संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो: चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हु्न् ।

संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको अध्यक्ष केसीको भनाइ थियो ।

उनले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए ।

चित्रबहादुर केसी

अब मुलुकलाई सबैभन्दा ठूलो समस्या के भयो भने–मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौं । जुन यहाँको भुगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरुको मनोवृत्ति, शासकहरुको प्रवृत्ति एकात्मक, मुलुक संघात्मक ।

तपाईहरुलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो । प्रत्येक सरकारले संघीयता कार्यान्वयनमा जोड दिने बारम्बार बताउने गरेका छन् । संघीयता कार्यान्वयनका लागि थुप्रै कार्यक्रम कार्यान्वयन गर्न पनि भनिएको छ । तर संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको छ ।

संघीयताले मुलुकमाथि अनाआवश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ । नेपालले संघीयताको सुदृढिकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?


क्लिकमान्डु