बहादुरसिं लामा: गाविस अध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म



काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिं लामा (तामाङ) नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण बुधबार ११ बजे हुने जनाइएको छ ।

संघीयता कार्यान्वयनको सात वर्षपछि संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पहिलो पटक कांग्रेसले सत्ताको नेतृत्व पाएको हो।

नुवाकोटको किस्पाङका स्थायी बासिन्दा लामा दोस्रो संविधान सभाका सदस्यसमेत हुन् ।

लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र लामा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । संघमा कांग्रेस र एमालेबीच गठबन्धन भएसँगै माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

२०७४ माघ २८ मा डोरमणि पौडेल बागमतीको पहिलो मुख्यमन्त्री बनेका थिए । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो । २०७८ भदौ २ मा पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् ।

एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे । सरकार अल्पमतमा परेसँगै २०७८ कात्तिक १० शाक्यले पद त्यागिन् । केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीको लगायतका दलको गठबन्धन बन्यो । २०७८ कात्तिक ११ मा एकीकृत समाजवादीका दलका दलका नेता राजेन्द्र पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

२०७९ मंसिरमा भएको चुनाव लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जमरकट्टेल २०७९ पुस २५ मुख्यमन्त्री बनेका थिए ।

संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेन ।
तर यही असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमतिपछि पहिलो पटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो ।

को हुन् मुख्यमन्त्री लामा ?

बुवा स्वर्गीय दिपबहादुर लामा तामाङ र आमा स्व पूर्णिमाया तामाङको कोखबाट २०२७ कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा सामान्य परिवारमा उनको जन्म भयो। सानै उमेरदेखि हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमावि, सदरमुकाम विदुरबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् । लामा राजनीतिसँगै निर्माण व्यवसायमा पनि संलग्न थिए ।

२०४३ सालदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य हुँदै लामा नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नेविसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति बनिसकेका छन् ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित लामा कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

२०६४ सालमा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा पराजित भएका लामाले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र)का महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गरेर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

लामा २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि उनले बागमती प्रदेशको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


क्लिकमान्डु