टाइटानिक खोजीको तयारीमा अमेरिकी अर्बपति



एजेन्सी । एक अमेरिकी रियल इस्टेट अर्बपति र समुद्री अन्वेषकले टाइटानिक जहाजको अन्वेषण गर्न पनडुब्बीको यात्रा गर्ने भएका छन् । ओहायो टाइकुन ल्यारी कोनर र ट्राइटन सबमरिनका सह-संस्थापक प्याट्रिक लाहेले उत्तरी एट्लान्टिक महासागरमा जहाज दुर्घटनाग्रस्त जहाज अवलोकन गर्न लगभग ३८०० मिटर वा १२ हजार ४६७ फिट गहिराइसम्म जाने योजना बनाएको बताएका छन् ।

गत वर्ष टाइटानिकको मार्गमा खोजीका लागि जाँदै गरेको जहाज दुर्घटना हुँदा त्यहाँ सवार पाँच जनाको मृत्यु भएको थियो । कोनरको कम्पनीका प्रवक्ताले प्रस्तावित यात्रा समुद्री संगठनबाट पूर्ण रुपमा प्रमाणित भएपछि मात्रै सुरु हुने बताएका छन् । तर यो जोखिमपूर्ण यात्राका लागि समयावधि भने घोषणा गरिएको छैन ।

उनीहरुले यो यात्रालाई ट्राइटन ४०००/२ एबिसल एक्सप्लोरर नाममा आफ्नो खोज गर्ने योजना बनाएका छन् । ४००० मिटरलाई आफ्नो जहाज लैजान सकिने महत्वाकांक्षी दूरीको सन्दर्भमा प्रयोग गरिएको बुझिएको छ । ओसनगेटले बनाएको टाइटन पनडुब्बीको निर्माणमा कार्बन फाइबरको प्रयोग गरिएको थियो । र यसलाई १३०० मिटरसम्म यसको प्रमाणित गरिएको थियो । जुन समुद्रतलको गहिराइबाट ज्यादै कम थियो । जहाँ टाइटानिकको अवशेष रहेको बताइन्छ ।

२०२३ को जुनमा टाइटानिकको भग्नावशेषको खोजीको क्रममा जहाज दुर्घटना भएको थियो । ओसनगेटका प्रमुख कार्यकारी स्टकन रस र अन्य चार यात्रुको मृत्यु भएको थियो । जहाँ एक बेलायती पाकिस्तानी व्यापारी र उनका छोरा पनि सामेल थिए । रसले भने सम्भावित समस्या र खतराबारे धेरै सल्लाहकारले दिएको सुझावलाई बेवास्ता गरेका थिए ।

यसपटक टाइटानिकको खोजीको योजना बनाएका व्यवसायी कोनरले भनेका छन्, ‘म विश्वलाई नै देखाउन चाहन्छु कि, महासागर अत्यन्त शक्तिशाली छ । तर तपाइँले यसलाई सही तरिकाले सोच्नुभयो भने यो अद्भुत र आनन्ददायक हुनसक्छ । वास्तवमा यसले जीवन परिवर्तन गरिदिनसक्छ ।’ यसबारे लाग्ने खर्च र समयावधिबारे सार्वजनिक गरिएको छैन ।

टाइटानिक एक बेलायती जहाज थियो । जुन सन् १९१२ को १५ अप्रिलमा साउथहेम्टन, इंग्ल्यान्डदेखि अमेरिकाको न्युयोर्क सहरमा पहिलो यात्रा गर्ने क्रममा एक चट्टानमा ठोक्किएर दुर्घटना भएर डुबेको थियो । २ हजार २२४ यात्रु बोकेको उक्त जहाजमा झण्डै १५ सयको मृत्यु भएको थियो भने करिब ७ सय जीवित थिए । यस दुर्घटनालाई इतिहासकै सबैभन्दा घातक दुर्घटनाको रुपमा चिनिन्छ । जुन जहाजमाथि थुप्रै खोजी गरिनुका साथै फिल्म र साहित्य पनि लेखिएका छन् ।


क्लिकमान्डु