डेढ अर्बको अपार्टमेन्ट बनाउँदै गरेका कालु गुरुङको रोडशोको कारोबार १५% मा सीमित

पोखराको लेकसाइड र मासबारमा बन्दै गरेका करोडौंका अपार्टमेन्टमा ग्राहक सरिहाल्नेमा आशंका



काठमाडौं । एकै वर्षमा ४० करोड रुपैयाँको व्यवसाय गर्ने प्लटिङ कम्पनी रोडशो इन्भेस्टमेन्टको वार्षिक कारोबार ६ करोड १० लाख रुपैयाँमा सिमित भएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कारोबार रकमले अर्थतन्त्रको सुस्तता घरजग्गा कारोबारमा परेको चित्रण गरेको हो ।

रियल स्टेटका गन्नेमान्य व्यवसायी कालु गुरुङको रियलस्टेट कम्पनी रोडशोले आर्थिक वर्ष २०७८/७९ मा एकैवर्ष ४० करोडको कारोबार गरेको थियो । घरजग्गासँगै सेयरमा छाएको उत्साहले उनको कारोबार अघिल्लो वर्षभन्दा करिब तेब्बर भएको थियो । तर, आघिल्लो आवमा अर्थतन्त्रमा सुस्तता सँगसँगै घरजग्गा कारोबारमा पनि मन्दी छाउँदा कम्पनीको कुल व्यापार साबिकको तुलनामा १५ मा सीमित भएको हो ।

व्यवसायी गुरुङको एकल स्वामित्व रहेको कम्पनी हाल जग्गा प्लटिङ र बिक्रीमा सामेल छ । २० वर्ष अघि स्थापित कम्पनीले हाल पोखरामा दुई अपार्टमेन्ट बनाइरहेको छ ।

कम्पनीको वार्षिक कारोबार घट्दा नाफा मार्जिन १९ प्रतिशतमा खुम्चिएको छ । यो नाफा मार्जिन भन्नाले सञ्चालन नाफा भन्ने बुझिन्छ, अर्थात् कर, ब्याज र डिप्रिसियसन अघिको नाफा हो ।

रोडशोको हाल पोखरामा ४० युनिट रहेको अन्नपूर्ण अपार्टमेन्ट मासबार र ६० युनिट रहेको अन्नपूर्ण लेकसाइड सेदी निर्माणाधीन स्थितिमा छन् ।

यी दुई अपार्टमेन्ट निर्माण लागत १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अपार्टमेन्ट निर्माण लागत ग्राहकको पेस्की र बैंकको ऋणबाट पनि बेहोरिएको छ । कम्पनीले अहिलेसम्म करिब ८४ करोड रुपैयाँ बुकिङबाट उठाएको छ ।

असार मसान्तसम्म मास्बारको निर्माण कार्य ९१.५ प्रतिशत र लेकसाइड सेदीको ९७.७ प्रतिशत सम्पन्न भइरहेको छ ।

रोडशोका सञ्चालक गुरुङसँग रियलस्टेट क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव छ । उनको अर्को कम्पनी रोडशो रियलस्टेल सन् १९९७ देखि सञ्चालनमा छ ।

गुरुङ अन्नपूर्ण केबलकार र माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीको पनि अध्यक्ष हुन् ।

रोडशोले ८९ करोड कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरले कम्पनीको ७७ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जालाई एनपी बीबीमाइनस रेटिङ दिएको छ भने १२ अर्बको दीर्घकालीन बैंक सुविधाका लागि एनपी एफोर रेटिङ दिएको छ ।

रेटिङ एजेन्सी केयरले कम्पनीले बनाइरहेको दुवै अपार्टमेन्टमा सेलेबिलिटी जोखिम रहेको उल्लेख गरेका छ । अर्थात्, दुवै अपार्टमेन्ट निर्माणको अन्तिम चरणमा रहँदा बाँकी काम सक्नमा जोखिम निहित छ ।

साथै बुकिङ भएको अपार्टमेन्ट समयमै हस्तान्तरण र सोहीअनुसारको आम्दानी कम्पनीको चुनौती बन्न सक्ने केयरको दाबी छ । किनकी बिक्रीयोग्य नहुनु मुख्य चासोको विषय रहने बताइएको छ ।

यसो हुनको पछाडि नेपालको रियल स्टेट क्षेत्रमा निहित जोखिमलाई मानिएको छ । आउने दिनमा ग्राहकहरु रेडि टु मुभ इन घर अर्थात् सरिहाल्न योग्य घरको माग गर्ने केयरको बुझाइ छ ।

तर, अपार्टमेन्ट निर्माणकर्ताहरु अहिले खर्च कम गर्न विभिन्न उपाय अबलम्बन गर्ने गरेका छन् । अर्थात् उनीहरु पूर्णरुपमा तयार नभए पनि अपार्टमेन्ट बेचिहाल्न चाहन्छन् । ग्राहकहरुको खरिद गर्ने निर्णय गर्दा निर्माणको गुणस्तर र डेलिभरी समयमा पनि उत्तिकै ध्यान दिने गरेका छन् ।


क्लिकमान्डु