मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पठाउन बन्द



सिन्धुपाल्चोक। मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ ।

मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् ।

गत आइतवार रातिदेखिको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् । आइतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।


क्लिकमान्डु