गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप लगाएका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको आरोप लगाए ।

सभामुखले बोल्न समय दिँदा तपाईंको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन गरेका छन् ।

सभामुखसँग बोल्ने कांग्रेसको भाषा यही हो ? भनेर उनले प्रश्न गरे ।

उनले काँग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरे ।

कांग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधी करार गर्न लागेको उनले बताए ।

‘मुद्दा हारेका, भ्रष्टाचारमा आरोपी मात्र होइन, अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर अर्को, जसमाथि कुनै मुद्दा छैन । केही छैन । ऊ चाहीँ भ्रष्टाचारी हो । छानबिन आयोग गठन गर भनेर भन्ने?’ ओलीले प्रश्न गरे ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए ।

लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने उनले बताए ।

आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने उनले बताए ।

कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएको ओलीको भनाइ थियो ।

‘नेपाली काँग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनु पर्ने ? आरोपित गरिएको व्यक्ति बोल्न र सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यहीँ हो । बोल्न पाउनुपर्छ । अब अर्कोदिन बाट हामी पनि बोल्न खोज्छौँ । काँग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा काँग्रेस कराउने । कहाँ हुन्छ त्यो ? काँग्रेसलाई बोल्न दिइँदैन अब,’ ओलीले भने,’पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले चाहीँ आरोपित गरिरहने । बकवास गरिरहने । अर्काले प्रतिवाद पनि गर्न नपाउने ? त्यस्तो न प्रजातन्त्र हुन्छ । न संसदीय अभ्यास हुन्छ ।’


क्लिकमान्डु