दोधारा चाँदनी बन्दरगाहको ईआईए प्रतिवेदन स्वीकृत



काठमाडौं । दोधारा चाँदनीमा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन (ईआइए) स्वीकृत भएको छ ।

सरकारले कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न लागेको छ । जसअनुसार कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको १ सय १७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गामा आयोजना सञ्चालनको लागि प्रस्ताव गरिएको थियो ।

वन क्षेत्र प्रयोग गर्न वातावरणीय प्रभाव मूल्याँकन अध्ययन गर्नुपर्ने भएकाले नेपाल इन्टरमोडल यातायात विकास समितिले वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार अध्ययन गराएको थियो । वातावरणीय प्रभाव मूल्याँकनसम्बन्धी अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

सुदुरपश्चिमको आर्थिक उन्नतीका लागि यो बन्दरगाह कोशेढुङ्गााको रुपमा मानिएको छ । दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न भारतले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको समयमा २०८० जेठमा नेपाल र भारत सरकारबीच ति दुवै योजनाको भौतिक पूर्वाधार निर्माणको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यो आयोजना भारत सरकारको सहयोगमा निर्माण हुने भएकोले भारत सरकारबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन अनुसार निर्माण गरिने हुँदा आयोजना सञ्चालनको लागि प्रस्तावित कूल ६३ हेक्टर जग्गा मध्ये पहिलो चरणमा ४२।३६ हेक्टर क्षेत्रफल मात्र प्रयोग हुने भएको छ ।

गजुरेलका अनुसार वन तथा वातावरण मन्त्रालयको स्वीकृति पश्चात पूर्व स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरिएको छ । परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदन स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत बुधबार वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ ।

‘सुरुमा बढि क्षेत्रफल ओगट्ने योजनाअनुसार ईआईए स्वीकृत गराइयो, पछि थोरै क्षेत्रफलमा योजना सम्पन्न हुने भएपछि ईआईए प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी वन तथा वातावरण मन्त्रालयलाई बुझाइएको हो,’ गजुरेलले भने ।

यस आयोजना अन्तर्गत सडक, पार्किङ्ग क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी तथा खाद्य प्रयोगशाला, क्वारेन्टाइन, प्रशासनिक भवनलगायतका संरचना निर्माण हुनेछ । यो आयोजना निर्माण गर्न करिव ५ अर्ब ७६ करोड नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु