आवाज चोरेर दुरुपयोग गरेको भन्दै एआई कम्पनीविरुद्ध उजुरी



एजेन्सी । विभिन्न भिडियोका लागि भ्वाइसओभर गर्ने कलाकार पल स्काइ लेरमेन र लिनिया सेजले आफूहरुको भ्वाइसलाई अनुमति बिना नै एआईले प्रयोग गरेको भन्दै उजुरी दिएका छन् । उनीहरुले अमेरिकाको न्युयोर्कस्थित एआई फर्म लोभोविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका हुन् ।

पल स्काइले २०२० मा आफूले एउटा कामका लागि एउटा भ्वाइस स्याम्पल दिएका थिए । त्यसको केही वर्षपछि पल स्काइले आफूले त्यसबेला दिएको भ्वाइस युट्युब भिडियो र पोडकास्टमा भ्वाइस न्यारेसनको रुपमा सुनेको दाबी गरेका छन् ।

न्युयोर्कस्थित जिल्ला अदालतमा बिहीबार उनीहरुले दिएको उजुरीका अनुसार, पल स्काइ र सेजले लोभोलाई दोषी दाबी गरिएको छ । साथै उनीहरुले आफूहरुको भ्वाइसलाई दुरुपयोग गरेकोमा लोभोसहित यसमा संलग्न अन्य मानिसहरुलाई पनि कारवाहीको लागि माग गरेका छन् ।

आफ्ना सिर्जना तथा रचनाको दुरुपयोग गरी कमाइराखेको तर आफूहरुलाई त्यसको रोयल्टी नदिएको भन्दै विभिन्न गायक, लेखकसहित कलाकारहरुले एआई कम्पनीहरुमाथि उजुरी दिइरहेको अवस्थामा पछिल्लो पटक एआई कम्पनीविरद्ध फरक प्रकृतिको उजुरी परेको हो । पछिल्लो समय अत्याधुनिक प्रविधिको रुपमा एआईले मानिसहरुलाई तुरुन्तै यसरी कविता, गीत, पेन्टिङ, निबन्ध लगायत चहिएको कुरा उपलब्ध गरिदिनाले अधिकांशलाई सहज हुने गरेको छ ।

तर यसरी प्रयोगकर्तालाई चाहिएको कुरा तुरुन्तै उपलब्ध गर्ने क्रममा विश्वप्रसिद्ध लेखक, कलाकार, संगीतकर्मीहरुले कुनै बेला रचना गरेका सिर्जना वा सिर्जनाका अंश पनि पर्ने गर्छन् । यसो गर्दा सर्जकहरुले आफ्नो रचना चोरिएको भन्दै एआई कम्पनीहरुप्रति कडा आलोचना गर्दै आएका थिए । केही समयअघि मात्रै टेलर स्विफ्टसहित थुप्रै गायकहरुले एआईविरुद्ध मुद्दा दायर गर्दा रोयल्टी दिने सहमतिमा विवाद टुंगिएको थियो ।

हालै भ्वाइस एक्टर पल स्कइ र सेजले दिएको उजुरीमा उनीहरुले आफ्नो आवाज चोरी हुनुका साथै दुरुपयोग भएको दाबी गरेका हुन् । पल स्काइले २०२० को मे महिनामा एउटा गिग वर्क वेबसाइटका लागि फिबरका लागि भ्वाइस-ओबर स्टोरीका लागि भ्वाइस स्याम्पल पठाउँदा आफ्नो भ्वाइस केका लागि भनेर सोधका थिए । पल स्काइका अनुसार उनले आफ्नो भ्वाइस शैक्षिक अनुसन्धानको उद्देश्यका लागि भन्ने जवाफ पाएका थिए । साथै भ्वाइस अन्यत्र प्रयोग नगर्ने पनि सहमति भएको उनको भनाइ छ ।

तर दुई वर्षपछि पल स्काइले आफ्नो त्यही भ्वाइस युट्युब लगायत सामाजिक सञ्जालमा भिडियो न्यारेसनको रुपमा सुनेको दाबी गरेका छन् । यसैगरी सेजलाई पनि २०२९ मा फिभरमा नै एउटा जागिरको अफर आएको थियो । जहाँ उनले रेडियो विज्ञापनका लागि टेस्ट स्क्रिप्ट दिएकी थिइन् । तर उनलाई बाहिर सार्वजनिक नगर्न भनिएको थियो । र उक्त कामबाट उनले ४ सय डलर पाएकी थिइन् । जुन भ्वाइस उनले पनि एआईका युट्युब भिडियोमा सुनेको भन्दै उजुरी दिएको बताएकी छन् ।


क्लिकमान्डु