धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः बुक विल्डिङ्ग विधिलाई व्यवस्थित बनाउने, अधिकांश कार्यक्रम पुरानै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१-८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बोर्डले ल्याएको नीति तथा कार्यक्रममा बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी स्टयान्डर्ड गाइडलाइन तयार गर्ने र सूचिकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिने रहेको छ ।

बोर्डले आगामी आवमा बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका एआई बेस्ड एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन गर्ने जनाएको छ ।

हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न अटोमेटेड अक्सन सिस्टमलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने नीति रहेको छ ।

वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरु तर्जुमा गर्ने, वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने योजना रहेको छ । वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरु तर्जुमा गर्ने नीति रहेको छ ।

नेपाल धितोपत्र तथा विनिमय आयोग र धितोपत्र बजारसम्बन्धी कानून तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने र ६.२ धितोपत्र सम्बन्धी ऐन, २०६३ र वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ अन्तर्गतका नियमावली, निर्देशिकामा आवश्यक संशोधन कार्य गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । धितोपत्रको दास्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनहरुमा संशोधन प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रम रहेको छ ।

बोर्डको नीति तथा कार्यक्रममा हरित बण्ड, उर्जा बण्ड जस्ता उपकरणको निष्काशन तथा कारोवारलाई सहजीकरण गर्न एकीकृति स्वचालित ऋणपत्र बजार संचालन व्यवस्था सम्बन्धी आवश्यक अध्ययन गर्ने–गराउने जनाएको छ ।

विशिष्टिकृत लगानी कोषले जारी गरेको कोषको उपयोग, क्षेत्रगत लगानी लगायतका विषयमा जोखिमलाई मध्यनजर गरी अध्ययन गर्ने, सरकारी ऋणपत्रहरुको दोस्रो बजार कारोवार सम्बन्धमा अध्ययन गरी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्ने जनाएको छ । बोर्डले ल्याएको नीति तथा कार्यक्रम अधिकांश पुरानै रहेका छन् ।


क्लिकमान्डु