गृहमन्त्री रवि विराटनगर पुगेको बेला सरकारी गाडीमा आगजनी, ६ सवारीमा तोडफोड




विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् ।

क्याम्पस गेट अगाडि एउटा सरकारी गाडी आगजनीसहित ६ वटा गाडी तोडफोड गरिएको छ । त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्यक्रमका लागि पुगेकाहरूले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरू तोडफोड गरिएको हो । विद्यार्थीहरुले को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

मोरङको रंगेलीमा पक्राउ परेका नेविसंघका नेतासमेत रहेका क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सदस्य दीपक यादवलगायत विद्यार्थीको रिहाको माग गर्दै सवारी तोडफोड भएको प्रहरी अनुमान छ ।

गृहमन्त्री रवि लामिछानेसहित सुरक्षा प्रमुखहरु विराटनगरमै भएका बेला घटना भएको हो । आजबाट सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्रीसहितका सुरक्षा अधिकारीहरु विराटनगरमा छन् ।


क्लिकमान्डु