सरकार प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसका चुनौती



एजेन्सी । नोबेल पुरस्कार विजेता तथा विश्वप्रख्यात अर्थशास्त्री मुहम्मद युनुसले बिहीबार बंगलादेशको अन्तरिम सरकारको प्रमुखको सपथ लिएका छन् ।

राजधानी ढाकास्थित राष्ट्रपति भवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम सरकारका अन्य सदस्यलाई सपथ गराएका हुन् । मुख्य सल्लाहकारका रूपमा युनुसको भूमिका प्रधानमन्त्रीजस्तै रहेको बताइएको छ । राष्ट्रपति साबुद्दीनले युनुससहित विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइयागरि दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ दिलाएका हुन् ।

युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि उनी प्रधानमन्त्री होइनन् तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । उनको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।

उनको सल्लाहकार परिषदमा परेका मध्ये – बंगलादेश बैंकका पूर्व गभर्नर डा. सालेह उद्दिन अहमद, ढाका विश्वविद्यालयका शिक्षक आसिफ नजरुल, मानवअधिकार कार्यकर्ता आदिलुर रहमान खान, पूर्व विदेश सचिव तौहिद हुसेन र पूर्व निर्वाचन आयुक्त सेवानिवृत्त ब्रिगेडियर जनरल एम सखावत हुसेन छन् ।

यसका साथै, बंगलादेश पर्यावरण वकिल संघका प्रमुख कार्यकारी सैयदा रिजवाना हसन, पूर्व कार्यवाहक सरकारका सल्लाहकार एएफ हसन आरिफ, उबिनिगका कार्यकारी निर्देशक फरीदा अख्तर र ब्रतीका प्रमुख कार्यकारी अधिकृत शर्मिन मुर्शिद पनि छन्।

स्वतन्त्रता सेनानी फारुक–ए–आजम, ग्रामीण बैंकका पूर्व प्रबन्ध निर्देशक नूरजहाँ बेगम, चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष सुप्रदीप चक्मा, राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानका पूर्व निर्देशक डा. विधान रञ्जन रोय र हेफाजते इस्लाम बंगलादेशका पूर्व नायब अमीर एएफएम खालिद हुसेन पनि उनको सल्लाहकार परिषदमा छन् ।

युनुस बिहीबार दिउँसो ढाका पुगेका थिए । विमानस्थलमा सम्बोधन गर्दै उनले देशलाई अराजकता र हिंसाबाट जोगाउन आह्वान गरे ।

बुधवार, राष्ट्रपतिका प्रेस सचिव मोहम्मद जोयनल अबेदिनले युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा काम गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सरकार ढलेपछि राष्ट्रपति शाहबुद्दिनले मंगलबार संसद विघटन गरी अन्तरिम सरकार गठनको बाटो खुलेको हो ।

बंगलादेशमा जनवरीदेखि सात महिनासम्म लगातार चलेको आरक्षणविरुद्धको आन्दोलनका कारण बाध्य भएर प्रधानमन्त्री शेख हसिना देशबाटै भाग्नु पर्ने स्थिती आए पछि हसिनाका कट्टर आलोचक नोबेल पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख बनेका हुन् ।

सैनिक मुख्यालयमा पत्रकारहरुसँग कुरा बंगलादेशका सेना प्रमुख जनरल वाकेर–उज–जमानले अन्तरिम सरकारको सम्भावित कार्यकाल उल्लेख गरेका छैनन् ।

विश्वप्रसिद्ध नोबेल पुरस्कार विजेता साथै बंगलादेशका प्रसिद्ध अर्थशास्त्री र प्राध्यापक ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्ताव प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरुले राखेका थिए ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लामले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँगको भेटमा अन्तरिम सरकारको प्रमुखका रूपमा युनुसलाई प्रस्ताव गरेका हुन् ।

अन्तरिम सरकारको प्रमुख बन्दै गर्दा युनुसका अगाडि थुप्रै चुनौतीहरु पनि छन् ।

किनकि यससँगै उनको व्यक्तिगत जीवन साथै उनको शीप, ज्ञान र कौशलबारे आजसम्म जति चर्चा र बहस भएको छ । अब राजनीतिज्ञको रुपमा आफ्ना अर्थतन्त्रबारे ज्ञान र सीपलाई बंगलादेशको उपयोगमा ल्याउनु पर्ने छ ।

उनी नयाँ भूमिकामा प्रस्तुत हुँदै गर्दा उनलाई आफ्नो पुरानो परिचयको फाइदा भएपनि बंगलादेशमा स्थायित्व ल्याउन भने उनले संघर्ष गर्नु पर्नेछ । विज्ञहरुका अनुसार युनुसले सरकार प्रमुखको रुपमा लामो र जटिल बाटोको सामना गर्नुपर्नेछ ।

उनको पहिलो चुनौती सात महिनादेखिको घातक विरोध प्रदर्शन पछि कानुन र व्यवस्थाको पुनस्थापना गर्ने र जनता र सरकारबीचको विश्वासको कमीलाई सम्बोधन गर्ने हुनेछ । किनकि बंगलादेशको प्रहरी, न्यायपालिका र अन्य राज्यसंयन्त्र प्रति गहिरो सार्वजनिक अविश्वास कायम छ ।

