भारतले दोस्रो पटक जित्यो टी २० विश्वकप



काठमाडौं । टी २० विश्वकप क्रिकेट भारतले जितेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न खेलमा पूरा प्रतियोगितामा अपराजित रहँदै भारतले शनिबार सम्पन्न विश्वकपको उपाधि उचालेको हो ।

दक्षिण अफ्रिकालाई ७ रनले हराएर उपाधि जितेको हो । भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन बनाउँदै उपविजेतामा चित्त बुझायो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।

बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७६ रन बनाएको हो ।

फाइनल खेलमा ओपनर विराट कोहलीले ७६ रन बनाए। उनले ५९ बल खेलेर ६ चौका र २ छक्का हाने ।

अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए ।

शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे ।

फाइनल खेलमा कप्तान तथा ओपनर रोहित शर्मा ९ रनमा, सूर्यकुमार यादव ३ रनमा, रविन्द्र जडेजा २ रनमा र रिशभ पन्त शून्यमा आउट भए ।

बलिङतर्फ एनरिच नोर्किया र केशव महाराजले २/२ तथा मार्को जनसेन र कगिशो राबाडाले १ विकेट लिए ।


क्लिकमान्डु