहरु फुटाउने, बुथ कब्जा गर्ने, आर्थिक अराजकता फैलाउने र जनतामा आतंकको वातावरण बनाउन यो शक्तिको ठूलो भूमिका रहन्छ । जे गरे पनि तपाईं महान भनेर नेतृत्वलाई देवत्वकरण गर्ने र व्यापक अवसरको खोजिमा भौंतारिइ रहने यो शक्तिको पहिचान हो । यिनीहरुलाई पाल्न राजनीतिक दलहरुले गर्ने गैर कानूनी कामहरु पनि राष्ट्र सिध्याउने कारक हुन सक्छ ।
हामी देखिरहेका छौं त, फरक फरक सरकारहरुले आफ्ना पालामा गरेका गैर कानूनी र राष्ट्रघाती निर्णयमा समेत यो शक्तिले आँखा चिम्लेर समर्थन गरिदिन्छ । यसैको साहारामा पार्टी भित्र र देशमा गणतन्त्र संकटमा परिरहेको देखिन्छ ।
पछिल्लो समयमा यो शक्ति निकै बदनाम पनि भएको छ जसलाई ‘हनुमान’ नाम दिइएको छ । तर हनुमान यस्तो ठाउँमा प्रयोग गर्दा स्वयं हनुमान जी र मर्यादा पुरुष भगवान रामको समेत अपमान हुनजान्छ ।
बरु झोले भन्ने शब्दलाई ठीकै मान्न सकिएला ।
अब के गर्ने त ?
राजनीतिक दलहरुमा आन्तरिक प्रजातन्त्रको वातावरण निर्माण गर्नको निम्ति नयाँ पुस्ताले निश्वार्थ पहल गर्नुपर्दछ । देश या दल रोज्नु पर्ने समय आएको छ । ‘ह्वाइ दि नेसन्स फेल ?’ भन्ने पुस्तकमा उल्लेख भए जस्तै देशलाई समाप्त पार्ने यात्रालाई अब रोकिनु पर्दछ ।
आफ्ना दलहरुलाई ‘क्याडर बेस्ड पार्टी’ (कार्यकर्तामा आधारित राजीनितक दल)बाट मास बेस्ड पार्टी (आम सर्वसाधारणमा आधारित राजीनितक दल)मा रुपान्तरण गरिनु पर्दछ । आफ्ना संगठित सदस्यहरुलाई अहिलेसम्म गरेको योगदानको कदर गर्ने कार्य योजना निर्माण गरी कुनै आय आर्जनका कामतर्फ स्थानान्तरण गरिनु पर्दछ । पार्टीलाई विज्ञताको आधारमा, दृष्टिकोणको आधारमा र योजनाको आधारमा अगाडि बढाउने परम्परा सुरु गरिनु पर्दछ ।
मसल पावर र क्याडरको आधारमा निरंकुशतातर्फ देशलाई अगाडि बढाउन सकिन्छ भन्ने विचारकै कारण नयाँ पुस्तामा देश प्रति नै वितृष्णा पैदा हुँदै गएको र साधन र स्रोतको अकुशल वितरणबाट अर्थतन्त्र विस्तारै शिथिल हुँदै जाने कुरा विभिन्न अनुसन्धानहरुबाट पत्ता लागेको छ ।
जति बढी प्रजातन्त्र( गणतन्त्र) त्यति बढी आर्थिक विकास र जति बढी प्रजातन्त्र त्यति सुन्दर संस्थागत संरचनाहरु र जति बढी उन्नत संस्थागत संरचनाहरु त्यति तीब्र स्थीर आर्थिक विकास यो विश्वव्यापी रुपमा नै पुष्टि भएको तथ्य हो ।
राजनीतिक दलहरुले जनता जनताबीचको एकतामा भन्दा पनि उनीहरुलाई अलग अलग गर्नमा बढी आनन्द लिने वा फाइदा लिने प्रवृत्ति देखिएको छ ।
जातको आधारमा, धर्मको आधारमा, क्षेत्र र लैङ्गिक आधारमा जनतालाई एकताबद्ध गर्ने भन्दा वरु आफ्नो राक्षसी स्वभावबाट बसिभूत भएर दलहरुले विभाजनकारी आवाजमा रमाउने गरेको देखिन्छ ।
विगतका निर्वाचनहरुमा (स्थानीय, प्रादेशिक तथा संघीय) दलहरुले तालमेल गरेर वा पार्टी एकता गरेर निर्वाचनमा सहभागी हुँदा ती दलहरुमा आवद्ध कार्यकर्ताहरुको सहृदयता र प्रेम निकै सुखदायी देखिन्थ्यो । यस्तो लाग्थ्यो वर्षौंदेखि विछोड भएका साथीहरुको पुर्नमिलन भएको छ ।
सँगै खाने सँगै अभियानमा जाने सँंगै सुत्ने भएका कारण तिनीहरुमा गज्जबको मनोभाव विकास भएको देखिन्थ्यो । जब निर्वाचन सम्पन्न भयो, सरकारहरु बने पुनः नेताहरु विभाजित भए । कार्यकर्ता फेरि निराशा र फेरि कुण्ठा र अविश्वासको कालो बादलले ती निर्वाचनकालीन खुसीलाई गर्लम्मै ढाकिदियो । यो कसले गर्यो? पार्टीहरुले । अब बोलचाल, लेनदेन र भातृत्व सब गायब ! ‘बोलिस् भने कारबाही गरिन्छ’ । सिद्धियो ।
संगठित कार्यकर्ताको पिडा विचित्रको छ । मरि मरि खाई नखाई नेतालाई जितायो, निर्वाचित भयो भने मैले खर्च गरेर भोट किनेर जितेको हुँ भने जस्तो व्यवहार देखिने । हार्यो भने मलाई जिताएका हौ र ? भने जस्तो व्यवहार देखिने । पछि अवसर पाइएला भनौं भने पार्टी भित्र योग्यता भन्दा पनि निकटताको बढी महत्व हुने । अनि निकटमाको मापन पैसाले गर्ने भए पछि पार्टीमा मेरिटोक्रेसी कसरी चल्छ ?
