प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः सत्ता ठूलो की मुलुक ?



राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छिन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाइन् । उनले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गरिन् ।

उनले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोजेको भन्दै प्रश्न गरिन् । उनले प्रधानमन्त्री दाहाल सत्तामा बढी केन्द्रित भएको आरोप लगाइन् ।

पन्तले यसो भनिन्

जनताले यसले अनियमितता ग¥यो, जनताको पैसा यसको पेटमा प¥यो, त्यसले गर्दा कारबाही होस् भनेर जनताले मागेको छ, सिंगो संसदले मागेको छ । सिंगो संसद अवरुद्ध भयो । र अध्यक्षज्युलाई भन्छु, यो संसदबाट हामी पनि संसद अवरुद्ध गर्न वेलमा आयौँ । के ग¥यौँ, त्यो पछि विश्लेषणको कुरा होला । त्यत्रो भएको मान्छे नैतिकता त हुन्छ नि । छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने ? त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले अनि भ्रष्टाचार मौलाउँदैन । हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ । म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु यहाँबाट निकाल्न सकिँदैन ? अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नुहुन्न । केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई । सत्ता नै ठूलो कुरा हो ? आउनुस् न । अर्को चोटी बहुमत प्राप्त गरेर आउनुस् । सत्ता ठूलो की मुलुक ?


क्लिकमान्डु