६ पटक मात्र होइन, म २० पटक पनि मन्त्री बन्नुपर्ने हुनसक्छ: मन्त्री मनाङ्गे



पोखरा । गण्डकी प्रदेशमा राजीव गुरुङ (दीपक मनाङ्गे) छैटौँ पटक मन्त्री बने । उनले मंगलबार छैठौं पटक शपथ लिए । तीनपट खेलकुद मन्त्री बनेका उनी त्यसपछि लगातार भौतिक पूर्वाधार मन्त्री बनिरहेका छन् ।

सपथपछि मन्त्री मनाङ्गेले आफू रेकर्ड र परस्कारको लागि ६ पटक मन्त्री नभएको बताए । यो बाध्यताको उपज भएको उनको भनाइ छ । उनले आफ्नो काम सरकारलाई जोगाइदिने मात्रै भएको र एउटा सिट पनि किन बिगार्ने भनेर सरकारलाई साथ दिएको बताए ।

‘रेकर्ड भन्दा नि, ६ पटक मन्त्री भएर पुरस्कार पाउन गरेको होइन । यो बाध्यता हो,’ मनाङ्गेले भने, ‘ सरकार भनेको कस्तो रहेछ भने जहाँ महत्त्व हुन्छ, त्यहाँ गएन भने भताभुङ्ग हुन्छ । म कांग्रेसको सरकारमा पहिलो पटक आउँदा लामो जान्छ होला भन्ने लागेको थियो । तर दुर्भाग्य सहयोगी पार्टीहरू आएनन् । त्यसमा मेरो के दोष छ र ? मेरो काम भनेको सरकारलाई जोगाइदिने मात्रै हो । म स्वतन्त्र सांसद हुँ, पार्टी होइन । एउटा सिट पनि किन बिगार्ने भनेर सरकारलाई साथ दिएको हो ।’

उनले आफूले मध्यावधी चुनावमा जान्छ भन्ने लागेपछि यसअघि सरकार छाडेको बताए । उनले एक दललाई समर्थन गर्दा अर्को दल रिसाउने गरेको सुनाए ।

‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि । हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?’ उनले भने ।

यसअघिको सरकार ढल्नुमा ठूलो हात माओवादीको रहेको उनले बताए ।

‘गण्डकी प्रदेश सरकार जानुमा सबैभन्दा ठुलो हात त माओवादीको छ नि । मेरो के हात छ र ? मैले त सहयोग गरेकै हो त । खगराजको सरकार बन्ने बेलामा मैले, एमाले र माओवादीले हस्ताक्षर गरेको हो । ३१ जनाको सङ्ख्या ठिक हो । तर सरकार बनाउन खोज्दा पूरै भोट चाहिन्थ्यो नि,’ उनले भने, ‘ त्यतिबेला सभामुखले राजीनामा गर्नुपर्थ्यो । उहाँले नगरेपछि मैले के गर्न सक्छु त ?’

कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भएको र प्रदेशमा भोट हालेको उनको भनाइ छ ।

उनले यस्तै अवस्था रहेको खण्डमा आफू ६ पटक मात्र नभइ २० पटक मन्त्री बन्नु पर्ने अवस्था आउने टिप्पणी गरे ।

‘कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भएको हो र प्रदेशमा सांसदहरुले भोट हालेका हुन्,’ उनले भने ,’यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ । ‘


क्लिकमान्डु