न पार्टीमा मेरिटोक्रेसी बन्यो न सरकारी संरचनामा । इमान्दार कार्यकर्ताको यो पिडा घर र छिमेकमा छरपष्ट देखिए पछि युवाहरु विदेश पलायन हुने लहर बढेको हो ।
कार्यकर्ताहरुको पिडा यतिमै रोकिँदैन । आफ्नो नेता जब बोल्छ, उसले आगो मात्र ओकल्छ । बोलिमा न लक्षिन छ न दृष्टिकोण, न उर्जा त न देश जोड्ने पाइन । छ त पुरा नै प्यार प्यार र दलगत र गुटगत दुर्गन्ध ।
नेताको यस्तो बोली र व्यहारबाट इमान्दार कार्यकर्ताका बाबु आमा र छोरा—छोरी समेत सन्तुष्ट हुँदैनन् । नाता गोता त परैका भए । अनि २१ औं शताब्दीमा देशलाई जुरुक्क उचालेर क्षितिजसम्म पुर्याउने कसले ?
विचरा कार्यकर्ता । बोल्न पनि सक्दैन, विद्रोह गर्न पनि सक्दैन । विद्रोेह गरे बथानबाट निकालिएको एक्लो बाँदरको चाल हुने डर, विद्रोह नगरे मुख देखाउनै नसकिने ।
मानिलिउँ तपाईले भोट दिँदै आएको दलको नेताले राष्ट्रघाती सम्झौता गरेको प्रमाण छ, तर तपाई घोसे मुण्टो लगाएर जय जय कार गर्न अभिशप्त हुनु हुन्छ । अहिलेका नाम चलेका मुख्य एक दर्जन जति काण्डका नाइके को हो भन्ने कुरा प्रत्येक बच्चा बच्चालाई थाहा छ, तर तपाईंलाई मुख खोल्न गाह्रो छ ? अनि तपाईंको सन्तानले नै सराप्ने गरी के को राजनीति गरेको ? यस्तो पनि राजनीति हुन्छ ? यो त निकृष्ट नीति भएन र ? आफ्नो देशको विरुद्ध, जनताको विरुद्ध र मानवताको विरुद्ध हुने कुकृत्य गरेर अकूत सम्पत्ति कमाउने, आजिवन हसुरी रहने नेतागणको आसुरी प्रवृत्ति विरुद्ध बोल्न पनि सकिँदैन, लाग्छ तिनकोे जमीर (अन्तर आत्मा) मरिसकेको हो । यदि जमीर नै मार्ने काम राजनीतिमा हुन्छ भने तपाई सही गर्दै हुनुहुन्छ ?
यसरी हेर्दा पुराना इमानदार कार्यकर्ताको विजोग छ । शिर ठाडो पारेर फलानो मेरो पार्टीले देशमा कायापलट गर्यो, यति लाख रोजगारी सृजना भयो, यति उद्योगहरु खुले, यति विश्व विद्यालयहरु बनाइए, यति अस्पतालहरु बनाइए, यति मानिसहरु गरिवीको रेखा भन्दा माथि ल्याउन सफल भइयो, साक्षरता र मृत्युदरमा यति सुधार भयो भनेर गर्व गर्ने लायक काम गरेको छैन ।
न त विदेशसँग राम्रो कुटनीति छ न राष्ट्रिय छवि उच्च छ । देशमा मेरो पार्टीको पालामा सुशासनमा यति सुधार भयो, आन्तरिक तथा समग्र राष्ट्रमा प्रजातान्त्रिक अभ्यासको यस्तो नमूना काम भयो । अहँ केही छैन । नेताहरु कार्यकर्तालाई दास सम्झन्छन् । मन्त्री भएपछि फोन उठाउँदैन । पैसा जसले दियो उसैलाई लाभको पद सुम्पिन्छ । पार्टीमा आवद्धता र योगदानको कुनै मूल्य हुँदैन, अनि के को कार्यकर्ता ?
