ट्रेड युनियन आन्दोलन राजनीतिको शिकार बन्यो : अध्यक्ष कुँवर



काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको आरोप लगाएका छन् ।

साथै ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा बुझ्दा पनि ट्रेड युनियन आन्दोलन राजनीतिको शिकार हुनुपरेको अध्यक्ष कुँवरले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसको रणनीतिक कार्ययोजना बैठकपछि कुराकानी गर्दै अध्यक्ष कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न प्रकारका समस्या र घेराबन्दीमा रहेको बताए । उनले श्रमिकहरुको हक, अधिकार र सेवासुविधाको लागि थप आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले आफूहरुको बैठकमा आएका प्रतिनिधिहरुले पनि ट्रेड युनियन आन्दोलनलाई जारी राख्नुपर्ने धारणा राखेका जानकारी दिए । उनले श्रमिकहरुलाई विगतको जस्तो समस्या नपरेका कारण ट्रेड युनियनप्रति श्रमिकहरुको आकर्षण घटेको पनि बताए ।

‘आन्दोलित हुनुपर्ने अवस्था साथीहरुले बताइरहनुभएको छ । हामीले हाम्रो अधिकार रक्षाको लागि, सेवासुविधाको रक्षाको लागि र समग्र ट्रेड युनियन आन्दोलनको सुनिश्चितताका लागि थप आन्दोलन गर्नुपर्ने हो कि भन्ने साथीहरुको आवाज आएको हामीले पाएका छौँ । ट्रेड युनियन आन्दोलन विभिन्न खालको समस्या र घेराबन्दीमा छ । जुन ढंगले ट्रेड युनियन आन्दोलन अगाडी बढ्नुपर्ने हो त्यो ढंगले बढ्न सकेको छैन । हिजो श्रमिकहरुको न्युनतम ज्यालाको कुनै टुंगो थिएन । सामाजिक सुरक्षाको कुनै टुङ्गो थिएन र नियुक्तिपत्र, रोजगार सम्बन्धको कुनै टुंगो थिएन । हाम्रो कार्यक्षेत्र असुरक्षित थियो । हिजोको तुलनामा धेरै खालका सुधारहरु गरेका छन्,’ अध्यक्ष कुँवरले भने ।

यस्तै अहिले नीतिगत तथा कानुनी व्यवस्था र पूर्वाधारहरु बनाइएको पनि उनको भनाइ थियो । र ट्रेड युनियन अधिकारबाट प्राप्त हुनुपर्ने सुविधाहरु सहज ढंगले प्राप्त गर्ने वातावरण बनेको पनि कुँवरले बताए । तर ट्रेड युनियनप्रति आकर्षण घटेको हुनसक्ने पनि उनले बताए । यसैले पनि ट्रेड युनियन आन्दोलनमा केही प्रश्नचिन्ह लागेको कुँवरले बताए । कुँवरले भने, ‘कतिपयले ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा लिएका छन् । राजनीतिक आन्दोलनप्रतिको जुन किसिमको वितृष्णा छ, त्यसको सिकार ट्रेड युनियन आन्दोलन हुनुपरेको छ ।’


क्लिकमान्डु