प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग एमालेको माग



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरे ।

संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने उनले बताए । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताए ।

सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँकात्युँ रहे पनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।


क्लिकमान्डु