महानगरभित्रको शौचालय निःशुल्क सञ्चालन गर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर कार्यक्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक शौचालय प्रयोग गर्दा सेवाग्राहीबाट शुल्क नलिन निर्देशन जारी गरेको छ ।

निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयको लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइसम्बन्धी सहयोग उपलब्ध गराउने महानगरपालिकाले प्रतिवद्धता जनाएको छ ।

महानगरपालिकाबाट सहयोग प्राप्त गरेर पनि सार्वजनिक शौचालयबाट सेवाग्राहीबाट कुनै पनि प्रकारको शुल्क लिइएको पाइएमा कानूनअनुसार कडा कारवाही हुने चेतावनी पनि दिइएको छ ।

महानगरपालिकाले शुल्क लिएर सञ्चालनमा रहेका शौचालयका सञ्चालक र व्यवस्थापकलाई महानगरपालिकाले उपलब्ध गराउने सहयोग लिन १५ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाईमा लिखित प्रस्तावसमेत दिन आग्रह गरेको छ । महानगरपालिकाबाट सहयोग लिने सार्वजनिक शौचालयले भने सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराउनु पर्नेछ ।

एकाइले शौचालयको स्वच्छतासम्बन्धी आचरण विकास गर्न सबै सार्वजनिक शौचालयलाई वर्षको तीनपटक निःशुल्क सफाइका सामग्री उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हर्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मग, बाल्टिन, साबुन, डोरम्याट आदि हुनेछन् ।

शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्टबिन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान पनि उपलब्ध गराइनेछ ।

महानगरभित्र जम्मा एक सय ५० सार्वजनिक शौचालय
काठमाडौं महानगरभित्र जम्मा एक सय ५० वटा सार्वजनिक शौचालय छन् । गुठी र वाटर एड नामक संस्थाले अध्ययन गर्दा महानगरमा एक सय ५० सार्वजनिक शौचालय फेला परेको हो ।

जसमध्ये सार्वजनिक शौचालयको ३५, मन्दिरमा रहेका २२, सरकारी कार्यालयका पाँच, पार्कमा सात, पेट्रोल पम्पमा ५५, व्यापारिक मलमा १७ र अस्पतालका नौवटा छन् ।

यीबाहेक काठमाडौं महानगरपालिकाले सार्वजनिक रूपमा आह्वान गरेर महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो । सोअनुसार ३७ संघ–संस्थाले निःशुल्क रूपमा शौचालय प्रयोगका लागि दिएका छन् ।


क्लिकमान्डु