यसका साथै, उनको दोस्रो चुनौती स्वतन्त्र र निष्पक्ष चुनावको घोषणा गर्नु हो । हसिनाले जसरी विरोधीरहीत चुनाव गरेकी थिइन् त्यसका कारण पनि अब सबै राजनीतिक दलले भाग लिनसक्ने स्वतन्त्र र निष्पक्ष चुनाव युनुसको चुनौती हो ।

युनुसले गत महिना हसिना सरकारले प्रदर्शनकारीहरुमाथि गरेको घातक बल प्रयोग र त्यसबाट भएका करिब ३०० मृत्यृको छानबीन पनि गर्नु पर्नेछ । किनकि आलोचक र मानवअधिकार समूहहरुले प्रदर्शनकारीहरुमाथि अत्यधिक हिंसा प्रयोग गरेको आरोप लगाएका छन्, जुन आरोप सरकारले त्यसबेला अस्वीकार गरेको थियो ।

अब, अन्तरिम सरकार प्रमुखका हैसियतले युनुसले विगत केही हप्ता र विगत एक दशकमा मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने केही प्रकारको न्यायिक प्रक्रिया थाल्न दबाबको सामना गर्नुपर्नेछ ।

यस बाहेक युनुसलाई राजनीतिमा आउने चाहना पुरा गर्न विभिन्न बाह्य शक्तिले साथ दिएको आरोप लागेको छ । किनकि नोबेल पुरस्कार वर्षदेखि नै उनले आफ्नो राजनीतिक आवद्धता बढाएका थिए ।

उनले सन् २००७ मा नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरेका थिए । त्यही अभियानबाट बंगलादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने उनको प्रयास भएको आरोप लागेको छ । तर, त्यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौंसम्म माथि उठ्न नदिन प्रयास गरेका थिए ।

त्यसपछि उनी राजनीतिबाट पछि हटे । पछि आर्थिक अपचलन तथा कर छलि गरेको भन्दै शेख हसिनाले आरोप पनि लगाइन् । सन् २०१३ मा सरकारी अधिकारीहरूले प्राध्यापक युनुसमाथि विदेशी आयमा कर छली गरेको आरोप लगाएका थिए ।
उनी सोही कारण ६ महिना जेल पनि बस्नुपर्यो । पछि उनी धरौटीमा छुटे । सन् २०११ मा बंगलादेशको केन्द्रीय बैंकले ६० वर्षपछि अनिवार्य अवकाश लिनुपर्ने उमेर नाघेको आधारमा उनलाई ग्रामीण बैंकबाट पदमुक्त गरेको थियो ।

त्यसैले एकपटक फेरि उनी राजनीतिमा होमिएको र आफ्नो महत्वाकांक्षा पुरा गर्न विदेशी शक्तिको गोटी बनेको आरोप उनीमाथि लाग्नसक्छ ।

त्यसबाहेक उनी एक विश्वविख्यात अर्थशास्त्री भएका कारण बंगलादेशको अर्थतन्त्रमा उनले कस्तो परिवर्तन ल्याउलान् त्यो पनि चासोका साग हेरिन्छ नै । किनकि हसिना कै समयमा बंगलादेश एउटा उदाउँदो अर्थतन्त्रको रुपमा हेरिएको थियो ।
अर्थशास्त्री युनुसको थप योगदानले बंगलादेश आर्थिकरुपमा फड्को मार्ने अधिक अपेक्षा हुने भएका कारण छिट्टै जनतामा निरनशा छाउने सक्ने चुनौती पनि युनुस सामु छ ।

को हुन् मोहम्मद युनुस

युनुसलाई बंगलादेशमा विशेषगरी गरिबहरुलाई गरिबीबाट मुक्त गराउने एक सामाजिक अभियन्ताको रुपमा सम्मान गरिन्छ । १९७० को दशकमा माइक्रोफाइनान्स अर्थात् लघुवित्तको अग्रणी व्यक्तिको रुपमा युनुसलाई लिने गरिन्छ ।

वर्षौंसम्म अर्थशास्त्र पढाएका युनुसलाई चटगाउँ युनिभर्सिटीको नजिकै एक गरिब गाउँ यात्रा गर्ने क्रममा यस्तो प्रेरणा आएको थियो भनिन्छ । उनले दर्जनौं गाउँहरुलाई सुरुको क्रममा १० डलर उधारो दिए । र ग्रामीण बैंकको स्थापना गर्दै उनले अति विपन्न मानिसहरुलाई बिनाधितो ऋण दिन थाले ।

खासगरी बैंकले ऋण नदिने गरेका साना व्यवसायीहरुलाई त्यसबेला युनुसले बिनाधितो ऋण वा सापटी रकम दिने गर्थे । १९८० को दशकको सुरुतिर प्राध्यापक युनुस आफ्नै योजनामा सफल बने । र हाल उनैले सुरु गरेको ग्रामीण बैंकमा हजारौं विपन्न आम मानिसहरु सदस्यको रुपमा आबद्ध हुँदै आएका छन् ।

बैंकले बंगलादेशमा नाफामुलक र गैरनाफामुलक गरी दुई प्रकारका प्रोजेक्ट सुरु गरेको थियो । यसमा कपडादेखि लिएर मोबाइल र ब्रोडब्यान्ड सेवासम्म समावेश थिए ।

यसपछि युनुसले कहिल्यै पछाडि कहिल्यै हेर्नुपरेन । उनले आफ्नो यही कामको लागि २००६ मानोबेल पुरस्कार जिते । र उनको यो मोडेललाई अरु पनि कैयौं विकासशील देशहरुमा अवलम्वन गरिएको छ ।


क्लिकमान्डु