अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना चालक पक्राउ



काठमाडौं । प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

असार १५ गते काठमाडौं महानगरपालिका-१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन् ।

उनीहरूमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेको र पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो ।


क्लिकमान्डु