५१ जनाको ज्यान गएको युएस-बंगलापछि विमानस्थलभित्र भयो सौर्यको ठूलो दुर्घटना



काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा कम्तीमा १८ जना यात्रुको शव निकालिएको सुरक्षाकर्मीले बताएका छन् । यद्यपि कतिपय प्रत्यक्षदर्शीहरुले मृत्यु हुनेको संख्याबारे मिश्रित तथ्यांक पनि दिएका छन् ।

तर विमान जमिनमा ठोक्किँदा यात्रु बाहेक केही स्थानीयको पनि मृत्यु भएको आशंका गरिएको छ । यद्यपि यसबारे आधारिक तथ्यांक आएको छैन ।

बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान गोठाटार नजिकैको खोचमा दुर्घटना भएको हो । विमानमा पाइलटसहित १९ यात्रु थिए । दुर्घटनापछि पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरुको टोली पनि अहिले त्यहाँ पुगेको छ ।

विमानस्थलमै भएको थियो युएस-बंगला विमान दुर्घटना

यसअघि २०७४ को फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस-बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । त्यस क्रममा जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दु काटेर गलत विन्दुबाट अवतरण गर्दा दुर्घटना भएको बताइएको थियो ।

उक्त दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । जसमध्ये चिनियाँ, बंगलादेशीसहित नेपाली पनि थिए ।

बङ्गलादेशबाट उड्दा जहाजमा कुनै समस्या नआए पनि काठमाडौंमा अवतरणको क्रममा विमान दुर्घटना भएपछि पीडितका सात परिवारले क्षतिपूर्तिका लागि मुद्दा समेत दायर गरेका थिए । उक्त दुर्घटनामा मृत्यु भएका सात जना नेपाली एमबीबीएस अध्ययनरत विद्यार्थीहरु थिए । उनीहरका आफन्तले २ अर्ब १० करोड रुपैयाँ (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी मुद्दा दायर गरेका थिए ।

यसैगरी २०६९ मा त्रिभुवन विमानस्थलमै सीता एयरको विमान दुर्घटना भएको थियो । त्यस क्रममा ७ जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक बुधबारको दुर्घटना युएस बंगला विमान दुर्घटनापछि विमानस्थलमा भएको ठूलो दुर्घटना हो । यसैबीच नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले २०१३ देखि नेपाल वायुसेना कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाली आकाश सुरक्षित रहेको र प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनेकै चार दिनपछि नै तारा एयरको विमान दुर्घटना भएको थियो ।

दुर्घटनाका कारण पत्ता लाग्दैनन्

नेपालको हवाई दुर्घटनाको इतिहास हेर्ने हो भने दर्जनौं विमान दुर्घटना भएका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ८० को हाराहारीमा हवाई दुर्घटना भएका छन् ।

हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक/पटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ ।

यस्तो थियो नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

यस्तै, सन् १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो र १५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्‍यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन ।

नेपाली आकाशमा पटकपटक हुने यस्ता हवाई दुर्घटनासँगै युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । १० वर्षदेखि अहिलेसम्म फुकुवा गरेको छैन । यस्ता दुर्घटनाबारे जाँचबुझ आयोग नै बनाए पनि नेपाली आकाश सुरक्षित बन्न सकेको छैन।


क्लिकमान्डु