शाहीले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेपछि रिसाए प्रचण्ड, भने-तपाईं प्रधानमन्त्री बन्दा कति गर्नुहुन्छ हेर्छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा सहभागी भएका नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रुसी सेनामा सहभागी भएकाहरुलाई राज्यले वेवास्ता गरेको भन्दै नेपालमा प्रधामन्त्री छ कि छैन ? भन्दै प्रश्न गरेका थिए ।

‘नेपालमा प्रधानमन्त्री र सरकार छ कि छैन? हुनुहु्न्न भने हाम्रै अगाडि हुनुहुन्छ, ४२ जनाको मृत्यु भएको छ सयौं अलपत्र छन् । यदी नागरिकको रक्षा गर्न सक्दैन भने त्यो सरकार के को सरकार ? त्यस्तो सरकार किन चाहियो ?’ उनले भनेका थिए ।

शाहीको प्रश्नमा आक्रोशित हुँदै प्रधानमन्त्री दाहालले अहिले देशमा प्रचण्ड भन्ने व्यक्ति प्रधानमन्त्री रहेको बताए ।

‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर नेपाली रुसी सेनामा गएका त होइनन् । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दु:खद् कुरा हो । सरकारले जिम्मेवारी पूर्वक, अझ प्रचण्ड भएको हुनाले भन्न चाहन्छु । राति १२ बजे लडाइको मोर्चामा लड्दै गरेको बेला फोनमा फिर्ता ल्याउने बारे कुरा गरेको छु’ उनले भने ।

प्रधानमन्त्रीले शाहीलाई भने, ‘कुनै दिन तपाईं प्रधानमन्त्री हुनुभयो भने पनि हेर्छु कति गर्नु हुँदो रहेछ ।’


क्लिकमान्डु