‘बैंकलाई सम्पत्ति लिलाम गर्न नदिनु, सञ्चालकका तीन पुस्तालाई विदेशिन रोक्नु’



काठमाडौं । विभिन्न सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरुले संस्थाको नाममा रहेको घर जग्गा लगायत सम्पत्ति बैंकलाई लिलामी गर्न दिन नहुने सुझाव दिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग बुधबार गरेको छलफलमा अधिकांश बचतकर्ताले यस्तो सुझाव दिएका हुन्।

कान्तिपुर सेभिङ सहकारीबाट पीडित खगेन्द्र केसीले सहकारीको जग्गा बैंकमा हुँदा बैंकले लिलामी गर्ने र बचतकर्ताले समयमा नै बचत फिर्ता नपाउने समस्या बढ्ने बताए ।

सहकारीको जग्गा बैंकको भन्दा पनि बचतकर्ताको हुनुपर्ने उनको बुझाइ छ । बचतकर्ताको साढे ६ अर्ब ठगेको कान्तिपुरको ६ अर्ब २१ करोड ऋण र सहकारीको साढे ५ अर्ब सम्पत्ति रहेको उनको भनाइ छ ।

बागलुङको इमेज बचत तथा ऋण सहकारी पीडित दिलबहादुर कार्कीले पनि यस्तै सुझाव दिए । सहकारीका सञ्चालक तथा प्रबन्धकको नाममा रहेको अधिकांश जग्गा बैंकमा धितोको रुपमा हुने र ति जग्गा बैंकले लिलामी गर्न थालेपछि सहकारीका बचतकर्ताको पैसा उठ्ने सम्भावना कम रहेको बताए ।

कार्कीले इमेज सहकारीका ४ वटा शाखामार्फत बचतकर्ताको २ अर्ब ३५ करोड अपचलन भएको दाबी गरे ।

सहकारीका अध्यक्ष देवकुमार नेपालीले ११ हजार कृत्रिम सेयर सदस्य खडा गरेर बचतकर्ता ठग्ने काम गरेको दाबी गरे । उक्त संस्था २०८० जेठ ५ गतेबाट बन्द छ । सहकारीमा २३ सयको बचतकर्ताको बचत फसेको उनले बताए । बचत फसेका १ जनाले आत्महत्या गरेको र तीन जनाको मृत्यु भएको कार्कीले बताए ।

अध्यक्ष नेपालीले बचतकर्ताको पैसाले २ अर्बको सम्पत्ति किनेका छन् । उनको अधिकांश जग्गा बैंकमा रहेको र बैंकले ति जग्गा लिलामी गर्न थालेपछि बचतकर्ताको पैसा उठ्ने सम्भावना कम भएको उनले बताए ।

उक्त जग्गा बैंकलाई लिलामी गर्न नदिएर बचतकर्ताले नै जग्गा लिन पाउने व्यवस्था गर्न उनले माग गरे ।

ओरेन्टल सहकारीका पीडित खगेन्द्रनाथ काफ्लेले बचतकर्ता ठग्ने सहकारीको सम्पत्ति सरकारले कब्जा गरेर बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

सहकारीका सञ्चालकले घर जग्गामा लगानी गरेको र त्यो घर जग्गा सरकारले कब्जा गरेर बचत फिर्ता गर्न लाग्नु पर्ने सुझाव दिए।

कतिपय सहकारीका सञ्चालकले बचतकर्ताको बचतले अरुको नाममा त्यो घर जग्गा राखेको उनको भनाइ छ । राष्ट्र बैंकसँग पैसा रहेको भन्दै उनले त्यो पैसाले सहकारीको जग्गा किनेर बचतकर्तालाई फिर्ता गराउन सुझाव दिए ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका पीडित चक्रबहादुर श्रेष्ठले अन्यभन्दा यो संस्थामा धेरै ठूलो घोटाला भएको दाबी गरे । सहकारीबाट १ लाख ७५ हजार जना पीडित रहेको उनको दाबी छ । सहकारीबाट बचतकर्ता ठग्नेमा संस्थाका प्रमुख केदारनाथ शर्मा र उनको श्रीमती गीता शर्मा रहेकी छिन् ।

