शिक्षामन्त्री श्रेष्ठको चेतावनी- ‘शिक्षा क्षेत्रको दलीयकरण प्रहरी लगाएर पनि हटाएरै छाड्छु’



‘बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहन्नँ । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि हटाएरै छोड्ने हो ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भ्रातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने चेतावनी दिएकी छन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको गुनासो गरेकी थिइन् ।

‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर फेरि अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरु राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरु राखेर गर्नुपर्ने अवस्था छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री बन्छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहन्नँ । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि छोड्ने हो,’ मन्त्री श्रेष्ठले भनिन् ।

मन्त्री श्रेष्ठले एसईई परीक्षाको नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिंगो समाज नै आक्रोशित हुनुपर्ने भन्दै एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । साथै शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘एसईईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महशुस गर्नुपर्छ । र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? १० वर्ष अगाडि त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि इसिडिमा थियो । त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरु फेल भएको भन्दा पनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ । अर्को वर्ष यसको प्रतिशत कति हुन्छ भन्दा पनि यसमा अब हामीले गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? यसमा हामीले ध्यान दिनुपर्छ ।’


क्लिकमान्डु