हिजोसम्म आन्द्रा बटारिने गरी गाली गरेको विपक्षी नेतालाई आज माला लगाउने लाइनमा बन्नु पर्ने बाध्यता छ कार्यकर्ताको । नेताले न नियमकानून मानेको छ न समाजिक मूल्य परम्परा नै, अनि लाज लाग्नु पर्ने कार्यकर्तालाई ।
कार्यकर्ता त गाउँगाउँमा आम जनतासँग सहकार्य गर्नु पर्ने जो परे, नेताले त भोग्नु पर्दैन त्यो पिडा । गाउँको छलफल वा सभासम्मेलनमा गयो, नेताले नशाको तालमा बोले जसरी फ्याट्ट केही बोलिदिन्छ, अनि मानिसले मुटु छेडिने गरी च्वास्स च्वास्स पार्छन । विचरा कार्यकर्ता !
स्वतन्त्र नागरिक वा विदेशीने युवाले झोले र हनुमान भनेर घोचेको घोचै हुन्छन्, सुन्नै पर्यो । विचरा कार्यकर्ता ! पिडै पिडाको सिरानी बनाएर यो दुई दिनको जिन्दगीलाई धकेल्नु परेको छ । न आफ्ना नेताले बुझ्छन न सरकारले न आम मतदाताले बुझ्छन यो पिडा ।
निष्कर्षमा भन्नु पर्दा राजनीतिक दलहरुमा संगठित सदस्य ठूलो हुनुको डकारले देशमा अनिष्ट निम्त्याउँन सक्छ । अब निष्ठा र नीतिको आधारमा मतार्जन गर्ने मास बेस्ड पार्टी हुनु राम्रो हो ।
हामीलाई थाहा छ अहिलेका कुनै पनि नेतृत्वबाट सम्भव यो सुधार सम्भव छैन तर पनि आगामी दिनमा फरक सोच र योजनाकासाथ देशलाई नेतृत्व दिन सकिएन भने ह्वाइ द नेसन्स फेल ? भन्ने घटना हाम्रो भूमिमा घट्न सक्छ, त्यसको निम्ति प्रत्येक दलहरुमा नयाँ सोंच र संकल्पको विजारोपण हुनु आवश्यक भै सक्यो ।
देशमा झाँगिदै गएको वित्तिय अराजकता, दण्डहिनता र विचौलिया राजको अन्त्य नभई टालटुले कुराले केही हुनै सक्दैन । जब देशमा अस्थिरता बढछ, आर्थिक रुपले देश कमजोर हुन्छ, युवाहरु पलायन हुदै जान्छन, देशको राष्ट्रिय सुरक्षा कमजोर हुन पुग्दछ ।
देशको राष्ट्रि सुरक्षा कमजोर हुन भनेको देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा कमजोर हुनु हो । दलहरुको यस्तै सोच र गतिविधी कायम रह्यो भने देशमा अकल्पनीय समस्या आउन सक्छ ।
सरकार र पार्टी नेतृत्व प्रतिष्ठा र लुछाचुँडीको विषय बनाइनु हुँदैन । नेतृत्वलाई आकर्षक र प्रतिष्ठाको पदको रुपमा जबसम्म लिइन्छ र नेता बन्न जे पनि गर्न तयार भइन्छ, त्यो नेता कमसल नेताको चरित्र हो । त्यो देश वा पार्टीको कलंक नै हो भन्ने भाष्य निर्माण हुँदै जानु पर्दछ ।
आफ्नो जीवनमा जे जति सकिन्छ देशको निम्ति योगदान गरेर मरौं भन्ने स्वच्छ अभिलाषाबाट निर्देशित व्याक्ति नै असल नेता बन्न योग्य ठहरिने छ । स्वभाविक र स्वस्फूर्त रुपमा सेवा गर्ने अवसर आए नेतृत्व गर्ने हो तर देश डुब्न दिन्न भन्ने भावना प्रत्येक नागरिकमा जन्मन सक्यो भने मात्र देश बन्यो नत्र भन्न सकिन्न ।
(त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक बैकुण्ठ पाण्डे राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गरिरहेका छन् ।)
लेखकका थप लेखः
उहिलेका जिम्वाल-मुखिया झैं अहिलेका बैंकर !