९ अर्ब ५० करोड बचत संकलन गरेको सहकारीले निजी ४२ कम्पनीमा लगानी गरेको छ । ६ वटा प्रदेशमा यो सहकारीको ३६ वटा शाखा रहेका छन्।

शिव शिखर सहकारीका प्रमुख शर्मा तुलसी सहकारीमा पनि छन्। तुलसी पनि उनकै सहकारी हो । तुलसी सहकारीको पैसा पनि शिखर अर्गनाइजेशन अन्तर्गतका ४२ कम्पनीमा लगानी गरेको छ ।

शर्माले कम्पनीको नाममा साढे ५ अर्ब ऋण लिएको उनको भनाइ छ । त्यो रकम पनि शर्माले निजी कम्पनीमा लगानी गरेका छन् ।

तुलसी सहकारीबाट शर्माले कम्पनीमा ३ अर्ब लगानी गरेको उनको दाबी छ ।
अहिले सहकारीको नाममा रहेको २६ करोड फ्रिज भएको छ र २१ मार्टमा सामान बिग्रन लागेको भन्दै त्यो रकम बचतकर्तालाई दिने व्यवस्था गर्न माग गरे । मार्टको सामान लिलामी गर्ने हो भने बचतकर्ताको केही सानो रकम फिर्ता गर्न पुग्ने उनको दाबी छ ।

तुलसी बहुमुखी सहकारीका पीडित तिलकप्रसाद पराजुलीले सहकारीको ५ वटा मार्ट र ६ करोडको सामान रहेको बताए । मार्टका सामान बिग्रन लागेका छन् ।

संस्थामा सिल गरिएको छ । १ अर्ब ५७ करोड माग दाबी रहेको बताए । यसमा केही छुटेको हुन सक्ने बताए । यसको अध्यक्ष पनि केदारनाथ शर्मा हुन् । सहकारीको झापा र दमकका शाखा प्रमुखले करोडौं बचत अपचलन गरेको उनको आरोप छ ।

ऋषिराम ढुंगाना, भगवान दाहाल, विजय भट्टराईले रकम अपचलन गरेको उनीहरुको भनाइ छ । मोहन मिकी गिरीलाई नक्कली सीईओ बनाएर ठगेको उनको दाबी छ । उनले सहकारीका सीए शितल कुमार चन्दले नक्कली वार्षिक प्रतिवेदन बनाएको भन्दै उनलाई कारबाही गर्नेसमेत माग गरे ।

आईडियल यमुना हाम्रो बहुउद्देश्यी सहकारीका पीडित दासुराम शर्मा ज्ञवालीले संस्थाका अध्यक्ष केबी उप्रेतीले २ वर्षदेखि बचत फिर्ता नदिएको गुनासो गरे । अहिले पक्राउ परेको उप्रेतीले बचत फिर्ता गर्नुभन्दा पनि छुटेर भाग्ने हुन की भन्ने चिन्ता बढेको उनले बताए ।

प्रहरीले समातेको मान्छे छोड्न पर्ने भयो बचतकर्तालाई फोन आउन थालेको उनको गुनासो छ ।

उक्त सहकारीले बचतकर्तालाई जग्गा लिनु भनेको र १० लाख पर्ने जग्गालाई ४० लाख मूल्य तोक्ने गरेको ज्ञवालीले बताए ।

उक्त सहकारीबाट ऋण लिनेहरुले लिएको ऋण चुक्ता गर्दा समेत फुकुवा नभएको गुनासो गरे ।

‘ऋण तिरेपछि पनि जग्गा फुकुवा भएन’ उनले भने, ‘त्यो लालपुर्जा अध्यक्षले सहकारी बैंकमा राखेर ऋण लिएको रहेछ । त्यसकारण हाम्रो जग्गा फुकुवा गरिदिएनन् ।’

सहकारीका अर्का बचतकर्ता कृष्ण गोपाल श्रेष्ठले सन्चालकको सम्पत्ति रोक्का गर्ने, विदेश भएकालाई नेपाल ल्याउने, बाहिर जान नपाउने व्यवस्था गर्नुपर्ने माग गरे । सबै सम्पत्ति बेचबेखिन गरेर पैसा फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु