१० उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति



काठमाडौं । सरकारले १० वटा उद्योगलाई औद्योगिक प्रयोजनका लागि चिनी आयात गर्न अनुमति प्रदान गरेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले चिनी आयात गर्न अनुमति प्रदान गरेको हो । अनुमति पाएका अधिकांश उद्योगहरु विस्कुट तथा चकलेट उत्पादन गर्दै आएका छन् ।

विभागका प्रवक्ता अर्जुनसेन ओलीकाअनुसार अनुमति पाएका उद्योगहरुमा सुनसरीस्थित सोनापुरको गुडलाइफ बेभरेज प्राइभेट लिमिटेड, सुनसरीको दुहवीस्थित एशिएन विस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेड, क्वालिटी फुड नेपाल प्राइभेट लिमिटेड, क्वालिटी फुड एण्ड स्न्याक्स ईण्डस्ट्रिज प्राइभेट लिमिटेड, क्वालिटी कन्फेक्सनरी प्राइभेट लिमिटेड र क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्राइभेट लिमिटेड रहेका छन् ।

यस्तै विराटनगरस्थित शिवम डेरी एण्ड फुड इण्डस्ट्रिज, भद्रपुरस्थित केआरएस भेन्चर्स, ललितपुरको एग्रो थाई फुड्स र पोखरास्थित सुजल फुड्स प्राइभेट लिमिटेडलाई पनि औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्नका लागि चिनी आयात गर्न अनुमति प्रदान गरिएको हो ।

ओलीका अनुसार आयात गर्न अनुमति प्राप्त गरेका उद्योगहरुमा एग्रो थाई फुड्सलाई ९५२, गुडलाइफ बेभरेजलाई ६ हजार १ सय ९७, एशियन बिस्कुट एण्ड कन्फेक्सनरीलाई ५ हजार ५ सय ६८, क्वालिटी फुड नेपाललाई १६८, क्वालिटी फुड स्न्याक्स ईण्डस्ट्रिजलाई ९११, क्वालिटी कन्फेक्सनरीलाई ६६६, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टसलाई ६८५, शिवम डेरी एण्ड फुडलाई ३८, केआरएस भेन्चर्सलाई ९५९ र सुजल फुड्सलाई २ हजार ८ सय ५६ मेट्रिक टन गरी १९ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति प्रदान गरिएको हो ।

विभागले औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने उद्योगहरुलाई उक्त चिनी आयात गर्नका लागि प्रस्ताव मागेको थियो । उक्त प्रस्तावअनुसार औद्योगिक घरानाले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न सरकारसँग अनुमति माग गरेका थिए ।

उद्योगहरुले चालु आर्थिक बर्षमा साढे २१ हजार मेट्रिक टन चिनी आयात गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति माग गरेका थिए ।

अनुमति प्राप्त गरेका कम्पनीहरुले भारतको नेशनल कोअपरेटिभ एक्सपर्ट लिमिटेडबाट चिनी आयात गर्नेछन् । यो चिनी भारतले नेपालको लागि छुट्टयाएको कोटामध्येबाट उपलब्ध गराउनेछ । भारतले २०८० कात्तिक १६ गते नेपाललाई जिटुजी (सरकारद्वारा सरकार) सुविधा अन्तर्गत २५ हजार मेट्रिक टन चिनीको कोटा उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत दसैं ताका नेपालमा चिनीको चरम अभाव भएपछि सरकारको आग्रहमा भारतले नेपाललाई चिनीको उक्त कोटा उपलब्ध गराएको थियो । भारतले कोटा उपलब्ध गराउँदा आयात गर्दा निक्कै महँगो भएकाले तत्कालिन समयमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले ल्याउन नसकेपछि उक्त चिनी आयात गर्न नीजि क्षेत्रका उद्योगलाई अनुमति प्रदान गरिएको हो ।

भारतले तोकेको २५ हजार मेट्रिक टनमध्ये ५ हजार मेट्रिक टन डाबर नेपालले यसअघि नै अनुमति पाएर आयात गरिसकेका छन् । अहिले चिनी आयात गर्न अनुमति प्राप्त गरेका कम्पनीले भने आयात गर्दा भन्सार सुविधा भने पाउँदैनन् ।


क्लिकमान्डु